एनआरएनएको ११ औँ सम्मेलनले विवाद चर्कायो, अनलाइन भोटिङ सिस्टम ह्याक गराएको दाबी, समापनमा प्रधानमन्त्री गएनन्

एनआरएनएको ११ औँ सम्मेलनले विवाद चर्कायो, अनलाइन भोटिङ सिस्टम ह्याक गराएको दाबी, समापनमा प्रधानमन्त्री गएनन्

काठमाडौँ : गैर आवासीय नेपाली सङ्घ(एनआरएनए)को ११औँ महाधिवेशनमा अध्यक्षका दुई जना उम्मेदवारले अनलाइन भोटिङ सिस्टम ह्याक गराएर आफू अनुकूल नतिजा निकालिएको गम्भीर आरोप लगाएका छन्।

यस पटक भौतिक उपस्थितिसँगै अनलाइन भोटिङ समेत भएको थियो। अनलाइन मतदानमा अस्ट्रेलियामा रहेको कम्पनी, भेरोद्वारा फेस भेरिफिकेशन पद्धति प्रयोग गरी  भएको मतदानमा अनलाइन सिस्टम कब्जा गरेको अध्यक्षमा पराजित महेशकुमार श्रेष्ठ र आरके शर्माले दाबी गरेका हुन्।

‘पूर्वनियोजित रूपमा सेटिंग गरी गरिएको कथित नतिजा घोषणा हामीलाई मान्य छैन। सङ्घको तर्फबाट भेरोसंग मास्टर कपि माग गरिएको छ,’श्रेष्ठ र शर्माले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ’२० अक्टोबर २०२३ मध्य राती घोषित निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण रहेकाले हामीलाई मान्य छैन।‘ 

उनीहरूले अनलाइन भोटिङ सिस्टम ह्याक भएको प्रमाणको रूपमा उपाध्यक्ष पदका उम्मेदवार डा.केशव पौडेलको मत शून्यलाई देखाएका छन्। भेरोको नाउँमा अनलाइन सिस्टम कब्जा गरिएको र अध्यक्षका उम्मेदवार बद्री केसीले पाएको मत मात्रै जोड्ने हो भने मतदाताको सङ्ख्याभन्दा बढी हुने दाबी गरेका छन्।

उनीहरूले हालको निर्वाचन समितिप्रति विश्वास नभएको र ११ औँ महाधिवेशनको प्रक्रिया जारी रहेकाले महाधिवेशनले नै उपयुक्त निर्णय गर्ने विज्ञप्तिमा उल्लेख गरेका छन्। यता, निर्वाचन समितिले शून्य मत आएकोप्रति भेरो कम्पनीसँग सत्यतथ्य जानकारी मगाएको बताएको छ।

उता शून्य मत देखिएका उपाध्यक्षका उम्मेदवार डा. पौडेलले शुक्रवार प्रहरीको साइबर ब्युरोमा निवेदन दिएका छन्।

‘विद्युतीय माध्यमबाट भएको निर्वाचन परिणाम भेरो भोटिङले निर्वाचन समितिलाई इमेलमार्फत प्रेषित निर्वाचन परिणाम जस्तातस्तै वाचन गरेर सुनाउने क्रममा एक जना उम्मेदवारको नेपालबाट प्राप्त मत परिणाम शून्य उल्लेख भएको कारण विवाद सिर्जन भएको र भेरो भोटिङसँग वास्तविक जानकारी लिई सत्य तथ्य सार्वजनिक गरिनेछ’ निर्वाचन समितिले भनेको छ।

बिहीबार बेलुका सार्वजनिक गरिएको परिणाममा डा बद्री केसी निर्वाचित भएको उल्लेख छ। उनीसँग महेश श्रेष्ठ र आरके शर्मा प्रतिस्पर्धामा थिए। मत परिणाम विवादित भएपछि समापन समारोहका मुख्य अतिथि बनाइएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समारोहस्थलमै गएनन्।

३ कात्तिक, २०८०, १८:११:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।