अनमोल भेट्न आमा सुस्मिता भारतबाट नेपाल आइन्, बाबु प्रेमिकासँग युरोपमै

अनमोल भेट्न आमा सुस्मिता भारतबाट नेपाल आइन्, बाबु प्रेमिकासँग युरोपमै

काठमाडौं : फिल्ममा अभिनय गर्ने विवादमा अभिनेता अनमोल केसी पक्राउ परेपछि दार्जिलिङमा बस्दै आएकी उनकी आमा सुस्मिता बमजन नेपाल आइन्।

भुवन केसीसँग डिभोर्स भएपछि आमासँग भारतको दार्जिलिङमा बस्दै आएकी उनी अनमोल पक्राउ परेकै दिन शुक्रबारै नेपाल आएकी थिइन्। 

उनी नेपाल आएर आफ्नो आफन्तको घरमा बसिन्। तर कसैलाई पनि आफू नेपाल आएकोबारे जानकारी दिइनन्। आमा-छोरा निरन्तर अनलाइनमा गफ गरिरहेका हुन्थे। जानकार स्रोतका अनुसार सुस्मिता नेपाल आएकोबारे अनमोललाई पनि थाहा थिएन।

'आमा देखेर छोरा थप चिन्तित होला भनेर सुस्मिताले अनमोललाई पनि भनिनन्। तर अस्पतालमा छोराको अवस्था कस्तो छ देखि लिएर सबैतिर उनले हेरिरहेकी थिइन्' निकटस्रोतले उकेरालाई भन्यो।

शनिबार उनी चिरायु अस्पताल गएर अनमोलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्। तर त्यहाँ पुग्दा पनि उनले छोरालाई भने भेट्न सकिनन्।

'मैले छोरा भेट्दा उ रुन्छ। कमजोर फिल गर्ला' भन्दै उनले सकेसम्म आफू नेपालमा आएको लुकाइरहिन्। तर अनलाइनमा भने बारम्बार कुराकानी भइरहन्थ्यो।

अनमोल चिरायुको पाँचौ तलामा रहेको क्याविनको ५०१ मा बसेका थिए। प्रहरीले पक्राउ गरेर हिरासतमा राख्न प्रहरी बृत्त सिंहदरबार लगेपछि उनी त्यहीँ रोए। अस्पताल भर्ना भएपछि पनि  उनी अस्पतालमै रोएर बस्थे। उनको सुरक्षामा प्रहरी खटिएका थिए जसले अरुलाई भेट्न दिँदैनथे।

आइतबार अनमोलसँग बयान लिन अस्पतालबाट टेकुमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याउँदा पनि सुस्मिता पुगेकी थिइन्। उनी मास्क अनि टोपी लगाएर प्रहरी परिसरमा बसिरहिन्। अनमोलबारे समाचार संकलन गर्न गएका सञ्चारकर्मीहरुले सुस्मिता त्यहाँ रहेको चालै पाएनन्।

अनमोलको बयान सकिएर सरकारी वकिलको कार्यालय अनि जिल्ला अदालत काठमाडौँमा लैजाँदा पनि उनी पुगेकी थिइन्। त्यहाँ पनि कसैले नचिनुन् भनेर उनले मास्क र टोपी नै लगाएकी थिइन्। 

अदालतमा २ घण्टा बढी बहस भयो। शुक्रबारबाटै गणना हुनेगरि तीन दिनको म्याद थपेर प्रहरीले अनमोललाई प्रहरी कार्यालयमा ल्याउँदा उनी निकै  निरास थिइन्। 

उनी आफ्ना आफन्तहरुसँग अनमोल टुहुरो हैन है उसको आमा ज्युदैँ छ' भनिरहेकी हुन्थिन्। आफु नेपाल आएको मिडियाले थाहा पाए पछ्याएर हैरान बनाउँलान् भनेर पहिचान लुकाइन् नै सिमित आफन्तबाहेक अन्य कसैलाई थाहै दिइनन्।

जव बेलुका प्रहरीले अनमोललाई आफन्तको जिम्मामा खोजेको बेलामा उपस्थित हुने सर्तमा रिहा गर्यो अनि उनी खुसी भएर आफन्तको घरमा गएर छोरासँग अनलाइनमा कुरा गरिन्।

'अनमोलले मामु चिन्ता नगर्नु अब सबै ठिक भयो भन्दा उनी खुसीले रोइन्' उनी निकटस्रोतले उकेरालाई भन्यो। छोराका लागि गुपचुप नेपाल आएकी उनी छोरा रिहा भएपछि अब मंगलबार भारत फर्कने तयारीमा रहेको पारिवारिक स्रोतले जानकारी दियो।

तर बाबु भुवन प्रेमिकासँग युरोपमै

प्रहरी नियन्त्रणमा अदालतमा बयान दिन जाँदै अनमोल अनि युरोपमा प्रेमिकासँग भुवन।अनमोल जसको संरक्षणमा बसिरहेका छन् उनै बाबु भुवन केसी भने अनमोल पक्राउ पर्दा नेपालमा थिएनन्। उनी प्रेमिका जिया केसीसँग युरोप टुरमा छन्।

यता छोरा अनमोल गम्भीर कानुनी विवादमा पर्दा समेत भुवन नेपाल फर्किएनन्। उनी उतै बसिरहे। जियाको टिकटकमा दुवैको रोमान्सका भिडियोहरू सार्वजनिक भइरहेका छन्। अनमोल प्रहरी हिरासतबाट मुक्त भए पनि अनुसन्धान प्रक्रिया भने जारी नै छ। तर छोरालाई साथ दिन तत्काल भुवन नेपाल फर्किने तयारीमा छैनन्।

भुवन निकटस्रोतका अनुसार भुवन अक्टोबर ४ मा माल्टामा आयोजना हुने एक कार्यक्रममा सहभागी भएर मात्र नेपाल फर्कने छन्।

सुस्मितासँग डिभोर्स भएपछि भुवन र जियासँगै बस्दै आएका छन्। भुवनले जियासँग विवाह गर्ने योजना सार्वजनिक गरे पनि उनीहरूले सार्वजनिक रूपमा विवाह भने गरेका छैनन्। तर, जिया भुवनको पुरानो बानेश्वरको घरमा बस्दै आएकी छन्।

असोज १५, २०८० सोमबार १५:११:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।