रुसी सेनामा भर्ती गराउने गिरोहविरुद्ध जाहेरी नआउँदा अभद्र व्यवहारको आरोप, पूर्व सैनिक समेत गिरोहमा

रुसी सेनामा भर्ती गराउने गिरोहविरुद्ध जाहेरी नआउँदा अभद्र व्यवहारको आरोप, पूर्व सैनिक समेत गिरोहमा

काठमाडौँ : नेपाली नागरिकलाई भिजिट भिसामा रुस पठाएर रुसी सेनामा भर्न गर्न संलग्न रहेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गर्यो। रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको मृत्यु भइसक्यो भने एक नेपाली बन्धक भएका छन्।

रुसमा मारिएका नेपालीहरूसँग ७ देखि १२ लाखसम्म पैसा लिएर रुस पठाउन संलग्न रहेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँले १२ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। तर पीडित कसैले जाहेरी दिएका छैनन्।

प्रहरीले दीपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगीलाई पक्राउ गरेको छ।

काठमाडौँका प्रवक्ता कुमोध ढुङ्गेलका अनुसार उनीहरूको साथबाट विभिन्न व्यक्तिहरूको राहदानी, रकम र लेनदेनका कागजात समेत फेला परेका छन्।  सो गिरोहमा संलग्न रहेकाहरू यस अगाडि पनि वैदेशिक रोजगारीको आवरणमा ठगी गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका र सुरक्षा सङ्गठनबाट अवकाश लिएकाहरू समेत छन्।

अनुसन्धानमा उनीहरूबाट ४३ वटा राहदानी र २७ लाख रुपैयाँ समेत बरामद गरेको छ। फेला परेका राहदानीहरू रुस जान बुझाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निचोड देखियो। उनीहरूलाई राहदानी बुझाउनेहरूमा बहालवाला प्रहरी समेत देखिएका छन्।

गिरोहले पछिल्लो समय नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट अवकाश पाएका र बहालवालाहरूलाई नै रुस पठाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

पक्राउ आरोपीहरुबाट बरामद भएको राहदानी र पैसा।नेपालीहरू रुसी सेनामा भर्ना भएर युक्रेन विरुद्ध लडिरहेको सार्वजनिक भए पनि सरकारले चासो देखाएको थिएन। अवैध रूपमा रुस पुगेर सैनिक बनेका नेपालीहरू एकपछि अर्को गर्दै मारिएको सार्वजनिक भएपछि सरकार तातेको थियो। परराष्ट्र मन्त्रालयले पहिलो पटक रुसमा छ जना नेपाली मारिएको पुष्टि गर्दै रुसी सेनामा नेपालीलाई भर्ना नगर्न र भर्ना भएकालाई फिर्ता पठाउन विज्ञप्ति निकाल्यो। अनि प्रहरी पनि अनुसन्धानमा जुट्यो र १३ गते केहीलाई पक्राउ गर्यो।

उनीहरुविरुद्ध मानव बेचबिखन तथा अवैध ‌ओसारपसारमा अनुसन्धान भइरहे पनि जाहेरीको अभावमा प्रहरीले अभद्र व्यवहारको आरोपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद थपेर अनुसन्धान गरिरहेको छ।

‘रुसमा मारिएका नेपालीमध्ये केहीलाई यही समूहले पठाएको देखिएको छ। तर पीडित परिवार जाहेरी दिन आएका छैनन्,’ अनुसन्धानस्रोतले भन्यो'तत्कालका लागि अभद्र व्यवहारमा अनुमति लिएर अनुसन्धान भइरहेको छ। जाहेरी र थप प्रमाणको आधारमा उनीहरूमाथि मानववेचविखनमा अनुसन्धान हुनसक्छ।'

२० मंसिर, २०८०, २३:०९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।