विपिनको कमलामाई अवतारले छाँयामा भस्मे डन, निर्माण टिम भस्मे डन सम्झाउने रणनीतिमा

विपिनको कमलामाई अवतारले छाँयामा भस्मे डन, निर्माण टिम भस्मे डन सम्झाउने रणनीतिमा

काठमाडौँ : फिल्म पशुपति प्रसाद २ भस्मे डनको टिम अहिले फिल्मको हाइप क्रियट गर्न अनेक जुक्ती लगाउन व्यस्त छ। पहिलो फिल्म पशुपतिप्रसादको सफलता दोहोरिएला कि नदोहोरिएला भन्ने तनाव निर्माण टिममा देखिन्छ नै। फिल्मको टिजरले केही हाइप बढाएको पनि हो। तर त्यसपछि रिलिज गरेको 'दुई चुल्ठी बाट न' बोलको गीतमा आँचलसँग विपिनलाई नचाउँदा त्यो हाइप पनि हरायो।

बिचमा विपिनको अभिनय रहेको एक भगवत् एक गीता रिलिज भएपछि भष्मे डन भन्दा विपिनको यौनिक अल्पसंख्यकको छवि चर्चामा आयो। निर्देशकले उपकथा जोड्दा फिल्मको कथा भड्किदा सोचेजस्तो व्यापारिक चमत्कार त भएन तर विपिनको नयाँ लुक्सले मार्केट खायो। उनको अभिनयको राम्रै प्रशंसा भयो।

यसले भस्मे डनलाई हल्का धक्का दिनु स्वाभाविकै हो। तर भर्सटायल कलाकारको हकमा विपिनका लागि भने यो सुखद नै हो।
फिल्म दोस्रो हप्तामा प्रवेश गरेसँगै विपिनको नयाँ लुक्सको चर्चा अलि मन्द भएको मौका छोपेर भस्मे डनको अवतार दर्शकलाई सम्झाउन शनिवार भष्मे डन फिल्मको दोस्रो गीत प्रेम शरणम् रिलिज भयो। दोस्रो गीतमा विपिन अर्की नायिका स्वस्तिमा खड्कासँग नाचिरहेका छन्। धन्न यो गीतको।

कोरियोग्राफरले बुद्धि पुर्याउँदै विपिनलाई जटिल स्टेप दिएनछन्। पहिलाको भन्दा हेर्न लायक गीत छ। तर फन्नी दृश्य खिच्ने प्रयास भने सफल भएको देखिएन। स्वस्तिमा क्युट देखिएकी छिन्।

फिल्ममा स्वस्तिमा देवीको भूमिकामा रहेको फिल्म छायाङ्कनकै बेलामा फोटो चुहिएकाले यो गीत पनि विपिनको कल्पना भएको सहजै अनुमान लगाउन सकिन्छ। पहिलो गीत पनि विपिनको कल्पनामा आधारित थियो।

यसले फिल्मलाई हल्का इन्टरटेनिङ बनाउन निर्देशकले पुरानै सूत्र प्रयोग गर्दै मूल क्यारेक्टरलाई कल्पनामा डुबाउँदै छुस्स छुस्स गीत घुसाएको देखियो। अब कल्पनाको सम्बन्ध फिल्मको कथासँग त के जोडिएला र!

खगेन्द्र लामिछाने पशुपतिप्रसादको सिक्वेल बनाउन डराउँदा डराउँदै अनि विपिनले अब भस्मे डनको क्यारेक्टरमा अभिनय गर्दिन भन्दाभन्दै सिक्वेल त बन्यो तर अहिलेसम्म सार्वजनिक सामाग्रीको आधारमा खगेन्द्रले प्रिक्वेल बनाउने लक्षण भने देखिएन है। अब दर्शक शरणम् नै त होला। 

असोज ७, २०८० आइतबार ००:३१:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।