गीतकार हिमांशु रायमाझीको प्रिय दश सुर : कमल खत्रीलाई स्टाटस मन परेछ, बाँकी शब्द थपेपछि गीत बनिहाल्यो

गीतकार हिमांशु रायमाझीको प्रिय दश सुर : कमल खत्रीलाई स्टाटस मन परेछ, बाँकी शब्द थपेपछि गीत बनिहाल्यो

नेपाली युवापुस्तामा दर्जनौं हिट गीत दिएकी गीतकार हुन् हिमांशु रायमाझी (गोधुली)। उनका थुप्रै गीतहरूले नेपाली दर्शकस्रोताको मन जितेका छन्। एक दशक यता गीत लेखनमा सक्रिय रहेकी उनी जन स्वास्थ्यकर्मी पनि हुन्। फुर्सदको समयमा आफ्नो बाहेक अरूका गीत पनि सुन्ने गर्छिन् उनी। उनै गीतकार रायमाझीले आफूलाई मनपर्ने आफ्ना पाँच र अरूका पाँच गीत यसरी छानेकी छन्।

आफ्ना पाँच
एक कान दुई कान मैदान 

भीम बिसीले संगीत गरेको गीतमा आशिष सचिन र मेलिना राईको स्वर छ। गीतको मेलोडी र गायकी एकदमै राम्रो छ। गीतको शब्द पनि जो कसैले सुन्ने बितिक्कै क्याच गर्न सक्छ। यो गीत लेख्दाखेरि म एनजीओतिर काम गर्थे। बाटोमा हिडिँरहेको बेला फुरेको थियो। त्यतिबेला ‘बात गर्न सारै सिपालु, अल्लारे यो ठिटो’ फुर्यो। अब फुरेपछि मैले मोबाइलको नोटमा नै यो गीतका शब्द लेखेँ अनि भीम दाइलाई पठाएँ। गीत सार्वजनिक भएपछि राम्रो प्रतिक्रिया आयो। त्यसैले पनि मलाई यो गीत मनपर्छ।

झुमा झुमा
नेपालको पश्चिमेली समुदायलाई लक्षित गरेर बनाइएको यो गीतलाई पनि दर्शक स्रोतले रुचाइदिनुभयो। गीतमा प्रेमभाव झक्लिएको छ। प्रमोद खरेलले गाउनुभएको गीतमा भीम बिसीकै संगीत छ। मलाई प्रमोद खरेलको स्वर एकदमै मन पर्थ्यो। यो गीत गाउने दिन मैले उहाँलाई पहिलो पटक भेटेको थिएँ। म एकदमै नर्भस भएको थिएँ त्यो दिन। म उहाँसँग बोल्नै सकेको थिइनँ। गीत रेकर्ड पछि भने अलि सहज भयो अनि राम्रै भलाकुसारी गरेँ। भिडियोको कुरा गर्ने हो भने पनि गीतको भाव अनुसार राम्रो बनेको छ।

नपाएर होइन तिमीलाई 
कमल खत्रीले गाएको यो गीतमा संगीत पनि उहाँकै छ। म सांगीतिक क्षेत्रमा प्रवेश गर्दाको गीत थियो यो। आफ्नो पहिलो गीत भएकोले पनि होला यो गीत मेरो लागि प्रिय छ। मैले भावनामा बहेर फेसबुकमा यहि गीतका केही शब्दहरू स्टाटस राखेको थिएँ। कमल खत्री सरले यो स्टाटस राम्रो लाग्यो भनेपछि मैले बाँकी शब्द थपे। उहाँले संगीत भरेर गाउनुभयो। त्यसरी बनेको गीत हो यो। आफ्नो स्टाटस पनि गीत बनेको देख्दा मलाई नै अचम्म लागेको थियो त्यो बेला।

हाम्रो सम्बन्ध
यो गीत बजारमा आउँदा निकै चलेको थियो। मायालु जोडीले फरक तरिकाले माया दर्शाउने गीत हो यो। थुप्रै खाल्का गीतहरू लेखियो, यो गीतमा केहि फरकपन दिने हिसाबले मैले शब्द लेखेको थिएँ। निकै राम्रो पनि भयो। यो गीतमा सुनिल गिरीले संगीत र स्वर दिनुभएको छ। गीतमा शब्द अनुसारको संगीत र स्वर पनि म्याच भएको कारण मलाई यो गीत मन परेको हो।

बाडुल्की
रचना रिमाल र सागर जोशीले गाउनु भएको यो गीतको मेलोडी मन परेको हो। गीतलाई कृष पाण्डेले संगीत गर्नुभएको छ। यो गीत सुन्दा मलाई बेग्लै आनन्द दिन्छ। चटपटे पाराको गीत हो यो। गीतलाई शब्द अनुसारकै भावमा रचना र सागरले गाउनुभएको छ। त्यस कारण पनि यो गीत मेरो रोजाइमा परेका हुन्।

अरुका पाँच 
आत्मामा, मेरो आत्मामा

मलाई सुन्ने बितिक्कै मन छोएको गीत हो यो। गीतलाई कमल खत्रीले नै गाउनुभएको हो भने संगीत पनि उहाँकै छ। गीतको भाव सुन्दर र ‘क्याच्ची’ छ। गीतमा उहाँको स्वर पनि अत्यन्त मीठो सुनिएको छ। त्यसकारण पनि यो गीत मलाई मन परेको हो।

को होला त्यो मसँग आँखा जुधाउने
यो गीतले मायालु जोडीहरूको वर्णन गरेको छ। आफूलाई कसैले आँखा जुधाएर हेर्यो भने को होला भन्ने लाग्छ नि! त्यसैको सेरोफेरोमा भाव वर्णन गरिएको गीत छ। गीतको शब्द संगीत र स्वर अत्यन्त मीठो छ। यो गीतले पछिल्लो युवापुस्ताको मन छुने गीत हो। यो सदाबहार गीत हो भन्दा फरक नपर्ला। गीतलाई सुनिल गिरीले गाउनुभएको हो भने शब्द संगीत पनि उहाँकै छ।

खै, जालमा पारेर गई
यो गीतको शब्दले मलाई छोएको हो। गीतमा प्रेमी-प्रेमिकाको विछोड भएपछि शंकामा के-के भयो होला भन्ने भाव प्रकट गरेको छ। आफूलाई छोडेर जाने प्रेमिका के कारणले गइ भन्ने कुरा गीतमार्फत प्रश्न गरिएको छ। गीतमा शब्द संगीत र स्वरले एकदमै म्याच गरेको हुनाले पनि यो गीत मेरो रोजाइमा परेको हो। गीतमा प्रमोद खरेलको स्वर, राम सिटौलाको संगीत र शीतल कादम्बिनी गुरुङको शब्द रचना रहेको छ।

तिम्रो मायाले बाँधेर राख
रवि मल्लको शब्द विराट कडरियाको संगीत र श्याम कार्कीको स्वरमा रहेको यो गीतमा हरेक पुस्ताले मन पराएको गीत हो। यो गीतको मेलोडी उत्कृष्ट लाग्छ। यो गीत जो कसैले पनि सहजै गुनगुनाउन सक्छ। गीतमा नयाँपन भेटिन्छ। म आफू लेख्ने भए तापनि यो गीत केही काम गरिरहँदा गुनगुनाइरहन्छु। 

जुम्ला
यो जुम्लाको परिवेश र ठाउँलाई वर्णन गर्दै माया प्रेमका कुरा गरिएको गीत हो। यो गीत स्रोतामाझ निकै हिट पनि भएको थियो। यो जुम्लाको परिवेश र रहनसहन गीत र भिडियोमार्फत देखाइएको छ। जुम्ला नै पुगेर खिचिएको यो भिडियोले मेरो मन छोएको हो। त्यस कारण पनि यो गीत मलाई मन परेको हो। गीतको शब्द संगीत र स्वर सुनिल गिरीको छ।

३ पुस, २०८०, १४:३१:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।