गुटमा बाँडिएको रूपन्देही रास्वपाभित्र किचलो, नेतृत्व हत्याउन कुटाकुटमा उत्रिए

गुटमा बाँडिएको रूपन्देही रास्वपाभित्र किचलो, नेतृत्व हत्याउन कुटाकुटमा उत्रिए

बुटवल : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीमा आन्तरिक विवादले उग्ररुप लिएको छ।

दुई पक्ष कुटाकुटमा उत्रिँदा घटना प्रहरीसम्म पुगेको छ।

नयाँ शक्तिको विकल्प भनेर प्रचार गर्दै आएको रास्वपाभित्र गुटउपगुटकै कारण कुटाकुट हुनुले पार्टीको नीतमाथि नै प्रश्न तेर्सिएको छ।  

नयाँ नेतृत्वका लागि रास्वपाको अधिवेशन मंसिरमा तय छ। त्यसैलाई ध्यानमा राख्दै पार्टीले अहिले गाउँ, नगर, क्षेत्र हुँदै जिल्लामा संगठन विस्तारलाई तीव्रता दिइरहेको छ। रुपन्देहीमा भने नेतृत्व हत्याउने दाउपेचकै कारण गुटउपगुट बनेको देखिएको छ। 

एउटा गुटले नेतृत्व हत्याउने कारण अर्को गुटका कार्यकर्ताको सदस्यता खारेज गर्ने र कुटपिटसमेत भएपछि यतिबेला यो विषय प्रहरी कार्यालयसम्म पुगेको हो। 

रास्वपा सैनामैनाका र्यायापिट एक्शन टिमका संयोजकसमेत रहेका दामोदर खत्रीले शनिबार पत्रकार सम्मेलन नै गरेर पार्टीभित्र गुट-उपगुट भएको र त्यसविरुद्ध आवाज उठाउँदा आफ्नो आवाज दबाउन खोजिएको बताए। साथै उनले पार्टीभित्र भएका असन्तुष्टि राख्दा हातपातसमेत भएको दाबी गरे। 

विधानअनुसार सञ्चालन गर्नुपर्ने भन्दा उक्त समूहले छुट्टै समूह गठन गर्न प्रस्ताव गरेको र आफू उक्त प्रस्तावमा सहमत नभएपछि अर्को पक्ष कुटपिटमा उत्रिएको उनको आरोप छ। 

‘मैले जनताले विकल्प सोचेको पार्टी विधानअनुसार चल्नुपर्छ, गुटउगुट नगरौँभन्दा बुधवार राति ९ बजेतिर पार्टी कार्यालयमा बोलाएर ममाथि कुटपिटसमेत गरियो। त्यै समूहले नै इलाका प्रहरी कार्यालय बुटवलमा उल्टै ममाथि कुटपिट गरेको उजुरी पनि दियो’, उनले गुनासो पोखे। 

खत्रीले रास्वपाको विधानको धारा १३ (ङ) मा सरकारी विद्यालयमा पढाउने कुनै पनि व्यक्ति पार्टीको कुनै पनि पदमा नरहने व्यवस्था रहेकाले जिल्ला, क्षेत्र र पालिका कुनै पनि तहमा त्यस्तो व्यक्तिलाई राख्न नहुने बताउँदै आएको बताए।

खत्रीले रुपन्देहीका जिल्ला संयोजक प्रकाश ज्ञवाली नै पार्टीको विधानसम्मत नभएको भन्दै पार्टीभित्र आवाज उठाएका थिए। ज्ञवाली तिलोत्तमा नगरपालिका वडा नं १७ पिपरहियास्थित बालविकास आधारभूत विद्यालयका शिक्षक हुन।

‘मैले विधानमा भएको कुरा उठाउँदा ममाथि कुटपिट भयो। उल्टै मैले नै कुटपिट गरेको भनेर प्रहरीमा उजुरी परेछ। म अचम्ममा परेको छु। पार्टीभित्रको विसंगतिविरुद्ध बोल्दा यस्तो सजाय भोग्नुपर्ने रहेछ भनेर सोचेकै थिइनँ’, उनले भने।

लुम्बिनी प्रदेश उपसभापति शालिकराम घिमिरे, जिल्ला संयोजक प्रकाश ज्ञवाली र क्षेत्र नं २ का क्षेत्रीय सदस्य विक्रम तिवारीको समूहले आफूमाथि कुटपिट गरेको खत्रीले बताए। 

साथै उनले शनिबार नै उजुरीबारे जानकारी पाएपछि दिउँसो (आज) प्रहरी कार्यालयमा जान लागेको बताए। 

खत्रीले हालै सम्पन्न पार्टीको क्षेत्रीय निर्वाचनमा समेत प्रदेश उपसभापति घिमिरेले प्रतिनिधिहरूलाई प्रभावमा पारेर उनीहरूका मोबाइलबाट आफैँले मत हालेर आफ्नो पदीय मर्यादाविपरीत काम गरेको आरोप पनि लगाए। 

रास्वपा रुपन्देहीका संयोजक प्रकाश ज्ञवालीले भने दामोदर खत्रीले पार्टीका विभिन्न तह र पदमा रहेका व्यक्तिहरूलाई मनपरी आरोप लगाउने र पार्टी अनुशासनहीन कार्य गर्दै आएको भन्दै हटाइएको बताए। 

३१ असार, २०८०, ११:०३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।