एनआरएनको सम्मेलनमा अतिथिकै अपमान, नेतृ झाँक्रीले प्रश्न सोधिन्' ग्लोबल सिटिजन भएर के सिकेर आउनुभयो ?'

एनआरएनको सम्मेलनमा अतिथिकै अपमान, नेतृ झाँक्रीले प्रश्न सोधिन्' ग्लोबल सिटिजन भएर के सिकेर आउनुभयो ?'

काठमाडौँ : गैर आवासीय नेपाली सङ्घको कार्यक्रमका अतिथि र अध्यक्षमाथि सहभागीहरूले दुर्व्यवहार गरेपछि एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री आक्रोशित भइन्।

नागरिकता र मतदान अधिकारबारे छलफल कार्यक्रममा गैर आवासीय नेपालीहरूलाई सरकारले दिन सुरु गरेको राजनीतिक अधिकाररहित नागरिकताको विषयमा सहभागीहरूले विवाद गर्दै सङ्घका अध्यक्ष कुल आचार्यलाई फाँसी दिनुपर्नेसम्मको अभिव्यक्ति दिएका थिए।

कार्यक्रमका केही सहभागीहरूले राजनीतिक अधिकारसहितको वंशजको नागरिकताको साटो राजनीतिक अधिकार नभएको नागरिकता दिएको र यो कानुन खोस्टो बराबर भएको भन्दै अभद्र व्यवहार गरेका थिए।

झाँक्री कार्यक्रममा अतिथिको रूपमा सहभागी थिइन्। कार्यक्रमका अतिथि र नेतृत्वप्रति केही सहभागीले गरेको अभद्र व्यवहारपछि उनी मञ्चबाट माइक भएको ठाउँमा बोल्न आइन्।

उनले कार्यक्रममा अभद्र व्यवहार गर्नेहरूप्रति लक्षित गर्दै आफूलाई पनि चिच्याएर बोल्न आउने तर अतिथि भएर आएकाले चिच्याउन नमिल्ने भन्दै आफ्ना धारणा राख्न थालेकी थिइन्।

उनले गैर आवासीय नेपालीलाई सांस्कृतिक र आर्थिक अधिकारसहितको नागरिकता दिएपछि ‘यो औँला हालेपछि डुडुल्लोसम्म छिराउने मामिला हो भन्ने थाहा भएको’ भन्दै आक्रामक अभिव्यक्ति दिन थालिन्।

उनले गैर आवासीय नेपालीको विषयमा आफूले लामो समय काम गरेको र समस्याबारे जानकारी रहेको बताइन्।  

‘पहिला नेपाली विदेश जान केके हर्क गर्यौँ। त्यो देशको आईएलआर वा गीनकार्ड पाउन के के हर्कत गर्यौँ?, नेपालको नागरिकता र पासपोर्ट त्यागिसकेलाई दुई पैसा कमाउनु होला, स्किल होला र देशमा फर्केर केही गर्नुहोला भनेर हामीले आन्दोलनपछि यो संविधान ल्याएर यो व्यवस्था गर्यौँ। अनि तपाईँहरूले कुल आचार्यलाई फाँसीको कुरा गर्ने? नलिन चाहनेले गैर आवासीय नेपाली नागरिकता नलिन सक्नुहुन्छ’ उनले भनिन्।

उनले अहिले नेपाल आएर ठुला कुरा गर्न नसुहाउने भन्दै तपाई विदेशमा कानुनको अभ्यास गर्ने प्रयाक्टिस्नर हो भन्दै प्रश्न गरिन्। उनले प्रश्न गर्न थालेपछि दर्शकदिर्घामा रहेका केहीले फेरी विरोध गर्न थाले।

उनले पटक पटक सोधिरहिन्' तपाईँ वहाँ प्रयाक्टिस्नर हो?' भन्दै प्रश्न गरिरहिन्। उनले आफूले कानुनमा स्नातक पास गरेको भन्दै कार्यक्रममा अवरोध गरिरहेकालाई प्रश्न गरिरहिन्। विदेशी पासपोर्टमा नेपालमा आएर ठुला कुरा गरेको भन्दै झाँक्री आक्रोशित भइन्।

केही सहभागीहरुले आफू पढ्न विदेश गएको र आफूसँग अहिले पनि नेपाली राहदानी नै भएको भन्दै उठेर विरोध गर्न थाले। केही सहभागीहरुले दलालहरुले गर्दा यस्तो भएको भन्दै आक्रोशित भएका थिए।

हरेक देशको नागरिकतासम्बन्धी कानुन त्यस देशको विशिष्टतामा आधारित हुने बताउँदै उनले एनआरएनएहरुलाई राजनीतिक अधिकाररहितको गैर आवासीय नागरिकता दिएको र लिन नचाहनेले नलिए हुन्छ भनिन्।

‘साथीहरू कान खोलेर सुन्नुस्, तपाईँहरूलाई रेस्टुरेन्टमा काम गर्दागर्दै फुर्सद नभएर हुनसक्छ। मानवअधिकार विश्वव्यापी बडापत्र हेरे हुन्छ। तपाईँहरूलाई सिटिजनको अधिकार दिएको हैन। गैर आवासीय नागरिकता दिएको हो।’

उनले पहिला खुसीले नागरिकता त्याग्ने पनि अहिले ठुला कुरा गर्ने भन्दै सहभागीप्रति आक्रोश समेत पोखिन्। 

उनले नेपालमा आउने अनि माहौल बिगार्ने भन्दै कार्यक्रममा सहभागी अतिथिहरूलाई अपमान गरेको भन्दै सोधिन्' तपाइहरूले यस्तो गर्न मिल्छ। कान खोलेर सुन्नुस् त्यो नागरिकता सामाजिक र सांस्कृतिक अधिकार दिएको हो राजनीति दिएको हैन। लिन मन नलागे नलिए हुन्छ।'

उनले बिहान उठेर चिप्रा पुच्छ्न पाएको छैन नेपालको राजनीतिबारे लेख्ने भन्दै नेपालको चिन्ता गर्न नेपालमै रहेकाहरू सक्षम रहेको भन्दै आक्रोशित भइन्। उनले ग्लोबल सिटिजन भएर के सिकेर आउनुभयो भन्दै आक्रोशित भइन्।

'बेलायतमा आइएलआर बनाउन १० वर्षबाट किन २० वर्ष भयो त्यहाँ गएर भन्न सक्नुहुन्छ भन्दै' उनले नेपाली नागरिकता त्यागिसकेकाहरूको हैसियत विदेशीको जेहो नेपालमा पनि त्यही हुने भन्दै नेपाली नागरिकको हकमा संविधानले संरक्षण गर्ने तर गैर आवासीय नेपालीको हकमा मानवअधिकार र आर्थिक अधिकारको मात्र संरक्षण हुने बताइन्।

उनले नेपाली नागरिकता र पासपोर्ट नत्यागेको हो भने चुनावमा प्रतिस्पर्धा गर्न आए हुन्छ भन्दै  नागरिकता ऐन पास भएकोमा स्वागत गर्नुपर्नेमा विरोध गरेकोमा आपत्ति जनाउँदै उनले लिन नचाहनेले नलिए हुन्छ भन्दै सम्बोधन सक्काइन्।

त्यसपछि कुल आचार्य बोल्न आएका थिए। तर सहभागीमध्ये केहीले हल्ला गर्न थाले। आचार्यले नामै लिएर 'नारायण कँडेल प्लिज शान्त भएर बस्नुस् त' भनिरहे। तर हल्ला रोकिएन।

कँडेललाई रोक्न कार्यक्रमको हलमा रहेका सुरक्षा गार्ड नै आएपछि कुल आचार्यले सुरक्षा गार्डहरूलाई हट्न आग्रह गरेका थिए।

 

१ कात्तिक, २०८०, ००:२९:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।