उपमेयरका श्रीमान् नै विदेश पठाइदिन्छु भन्दै ठगी धन्दामा, १९ जनासँग दुई-दुई लाख बढी उठाएर फरार

उपमेयरका श्रीमान् नै विदेश पठाइदिन्छु भन्दै ठगी धन्दामा, १९ जनासँग दुई-दुई लाख बढी उठाएर फरार

सुर्खेत : गुर्भाकोट नगरपालिका–९ बोटेचौरका २४ वर्षीय हरिबहादुर वलीले विगत केही वर्षदेखि बाटेचौरमै फोटो स्टुडियो खोलेर जिविका चलाइरहेका थिए। आठ लाख लगानी गरेर स्टुडियो सञ्चालन गरेका उनले मासिक रुपमा ३० देखि ४० हजार रुपैयाँसम्म आम्दानी गर्थे। 

त्यो आम्दानीभन्दा बढी कमाउने लोभमा पारे गाउँकै कमानसिंह कामीले। त्यसपछि उनले विदेश जाने योजना बनाए।

२०७९ पुसमा कमानसिंहले माल्टामा चकलेट कम्पनीमा मासिक साढे तीन लाख बढी तलब भएको र दुई लाख दिए दाङका आफ्ना जेठान यामबहादुर विकमार्फत प्रक्रिया अगाडि बढाइदिने आश्वासन दिए। 

पीडितहरू

कमानसिंहले माल्टा पठाउन आफ्नो कम्पनीको कार्यालय भारतको दिल्लीमा रहेको र एक दुई महिनामा नै उड्न सकिने बताएपछि हरिबहादुर झन् खुसी भए। त्यसपछि उनले तीन लाख रुपैयाँ उधारोमा गाउँकै व्यक्तिलाई उक्त स्टुडियो बेचे।

गाउँकै एक जना स्थानीयबाट केही महिनाका लागि उनले सयकडा चार रुपैयाँ ब्याजका दरले दुई लाख रुपैयाँ मागेर २०७९ पुस २१ गते कमासिंहको खातमा हालिदिए। यसपछि गत फागुन महिनामा माल्टा जानका लागि कमानसिंहले दिल्लीमा भीएक्स गर्नुपर्ने भन्दै बोलाए।

उनीबाट कमानसिंहले दिल्लीमा पनि विभिन्न प्रक्रियामा रकम लाग्ने भन्दै फेरि ५० हजार रुपैयाँ मागे। २५ दिनमा उड्ने आश्वासन दिएपछि उनी दिल्लीबाट फर्किए। तर २५ दिन कटिसक्दा पनि माल्टाको उक्त चकलेट कम्पनीबाट भिसा र अफर लेटर आएन। 

विभिन्न प्रक्रियाले रोकिएको भन्दै कमानसिंहले उनीलाई फेरि माल्टाकै अर्को कम्पनी काब्रो कन्स्ट्रक्सनमा फुड प्याकिङ कामका लागि पठाउने आश्वासन दिए। २०८० वैशाख २६ गते भिसाको अफर लेटर र वर्क परमिट त आयो तर नक्कली।

अन्य माल्टा पठाउने कम्पनीमा बुझेपछि मात्रै सबै कागजात कमानसिंह र उनका जेठान नाता पर्ने यामबहादुरले नक्कली बनाएका रहेछन् भन्ने पुष्टि भयो। हरिबहादुर मात्रै होइन, सुर्खेतको बोटेचौर, मेहेलकुना र सल्यानका गरी १९ जना व्यक्तिलाई कमानसिंहले ठगी गरेका छन्। जसमध्ये १६ जना पुरुष छन् भने तीन जना महिला छन्। 

‘हामीलाई पहिला माल्टाको चकलेट कम्पनीमा मासिक २८ सय युरो हुन्छ भनेर आश्वासन दिए। त्यही अनुसार हामी १९ जनाले नै कमानसिंहको खातामा दुई-दुई लाखका दरले पैसा हाल्यौं। तर, उनले सबै नक्कली काम गरेर हामीलाई ठगेका रहेछन्,’ हरिबहादुरले भने, ‘गाउँमा भएको व्यवसाय समेत उधारोमै बेचियो। जम्मा साढे तीन लाख जति खर्च भयो। तर, अहिले पैसा लिएका मान्छे सम्पर्कविहिन छन्।’ 

यस्तै गुर्भाकोट नगरपालिका–९ कै लक्ष्मी पुन मगरले पनि आफ्नै गाउँमा किराना र नास्ता पसल गरेकी थिइन्। कमानसिंहकै माल्टा पठाउने आश्वासन सुनेर उनले त्यो व्यवसाय नै छाडिन्। श्रीमान गुमाएर एकल भएकी उनी पनि कमानसिंहको जालोमा परिन्।

‘बाहिर गएर राम्रै आम्दानी हुने भए किन नेपालमा दुःख गर्ने भनेर पाँच वर्षदेखि गरिरहेको नास्ता पसल छोडें, अहिले त न यता पसल रह्यो न विदेश नै जान पाएँ,’ लक्ष्मीले भनिन्, ‘कमानसिंह हाम्रै छिमेकी, जनप्रतिनिधिको श्रीमान् भएकोले पनि विश्वासमा परियो। अहिले भागेर गाउँ नै छोडेका छन्।’ 

गत असारमा उनीसँग ह्वाट्सएपमा कुरा भए पनि अहिले उनी सम्पर्कविहिन भएको पीडितहरुको गुनासो छ। ह्वाट्सएपमा पैसा फिर्ता माग्दा कमानसिंहले आफुहरु पनि फसेका कारण केही महिनामा फिर्ता गर्ने बताएको अर्का पीडित दीपक वलीले बताए।

‘उहाँले यो कुरामा आफू गम्भीर रहेको बताउनुभयो। आफूहरु पनि फसेका कारण अझै केही महिना पर्खनुस् भनेर अनुरोध गर्नुभएको थियो,’ कमानसिंहसँग भएको कुराकानी सुनाउँदै दिपकले भने, ‘त्यसयता उहाँ र यामबहादुर सम्पर्कमा हुनुहुन्न। नगरमा न्यायीक समितिको संयोजक तथा उपप्रमुख उहाँको श्रीमती हुनुहुन्छ। त्यहाँ पनि हाम्रो केही सुनुवाइ नभएपछि प्रहरीमा जाहेरी दिन आएका छौं।’

को हुन् कमानसिंह? 

कमानसिंह कामी सुर्खेतको गुर्भाकोट नगरपालिकाकी उपमेयर मैना विकका श्रीमान् हुन्। कमानसिंह अहिले पीडितको सम्पर्कमा समेत छैनन्। उनीमाथि माल्टा र सिंगापुर पठाइदिन्छु भन्दै गुर्भाकोट र सल्यानका केही अन्य व्यक्तिहरुले समेत ठगी गरेको आरोप छ।

कीर्तिलाल डाँगी, खुमबहादुर वली, सल्यानको शारदा नगरपालिकाका–४ का मायाकुमारी गिरी र सुशीला योगीले आफूलाई कमानसिंहले ठगेको भन्दै पैसा असुल गरिदिन हारगुहार गरिरहेका छन्। 

कमानसिंह कामी

माल्टाका लागि भनेर प्रत्येक व्यक्तिबाट दुई लाख ५० हजार र सिंगापुरका लागि भनेर जनही दुई लाख ६७ हजार रुपैयाँ कामनसिंहले लिएको उनीहरुको आरोप छ।

उता गुर्भाकोटकी उपप्रमुख कमानसिंहकी श्रीमती मैना विकले पीडितले न्याय पाउनुपर्ने बताइन्। यो घटनामा आफूलाई केही जानकारी नभएको भन्दै आफू दोहोरो समस्यामा परेको बताइन्। 

यामबहादुर विक

‘मलाई वैदेशिक रोजगारको बारेमा केही जानकारी पनि छैन। उहाँ मेरो श्रीमान्लाई पीडितहरुले पैसा हालिदिएको भन्ने कुरा प्रमाण देखिएको छ। त्यसमा दुई मत छैन। तर, यो घटनाले म आफैं पीडामा छु,’ उपप्रमुख विकले भनिन्, ‘श्रीमान् एक महिनादेखि मेरो सम्पर्कमा हुनुहुन्न। म उहाँहरूको पैसा फिर्ता दिलाउन प्रयास गरिरहेकी छु। पीडितले कानुन अनुसार पनि अगाडि बढ्न सक्नुहुन्छ।’

९ साउन, २०८०, ०९:२१:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।