बङ्गलादेशी नागरिकलाई विदेश पठाउने भन्दै नेपाल ल्याएर बन्धक, गेस्ट हाउसदेखि मसाज सेन्टरसम्म सेल्टर

बङ्गलादेशी नागरिकलाई विदेश पठाउने भन्दै नेपाल ल्याएर बन्धक, गेस्ट हाउसदेखि मसाज सेन्टरसम्म सेल्टर

काठमाडौँ : वैदेशिक रोजगारीमा पोल्यान्ड र दुबई पठाउने बहानामा बङ्गलादेशी नागरिकहरूलाई नेपाल ल्याएर बन्धक बनाउन संलग्न रहेको आरोपमा समूह नै पक्राउ परेको छ।

नेपालबाट सहजै पोल्यान्ड र दुबई जान सकिने भन्दै बंगलादेशी महिला र पुरुषलाई नेपाल ल्याएर गेस्ट हाउस, डेराको कोठा र मसाज सेन्टरमा समेत बन्धक बनाएर राखेको आरोपमा प्रहरीले नेपाली र बंगलादेशीगरी ६ जना नागरिकलाई पक्राउ गरेको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बन्धक बनाएर राखिएका बंगालदेशी नागरिकहरूको उद्धार गर्दै बंगलादेशी अमिर हुसेन, सलिम मिया, जाहगिर आलम, मसुर रहमान र ताहमिना बेगम छन्। प्रहरीले रोशनी राई तारा, नेपालीलाई समेत पक्राउ गरेको छ।

कार्यालय प्रमुख मनोज केसीका अनुसार उनीहरूले बङ्गलादेशी नागरिकहरूलाई वैदेशिक रोजगारको लागि नेपाल हुँदै विभिन्न देश पठाई दिने भनी आश्वासनमा पारेर नेपाल ल्याएर होटेल तथा सेफ हाउसमा बन्धक बनाएर राखेका थिए।

नेपालमा बन्धक बनाएर राखेपछि उनीहरूले बङ्गलादेशमा रहेका  बन्धकका परिवारहरूलाई फोन गरेर १० लाखसम्म फिरौती रकम मागेका थिए।

फिरौती नदिए बन्धकको हत्या गर्ने भन्दै उनीहरूले चेतावनी दिएपछि पीडित परिवारले १० लाख रकम उतै बंगलादेशको बैङ्कमा राखेका थिए। १० लाख दिएपछि पुन २० लाख माग्दै धम्की आएपछि नेपालको पर्यटन प्रहरीमा उजुरी परेको थियो।

निवेदनको आधारमा कार्यालयले सुरु गरेको अप्रेशनकोक्रममा  काठमाडौँको सिनामंगलमा रहेको कालीमाटीडोलमा रहेको मेमोरियल गेस्ट हाउसको कोठा नम्बर ३१० र ३११ मा बङ्गलादेशी नागरिकले भाडामा लिएको खुल्यो।

दुवै कोठा बंगलादेशी नागरिक अमिर हुसनेले भाडामा लिएर अन्य ४ जना बङ्गलादेशी नागरिकहरूलाई बन्धक बनाएर राखेको खुलेपछि प्रहरीले गेस्ट हाउसमा छापा मारेको थियो।

प्रहरीले गेस्टहाउसको कोठा नम्बर ३१० मा बङ्गलादेशी नागरिक एमडी नाजमुल र एमडी यासिनलाई फेला पार्यो। अमिर हुसेन समेत त्यही कोठामा फेला परेको एसएसपी केसीले जानकारी दिए।

कोठा नम्बर ३११ मा इब्राहिम हुसेन र एमडी अल अमिनलाई बन्धक बनाएर राखेको अवस्थामा फेला परे। प्रहरीले सबैको उद्धार गरेर अमिर हुसेनसँग केराकार गरेको थियो।

केरकारकोक्रममा उनले मोतिन मिया, राफु रायन, रिजो अहमद राय, मसुर रहमान र सलिम मियासहित नेपाली नागरिक तारा नेपालीसहितले बङ्गलादेशी नागरिकलाई अपहरण गरेर ललितपुरको हरिसिद्धिमा भाडामा लिएको घरमा बन्धक बनाई फिरौती रकम लिएको र थप रकम मागेको बताएको प्रहरीले जानकारी दियो।

दुई बङ्गलादेशी महिलाहरू सप्ना र रुमा अख्तरलाई मोहित मियाले लिएर गएको बयान दिएपछि प्रहरीले साउन २६ गते ललितपुरको हरिसिद्धिमा रहेको कोठामा रोजन र फरहाद हुसेनलाई बन्धक बनाई राखेको अवस्थामा फेला पारेको थियो।

अन्य दुई महिला खोज्नेक्रममा नक्सालमा रहेको रोशनी राईले चलाउने केटिसी ब्युटी पार्लर स्पाको नाममा रहेको मसाज सेन्टरमा बन्धक बनाई राखेको अवस्थामा उनीहरू फेला परेको एसएसपी केसीले जानकारी दिए।

पक्राउ परेकाहरूमाथि अपहरण तथा शरीर बन्धकसँगै सङ्गठित अपराधमा हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ।

२८ साउन, २०८०, २१:२९:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।