कालिमाटी र ब्रह्मखेलबाट नक्कली बिलबुक बनाउने दुई जना प्रहरी नियन्त्रणमा

कालिमाटी र ब्रह्मखेलबाट नक्कली बिलबुक बनाउने दुई जना प्रहरी नियन्त्रणमा

काठमाडौं : लिखत किर्ते गरी नक्कली सवारी दर्ता किताब बनाएको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-८ घर भई काठमाडौं बौद्ध बस्ने ४२ वर्षीय डिबि भन्ने दिल बहादुर घिसिङ तामाङ र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने ३३ वर्षीय आइतसिंह तामाङ रहेका छन्  

केही व्यक्तिहरूले लिखत किर्ते गरी सवारी दर्ता किताव लगायतका कागजातहरू तयार गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले दिल बहादुरलाई काठमाडौं कालीमाटीबाट र आइतसिंहलाई मनोहरा नगरपालिका-१ ब्रह्मखेलबाट पक्राउ गरेको हो।

उनीहरूबाट बाग्मती प्रदेश ०१ ०२५ च २७५९ नम्बरको कारको ब्लुबुक १ थान, विभिन्न नम्बरका कारका सवारी दर्ता प्रमाणपत्र ४ थान, कार ५ थान, विभिन्न सरकारी कार्यालयका छापहरू ४ थान र मोबाइल २ थान बरामद भएको छ।

उनीहरूलाई लिखत किर्ते सम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ।

२ पुस, २०८०, १२:४९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।