डा बद्रीले पद बहाली गरेपछि  एनआरएनमा विवाद चुलियो, विद्रोहको तयारीमा अर्को समूह

डा बद्रीले पद बहाली गरेपछि  एनआरएनमा विवाद चुलियो, विद्रोहको तयारीमा अर्को समूह

काठमाडौँ : विद्धुतिय मतदानको प्रक्रियामा देखिएको प्राविधिक त्रुटिबारे सुरु भएको छानबिन नटुङ्गिई हतारमा अध्यक्षको शपथ ग्रहण गरेको भन्दै गैर आवासीय नेपाली सङ्घको एक समूहले विद्रोहको तयारी गरेको छ।

मत परिणाममा त्रुटि देखिएपछि समापन कार्यक्रम समेत रोकेर सो पक्षबारे छानबिन टुङ्ग्याउने सहमति भएको थियो। तर डा बद्री केसी समूह शनिवारै बालुवाटारमा रहेको एनआरएनको भवनका गएर पद ग्रहण गरेको थियो।

यता असन्तुष्ट समूहले शनिवार ललितपुरस्थित एक होटेलमा पत्रकार सम्मेलन गरेर निर्वाचन परिणाम नमान्ने र अहिलेकै बन्द सत्रबाट नयाँ बाटो तय गर्नुपर्ने बताएका थिए।

अध्यक्षमा पराजित भएका आरके शर्माले परिणाम नमान्ने दोहोर्याउँदै मत परिणाममा भएको त्रुटिबारे १५ दिनभित्र अनुसन्धान गर्ने सहमति विजयी पक्षले तोडेको आरोप लगाए।

‘१४ दिनभित्र अनुसन्धान गर्ने र कुनै गल्ती भेटिए पुनः मतदान गर्न उहाँहरू पनि सहमत हुनुभएको थियो। तर, आज नाटकीयरुपमा बिहानै आतुरी गरेर शपथग्रहण गर्नुभयो । यो जालसाजी हो’ शर्माले भने ‘ उहाँ आफूले आफूलाई अध्यक्ष घोषणा गर्नुभएको छ, तर उहाँ अध्यक्ष होइन।’

उनले यही सम्मेलनको बन्द सत्रलाई निरन्तरता दिन र नयाँ बाटो तय गरेर जान आग्रह गरेका थिए। एनआरएन यस अगाडि पनि विभाजित भइसकेको छ। यो विवाद तत्काल समाधान नभए संस्था थप विभाजित हुने देखिन्छ।

४ कात्तिक, २०८०, ००:०२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।