‘तिम्ले पराई ठानेपछि’का सर्जक अधिकारीका प्रिय १० सुर : बालाई समर्पित गरेर लेखेको गीत उनैलाई सुनाउन पाएनन्

‘तिम्ले पराई ठानेपछि’का सर्जक अधिकारीका प्रिय १० सुर : बालाई समर्पित गरेर लेखेको गीत उनैलाई सुनाउन पाएनन्

काठमाडौं : सेन्टिमेन्टल तथा रोमान्टिक सबै खालका भाव सिर्जना गर्ने गीतकार हुन् लोकराज अधिकारी।

उनी दुई दशकदेखि नेपाली गीत लेखनमा सक्रिय छन्। उनका अधिकांश गीत स्रोता तथा दर्शकमाझ लोकप्रिय रहेका छन्। उनले उकेराकर्मीसँग आफूलाई मन पर्ने आफ्ना पाँच र अरूका पाँच गीत यसरी छाने। 

'तिम्ले पराइ ठानेपछि' 

मैले थुप्रै गीत सिर्जना गरे पनि यो मेरो गीतियात्राको माइलस्टोन हो। यही गीतबाट मैले गीतकारको रूपमा स्थापित हुने अवसर पाएँ। यो गीतलाई अञ्जु पन्तले गाउनुभएको छ भने संगीत सन्तोष श्रेष्ठको छ। 

'मर्छु बरु छट्पटीमा' 

काव्यिक र सन्देशको हिसाबले पनि गहन लेखेँजस्तो लाग्छ यो गीत। स्रोता तथा दर्शकले अत्यधिक मन पराइदिनुभएको यो गीत म आफैँलाई खुब मन पर्छ। यो गीतलाई अञ्जु पन्त र मनोजराजले गाउनुभएको छ। गीतलाई गोविन्द मधुर आचार्यले संगीत भर्नुभएको छ। 

'रुपै मोहनी' 

यो गीत मेरो चलचित्रतर्फको सफल गीत हो। हरिवंश आचार्यको चलचित्र ‘शत्रु गते’मा समावेश यो गीतले मलाई गीतकारका रूपमा थप परिचित गराउन सफल भयो।

मलाई यो गीत मन पर्नुको अर्को कारण लोकप्रियता र प्रयोग पनि हो। यो गीतलाई टंक बुढाथोकीले संगीत भर्नुभएको हो भने स्वर पनि टंकसँगै मिना निरौलाको छ। 

'भन्नुहुन्थ्यो बाले' 

मैले मेरो बालाई समर्पित गरेर लेखेको गीत हो यो। यो गीत रेडियो या कतै बजेको सुन्दा म स्वर्गीय बालाई सम्झन्छु। किनभने मैले बालाई समर्पित गरेर लेखेको गीत उहाँलाई नै सुनाउन पाइनँ। मलाई यो गीत बालाई सुनाउन देखाउन सकिनँ पछुतो लाग्छ। यस गीतमा अर्जुन पोखरेलको संगीत छ भने स्वर राजेन्द्र बुढाथोकीको छ। 

'जसो परे पर्ला'

हरितालिका तीज नजिकिँदै थियो। मैले दिदीबैनीलाई समर्पित गरेर लेखेको यो गीत हरेक तीजमा बजेको सुन्छु, अनि दिदीबैनी नाचेको देख्छु। यसले मलाई आनन्दित तुल्याउने गरेको छ। करिब १० वर्षयता यो गीत रेडियो टेलिभिजनमा बजिरहेको छ। हरेक साल बजिरहने हुँदा यो गीत सदावहारजस्तो लाग्छ। गीतलाई देवी घर्ती,रीता केसी,सुधा रत्नले गाउनुभएको छ भने संगीत अर्जुन पोखरेलको छ। 

अरूका पाँच गीत

'मलाई नसोध कहाँ दुख्छ घाउ' 

मैले थाहा पाउँदा यो गीत रेडियो नेपालमा खुब बज्थ्यो। यो गीत बज्दा मेरो ध्यान तानिहाल्थ्यो। अहिले पनि यो गीत एकनासले सुन्छु। यो गीतमा खै के जादु हो। बजेपछि म पनि सँगसँगै गुनगुनाउन थाल्छु। 

कहिलेकाँही यो गीत कतै बजेको सुन्दा मलाई ती दिनहरूको याद दिलाउँछ। स्वरसम्राट नारायण गोपालले गायन र संगीत भर्नुभएको यो गीतको शब्द रचना भने हरिभक्त कटुवालको हो। उहाँहरूको गीत मलाई मात्र होइन, हरेक मान्छेलाई मन पर्छजस्तो लाग्छ। 

 'मेरो पाउमा आज'

पहिले मलाई शास्त्रीय संगीतबारे ज्ञान थिएन। जब मैले गीत रचना गर्न थालेँ र यसबारे बुझ्न थालेँ, तब यो गीत असाध्यै मन पर्न थाल्यो। मलाई लाग्छ यो गीतमा प्रयुक्त शास्त्रीय संगीतका पारखीलाई मन पर्छ होला। यस गीतलाई मीरा राणा र गोपाल योञ्जनले गाउनुभएको हो भने संगीत पनि गोपाल आफैले गर्नुभएको छ। 

'मर्न बरु गारो हुन्न'

हरेक कार्यक्रममा यो गीत बजिरहेको सुन्छु। यो गीत गहिरिएर सुन्दा आनन्द आउँछ। किनभने यस गीतको शब्द संगीत गायकी सबै मिलेको छ। फत्तेमान राजभण्डारीले गाउनुभएको यो गीतलाई तीर्थराज तुलाधरले लेख्नुभएको हो भने संगीत नातिकाजीको छ। 

'के भूल भयो प्रिया' 

नरेन्द्र प्यासीले गाउनुभएको यो गीत मलाई असाध्यै मनपर्छ। किनभने यो गीतमा एक प्रकारको जादु छ। मलाई यो गीत सुनुन्जेल बोर लाग्दैन। मैले बेला बेलामा गुनगुनाइरहने गीत पनि हो। यसमा शब्द कृष्णहरि बरालको छ भने संगीत मदन दिपविमको छ। 

'सोचे जस्तो हुन्न जीवन'

यो गीत जुनसुकै बेला,जुनसुकै उमेरलाई मनपर्ने गीत हो। प्रायः यो गीत मेरो मुखमा झुण्डिरहेको हुन्छ। मलाई यो गीतको भाव र शब्द, संगीत र स्वरले बाँधेर राख्छ। गीतका सबै पक्ष राम्रा छन्। त्यसकारण पनि मलाई यी गीतहरू मन परेका हुन्।

८ साउन, २०८०, १७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।