स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश, वीरको निर्देशकमा डा. पौडेलको पुनर्बहाली

स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश, वीरको निर्देशकमा डा. पौडेलको पुनर्बहाली

काठमाडौं : सर्वोच्च अदालतले डा. सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

मंगलबार न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी गरेसँगै डा. पौडेल वीर अस्पतालको निर्देशकमा पुनर्बहाली भएका छन्।

पौडेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा मंसिर १८ गते रिट दायर गरेका थिए।

रिटमाथि मंसिर २८ गते  सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले विपक्षी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा समेत बोलाएको थियो।

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मंसिर १४ गते मन्त्रिस्तरीय निर्णयबाट डा. पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाएर स्वास्थ्य मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका थिए।

बस्नेतले उनी एमालेको सदस्य रहेको आरोप लगाएका थिए।

डा. पौडेललाई हटाएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भूपेन्द्र कुमार बस्नेतले उपकुलपति स्तरीय निर्णय गर्दै एक हताअघि डा. श्रवण कुमार थापालाई निमित्त निर्देशकको जिम्मेवारी दिए पनि आर्थिक अधिकार दिएका थिएनन्।

३ पुस, २०८०, १४:५३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।