लगातार संसद अवरोध गरेपछि भारतमा विपक्षी दलका ७८ सांसद् निलम्बित

लगातार संसद अवरोध गरेपछि भारतमा विपक्षी दलका ७८ सांसद् निलम्बित

काठमाडौं : भारतको संसदबाट एकैदिन ७८ जना विपक्षी सांसदहरू निलम्बित भएका छन्। लोकसभाका ३३ र राज्यसभाका ४५ जना सांसदहरू निलम्बित भएका हुन्।

संसदमा भएको सुरक्षा गल्तीका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको जवाफ मागेर विपक्षी सांसदहरूले लगातार विरोध गर्दै आएका थिए।

सरकारको प्रस्तावमा दुवै सभाका अध्यक्षहरूले संसदमा विरोध प्रदर्शनमा उत्रिएका विपक्षी दलका सांसदहरूलाई सोमबार निलम्बन गरेका हुन्।

जारी संसद्को शीतकालीन सत्रभरका लागि सांसदहरूलाई निलम्बन गरिएको बीबीसी हिन्दीले जनाएको छ।

गएको बुधबार बैठक चलिरहेको समयमा दर्शकदीर्घाबाट दुई युवा बैठक कक्षमा हामफालेका थिए। उनीहरूले संसदम धुँवासमेत उडाएका थिए।

संसद् भवनमा आतङ्कवादी हमला भएको २२ वर्ष पुगेकै दिन पाँच तहको सुरक्षा व्यवस्थालाई झुक्याएर दुई युवाले संसद् बैठक कक्षमा यस्तो हर्कत गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको चर्को आलोचना भएको थियो।

यसअघि २००१ को डिसेम्बर  १३ मा संसद् भवनमाथि आतङ्कवादी हमला भएको थियो। त्यही दिन पारेर भएको नयाँ घटनालाई विपक्षी सांसदहरूले संसद्को सुरक्षामा ठूलो गल्ती भएको भन्दै सरकारमाथि प्रश्न उठाइरहेका छन्।

प्रदर्शन शुरू भएकै दिन लोकसभाबाट १३ र राज्यसभाबाट १ जना गरी १४ सांसदलाई निलम्बन गरिएको थियो। हिजो समेत गरी लोकसभाबाट ४६ र राज्यसभाबाट ४६ गरी ९२ जना सांसद निलम्बित भएका छन्।

३ पुस, २०८०, ०९:०८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।