अनमोल छुटाउन प्रहरी कार्यालय पुगेका १० जना वकिल रित्तै फर्किए, सिंहदरबारको हिरासतमा पुगे अनमोल

अनमोल छुटाउन प्रहरी कार्यालय पुगेका १० जना वकिल रित्तै फर्किए, सिंहदरबारको हिरासतमा पुगे अनमोल

काठमाडौं  :  फिल्म ‘रावायण’को टिमसँगको विवाद काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुग्दासमेत अभिनेता अनमोल केसीले वास्ता नगर्दा शुक्रबार प्रहरी हिरासत पुगेका छन्।

सुदर्शन थापाले निर्देशन गर्ने फिल्ममा अभिनय गर्न १० लाख रकम पेस्कीबापत लिएर पछि फिल्ममा अभिनय नगर्ने बताएपछि निर्मात्री सुप्रिया कटुवालले मिनभवनमा रहेको प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन्। सुप्रिया सुदर्शनकी श्रीमती हुन्।

निवेदनमा अनमोलले फिल्ममा अभिनय गर्ने भनेर पेस्की रकम लिइसके पनि सम्झौता गर्न नमानेको र अहिले आएर फिल्ममा अभिनयसमेत नगर्ने बताउँदा एक करोड १५ लाख रकम खर्च भइसकेको भन्दै कारबाहीको माग गरिएको थियो।

निर्मात्री कटुवालले अनमोलसँग सहमति भएपछि फिल्मको छायाङ्कन गर्न प्राविधिक लगायतकाहरूलाई पैसा दिएको र सो रकम फिर्ता नआएको दाबी गरेकी थिइन्।

त्यसपछि प्रहरीले फिल्मका प्राविधिकहरूबारे जानकारी लियो। ३५ बढी प्राविधिकहरूले कोहीले पाँच हजार त कसैले १५ हजार रकम लिएको र सो पारिवारिक काममा खर्च भइसकेकाले फिर्ता गर्न नसक्ने बताए।

अनमोलका कारण प्राविधिकहरू समेत समस्यामा परेको देखिएपछि कार्यालयले अनमोललाई फोनमार्फत छलफलका लागि प्रहरी कार्यालयमा बोलायो।

अनुसन्धानमा संलग्न स्रोतका अनुसार ‘रावायणमा अभिनय गर्ने मुड नभएको’ भन्दै उनले आफूले सम्झौता पनि नगरेकाले दोषी नभएको दाबी गरेका थिए।

प्रहरी कार्यालयमा छलफल गर्न आउन अनुरोध गर्दा उनले आफू नआउने जे गर्न सक्ने हो गरे हुन्छ भन्ने जवाफ दिएको स्रोतको दाबी छ।

जति प्रयास गरे पनि अनमोल छलफलमा आउन नमानेपछि प्रहरीले जाहेरी लिएर अनुसन्धानका लागि पक्राउको अनुमति माग्दै जिल्ला अदालत काठमाडौंमा पठायो। प्रहरीले केसीमाथि आपराधिक विश्वासघातको आरोप लगाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको मागअनुसार अदालतबाट केसीको नाममा पक्राउ आदेश जारी भएपछि शुक्रबार प्रहरीले उनलाई भक्तपुरको साँगामा पक्राउ गरेर मीनभवनमा रहेको कार्यालयमा ल्यायो।

अनमोलको पक्षमा १० वकिल तर सकेनन् छुटाउन
अनमोल प्रहरी कार्यालय आउँदा-आउँदै उनीसँगै १० भन्दा बढी वकिलहरू प्रहरी कार्यालयमा पुगेका थिए।

उनीहरूले अनमोलमाथि लागेको आरोप देवानी प्रकृतिको भएको भन्दै हिरासतमा राख्न नमिल्ने भन्दै नियन्त्रणमुक्त गर्न प्रहरीसँग माग गरे।

यस्तो उजुरीमा हिरासतमा राख्न नमिल्ने भन्दै उनीहरूले अनमोललाई आफूहरूसँगै जान दिन माग गरे पनि प्रहरीले मानेन।

अनमोललाई पक्राउ गर्न जिल्ला अदालतबाट आएको पक्राउ पुर्जीमा उल्लेख आरोप देवानी नभई फौजदारी रहेको र अदालत खुलेपछि अदालतमा पेश गर्ने भन्दै उतै बहस गर्न आग्रह गर्यो।

अनमोल नछुट्ने भएपछि वकिलहरू मीनभवनको कार्यालयबाट निस्किएर हिँडे। महाशाखाले उनलाई प्रहरी वृत्त सिंहदरबारमा राख्नेगरी पठायो।

सम्झौता नगर्दा फसेका अनमोल
सुदर्शन प्रडक्सनसँग फिल्ममा अभिनय गर्ने लिखित सम्झौता गरेको भए अनमोल पक्राउ पर्नबाट जोगिनसक्थे। करार सम्झौता गरेर फिल्ममा अभिनय गर्न अस्वीकार गरेको भए उनीमाथि करार ऐन अनुसार मुद्दा प्रक्रिया अगाडि बढ्थ्यो। उनी पक्राउ पर्ने थिएनन्।

तर, उनले पैसा लिएर पनि करार गरेनन्। न लिएको १० लाखै फिर्ता गरे। जाहेरीकर्ताले अनमोलले पैसा लिएको प्रमाण पेश गरेका थिए। अनमोलले पैसा फिर्ता गरेको प्रमाण दिन सकेनन् र प्रहरी हिरासतमा पुगे।

कानूनी व्यवस्थाअनुसार कुनै आरोपी पक्राउ परेको अवस्थामा २४ घण्टाभित्र अदालतमा पेश गरेर अनुसन्धानका लागि न्यायिक हिरासतमा राख्ने अनुमति लिनुपर्छ। तर, सार्वजनिक बिदा भएको अवस्थामा अदालत खोलेपछि पेश गरिन्छ।

सो कानूनी व्यवस्थाअनुसार प्रहरीले अनमोललाई हिरासतमा राख्ने अनुमति आइतबार माग्नेछ। अदालतले अनुमति दिएमा उनको हिरासतको अवधि लम्बिने छ नै। अदालतबाट अन्यथा आदेश आए पनि अनमोल दुई रात सिंहदरबारकै हिरासतमा बस्नेछन्।

प्राय यस्ता केशमा अदालतबाट पक्राउ पुर्जी जारी भएको अवस्थामा प्रहरीले आरोपीलाई अनुसन्धानका लागि हिरासतमा राख्ने अनुमति पाउँदै आएको छ।

बाबुको दबाबमा सहमत तर मन बदलियो
प्रारम्भमा अनमोलले फिल्म खेल्ने सहमति सुदर्शनसँग हैन पूजा शर्मासँग गरेका थिए। त्यो बेलामा अनमोलको बुवा चलचित्र विकास बोर्डको अध्यक्षको दौडमा थिए। पूजा भुवनलाई सघाउनसक्ने राजनीतिक परिवारका सदस्यसँग निकट।

त्यही बेलामा पूजाले निर्माण गर्ने फिल्ममा अनमोलले अभिनय गर्ने सम्झौता भयो। सम्झौताको बेलामा फिल्मको नाम दर्ता भएको थिएन तर अनौपचारिक रूपमा नाम ‘रावायण’ हुने चर्चा सुरु भएको थियो। निर्देशकमा थापाको नाम आएको थियो। शर्मा फिल्म बनाउने तयारीबाट पछि हटिन्।

पछि सुदर्शन आफैँ फिल्म बनाउन कस्सिए। श्रीमतीलाई निर्मात्री बनाएर फिल्मको नाम ‘रावायण’ दर्ता गरे। फिल्ममा अनमोललाई नै कास्ट गर्ने भए। शर्मासँगको सम्झौताअनुसार अनमोल पनि अभिनय गर्न राजी भए।

सुदर्शन फिल्म बनाउने तयारीमा सक्रिय रहेकै बेला एकाएक अनमोलले फिल्ममा अभिनय नगर्ने बताए। उनले फेसबुकमा कुनै फिल्मको नाम नलेखे पनि कसैको दबाब र प्रभावमा कुनै फिल्ममा अभिनय नगर्ने लेखेका थिए।

त्यो दबाब उनकै बाबुको थियो। भुवनले अनमोललाई रावणमा अभिनय गर्न दबाब दिएका थिए। तर, उनले मानेनन्।

भुवनले भनेको समेत नमानेपछि सुदर्शन अनमोलविरुद्ध प्रहरी कार्यालय गए। प्रहरीले बोलाएको समयमा छलफलमा नगई ‘जे गर्न सक्ने हो गरे हुन्छ’ भन्दा अनमोल प्रहरी हिरासत पुगे।

असोज १२, २०८० शुक्रबार २१:५३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।