भिजिट भिसामा दुबई लगेर ठगी गरेका आरोपी कोमलराजलाई युएईबाट नेपाल ल्याइयो

भिजिट भिसामा दुबई लगेर ठगी गरेका आरोपी कोमलराजलाई युएईबाट नेपाल ल्याइयो

काठमाडौँ : वैदेशिक रोजगार ठगीमा फरार रहेका व्यक्तिलाई प्रहरीले युएइबाट नेपाल ल्याएको छ। ठगी मुद्दामा फरार रहेका सर्लाही साबिक जानकीनगर गाविस-७ का कोमलराज उपाध्यायलाई प्रहरीले इन्टरपोलको नोटिसको आधारमा नेपाल ल्याएको हो।

उपाध्याय समेत संचालक रहेको त्रीनेत्र म्यानेजमेन्टसहितका तीन कम्पनीले  यूएईको दुबईमा आर्म्स गार्ड, डिपिएस सेक्युरिटीमा आकर्षक तलब र सुविधा सहितको रोजगारी दिने प्रलोभनमा भिजिट भिसामा नेपालीलाई दुबई बोलाएर अलपत्र पारेका थिए।

रोजगारीको लागि भन्दै आफूहरूबाट रकम लिएको तर भने बमोजिम रोजगारीमा नलगाइ ठगी गरेको भन्दै ५१ जना पीडितहरूले उनी विरुद्ध जाहेरी दिएका थिए।

जाहेरीपछि प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोमा ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भएर अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल सचिवालयबाट २०७९ वैशाख २७ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो। 

एनसिबि अबुधाबीमा समन्वयमा दुबईमा नियन्त्रणमा लिएर उनलाई नेपाल फिर्ता पठाएको थियो। उनी शुक्रवार नेपाल आइपुगेको र अहिले ब्युरोको हिरासतमा रहेका छन्।

३० मंसिर, २०८०, २१:३९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।