देउतीबज्यैलाई खुसी बनाउने प्रवल आफैं छन् दुःखी

देउतीबज्यैलाई खुसी बनाउने प्रवल आफैं छन् दुःखी

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाका ६० वर्षीय प्रवल सिंह विक १२ वर्षदेखि देउती बज्यै मन्दिरको चौकीदारी गर्छन्।

उनी हरेक दिन मन्दिरको सुरक्षाका र सरसफाइमा खटिन्छन्। त्यसैले उनको बास पनि मन्दिर छेउकै एउटा सानो कोठामा हुन्छ। उनका तीन छोरा र दुई छोरीको विवाह भइसक्यो।

प्रवल र उनकी श्रीमती मात्रै छुट्टै बस्छन्। त्यसमा पनि महिनामा केही दिनबाहेक उनको सधैंजसो बास मन्दिरमै हुन्छ। मन्दिर सरसफाइ गर्ने, दिन र रातमा मन्दिरको सुरक्षाका लागि चौकीदारी गर्ने र बोका बलि दिने जस्ता काममै प्रवलको दैनिकी बित्छ।

२४ घण्टा नै मन्दिरमा काम गरेवापत उनले मन्दिर व्यवस्थापन समितिबाट पाउने भनेको महिनामा सात हजार रुपैयाँ मात्रै हो। त्योबाहेक उनले बोका बलि दिन आएकाहरूले खुसीले दिने १००-५० हो।

तर, मन्दिरको सुरक्षा र सरसफाइमा खटिएका उनले दुई वर्षयता त्यही तलब पनि पाउन सकेका छैनन्। जसले गर्दा उनले घरखर्च धान्न पाएका छैनन्। 

गत सालबाट प्रवल दम्पतीले सरकारबाट सामाजिक सुरक्षा भत्ता भने पाउन थालेका छन्। यसले उनीहरूलाई केही राहत भने भएको थियो तर केही महिनादेखि फेरि भत्ता पाउन नसक्दा उनलाई समस्या भएको छ। देउती बज्यै मातालाई खुसी बनाउने प्रवल आफैं दुःखी छन्। 

समितिले दुई वर्षदेखि आफूलाई तलब नदिएको उनी बताउँछन्। 

‘१२ वर्षदेखि मैले यो मन्दिरमा चौकीदारी गर्दै आएको छु। महिनामा सात हजार तलब दिने भन्दै पहिलाको समितिले निर्णय गर्यो। दुई वर्ष अघिसम्म त महिनामा फटाफट तलब मिल्थ्यो। त्यसपछि मैले तलब नै पाउन सकेको छैन,’प्रवलले भने, ‘अहिलेका मेयर र समितिका मान्छेलाई बारम्बार भन्दा पनि पैसा पाउन सकेको छैन। म त यही मन्दिरमा उठेको चामल खाएर दिन बिताउँछु। घरमा श्रीमती छन्। सामान्य काम गरी खाने मान्छेले यतिका वर्षसम्म तलब नपाउँदा घरव्यवहार चलाउन पनि मुस्किल भइसक्यो। देउती बज्यैलाई त मैले खुसी बनाएको छु, मलाई कसले खुसी बनाउने हो ?’ 

प्रवलको पुर्ख्यौली सम्पत्ति पनि त्यति छैन। आजभन्दा २८ वर्ष अगाडि अछाम मंगलसेनबाट सुर्खेत बसाइ सरेका उनीसँग डेढ-दुई कट्ठा जमिन मात्रै छ। त्यो पनि तीन छोरालाई भाग लगाइसके। मन्दिरमा चौकीदारी गर्ने आपराधिक घटनामा आफूलाई केही हुने हो कि भन्ने उनलाई डर पनि छ। 

‘दिउँसो त त्यति केही हुँदैन। रातिमा गाँजा, रक्सी खाएका मान्छेहरू मन्दिर वरिपरि आएर हल्ला गर्छन्। धम्की दिन्छन्। डर नमानेर उनीहरूलाई धपाउँछु। त्यस्तो कुरा सहेर पनि मन्दिरको हेरविचारमा खटिएको मलाई कसले हेरविचार गर्ने ?’ उनले भने, ‘म पनि मान्छे हुँ कहिले मिठो मसिनो खाने मन लाग्छ होला। कहिले बिरामी भइएला त्यो समस्या त समितिले बुझ्न पर्यो नि!।’ 

देउती बज्यै मन्दिर साविक लाटीकोइली गाविसमा थियो। अहिले वीरेन्द्रनगर नगरपालिका-१० मा पर्दछ। स्थानीय तह भएपछि मात्रै नगरपालिकाको प्रमुख मन्दिर व्यवस्थापन समितिको संयोजक हुने व्यवस्था गरिएको थियो। तर, अहिलेसम्म मन्दिर व्यवस्थापन समितिको विधान र पुराना बैठक पुस्तिकासमेत पाउन नसकिएको वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकाल बताउँछिन्। 

‘स्थानीय तह भइसकेपछि नगरमातहत भन्ने छ। तर, यसअघि बनाइएका विधान र बैठक पुस्तिकाजस्ता दस्तावेजहरू हामीले पाउन सकेका छैनौं,’ प्रमुख ढकालले भनिन्, ‘पहिला के कसरी चलेको थियो ? विधान के हो ? भन्ने कुरा नै जानकारी नभएर त्यसैको खोजीमा छौं। पहिलाको मेयर संयोजक हुने भनिएअनुसार म हुँ भन्ने थाहा छ। अब यसलाई दिगो रूपमा व्यवस्थापन गरेपछि मात्रै यस्ता समस्याको समाधान गर्नेछौं।’ 

प्रमुख ढकालले मन्दिरका संरचना बनाउन र अन्य खर्चका लागि नगरपालिकाबाट रकम गएको भन्दै समितिले गरेको कारोबारबारे आफू अनभिज्ञ रहेको बताइन्। 

मन्दिर व्यवस्थापनका लागि सरोकारवालासँग नगरपालिकाले समन्वय गरिरहेको प्रमुख ढकालको भनाइ छ। 

‘मन्दिर व्यवस्थापन समितिको बैंकमा खाता पनि छ भनिएको छ। तर, त्यहाँ के कति रकम छ। के भइरहेको छ भन्ने कुरा मलाई जानकारी छैन। अब त्यो हामी खोज्दै छौं,’उनले भनिन्।

११ साउन, २०८०, ०८:१४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।