मुगु सामूहिक हत्या प्रकरण : ६ दिनसम्म पनि पत्ता लागेन हत्यारा, कहाँ पुग्यो प्रहरीको अनुसन्धान?

मुगु सामूहिक हत्या प्रकरण :  ६ दिनसम्म पनि पत्ता लागेन हत्यारा, कहाँ पुग्यो प्रहरीको अनुसन्धान?

सुर्खेत : मुगुको छायानाथ रारा नगरपालिका-६, मुन्दु गाउँमा एकै परिवारका आमा र छोराछोरीसहित चार जनाको बीभत्स हत्या भएकाे एक हप्ता पुग्न लाग्दा पनि प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन ।

कात्तिक ८ गते राति अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोराहरू ११ वर्षीय मनोज, आठ महिनाका रहर र आठ वर्षीया छोरी अप्सराको  सामूहिक हत्या गरिएको थियो।

अनुसन्धानमा खटिएको प्रहरीले हत्या भएको ६ दिनसम्म पनि कुनै ‘क्ल्यू’ फेला पार्न सकेको छैन। घटनाबारे विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको प्रहरीले हालसम्म ठोस प्रमाण फेला पार्न सकेको छैन्।

हत्यामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने गाउँभरी नै सोधपुछ र कुकुरसहितको तालिमप्राप्त टोलीले अनुसन्धानलाई तिब्र पारेको छ। प्रहरीले नियन्त्रणमा लिएकाहरुसँग पनि बलियो प्रमाण भने पाएको छै ।

घटना कात्तिक ८ गते रातिको भएपनि १० गते बिहान गाउँलेले थाहा पाएपछि ९ बजे प्रहरीलाई खबर गरेका थिए। वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरा ११ गते घर पुगेपछि सोही दिन चारै जनाको शव जिल्ला अस्पताल मुगुमा ल्याइएको थियो।

शव पोष्टमार्टम गरिसकिएको छ। दोषी पत्ता नलागेसम्म शव नबुझ्ने अडान दिपक र उनका आफन्ले लिएका छन्।

कहाँ पुग्यो प्रहरी अनुसन्धान?

११ गते शनिबार मात्रै कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत (हाल नेपालगञ्ज) बाट तालिमप्राप्त कुकुरसहित कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, जुम्लाबाट प्रहरीको विशेष अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय मुगुको टोलीले संयुक्त रुपमा पुरै गाउँलाई निगरानीमा राखेर सूक्ष्म अनुसन्धान गरिरहेको छ। 

आइतबार कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक  भीमप्रसाद ढकाल पनि आफै घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेका छन्।

घटनाको ठोस प्रमाण नभएपनि अनुसन्धानमा दिनप्रतिदिन प्रगति हुँदै गएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए।

घटना भएको ६ दिनसम्म पनि प्रहरीले पत्ता लगाउन नसक्नुको कारण के हो ? भन्ने उकेराको प्रश्नमा प्रवक्ता भट्टराईले भने, ‘प्रहरीलाई १० गते मात्रै जानकारी भएको हो। प्रहरीले मसिनो ढंगबाट विभिन्न संयन्त्रको प्रयो गरेर अनुसन्धान गरिरहेको छ। दिनप्रतिदिन अनुसन्धानमा प्रगति भइरहेको छ। केही दिनमा निचोड निस्क्न्छ। अहिलेलाई यति मात्रै भन्न सक्ने अवस्था छ।’

घटना घटेको लामो समयपछि मात्रै प्रहरीलाई जानकारी हुनु, स्थानीयले नै घटनाबारे बोल्न नमान्नु जस्ता कारणले अनुसन्धानमा प्रभावकारी हुन नसकेको अनुसन्धानमा खटिएका एक अनुसन्धान अधिकृतले उकेरालाई बताए।

‘प्रहरीलाई घटनाबाटे पछि जानकारी भयो। भौगोलिक विकटता र नेटवर्कले काम नगर्दा अनुसन्धानमा छिटो प्रगति नभएको हो,’ ती अधिकृतले भने, ‘गाउँमा पनि यो घटनाबारे कसैले बोल्न मान्दैनन्। सोधेपछि थाहा छैन भन्ने उत्तर मात्रै आउँछ। आफन्तले लास नबुझ्ने, पोष्टमार्टम नगर्ने, जस्ता क्रियाकलापले पनि हामीलाई समस्या भएको हो।’

उनका अनुसार खेति स्हार्ने बेला भएकोले सबै स्थानीय  काममा व्यस्त भएकोले घटनाबारे जानकारी पाउन ढिलाइ भएको हो। 

श्रीदेवीले लगाएका गहना र उनले प्रयोग गर्दै आएको मोबाइल फोन नभेटिनुले लुटपाट गर्ने उद्देश्यले हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ।

यहाँका घरहरू एकआपसमा जोडिएका हुन्छन्। अर्काे घरमा सानो स्वरले बोलेपनि सुनिन्छ। तर, चार जनाको हत्या हुँदा पनि कसैले थाहा छैन भन्छन्। घटनाबारे गाउँलेलाई केही न केही थाहा छ, ती अधिकृतले भने, समय लाग्ला तर, यो घटनामा प्रहरीले सफलता पाउने नै छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ढोकामा नयाँ ताला लगाइएको तथा घटनापश्चात् कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपकलाई श्रीदेवीले प्रयोग गर्दै आएको मोबाइलको म्यासेन्जरबाट छोराछोरीको शवसहितको फोटो पठाएको खुलेकोले पनि त्यसतर्फ अनुसन्धान गरिरहेको ती अधिकृतले बताए। 

हत्या भएको हप्ता दिन पुग्नै लाग्दा  समेत आरोपी पक्राउ नपरेपछि सीआईबीलेसमेत चासो दिएको छ।श्रीदेवी छोराछोरीसहित कात्तिक ७ गते बडादशैंको टीका थाप्न छायानाथ रारा–६, कोटिल्लास्थित माइतीघर पुगेकी थिइन्। 

उनीहरू दसैँको दिन टीका लगाएर  कात्तिक ८ गते आफ्नो घर फर्किएका थिए । घटनास्थल मुगु सदरमुकाम गमगढीदेखि पूर्व तर्फ चार घण्टाको दूरीमा छ ।

१४ कात्तिक, २०८०, १८:५१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।