दिल्ली दौडाहाको बोलीमा रप्फु भर्दै प्रचण्ड, प्याच्च बोल्ने बानी अदालतमा मुद्दा पर्दा पनि नजाने (भिडियो रिपोर्ट)

दिल्ली दौडाहाको बोलीमा रप्फु भर्दै प्रचण्ड, प्याच्च बोल्ने बानी अदालतमा मुद्दा पर्दा पनि नजाने (भिडियो रिपोर्ट)

 

काठमाडौँ : आफूलाई प्रधानमन्त्री बनाउन नेपालमा रहेका भारतीय नागरिक पटक-पटक भारतको दिल्ली गरेको सार्वजनिक अभिव्यक्तिका कारण अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सङ्कटमा छन्।

सोमबार उनले किताब विमोचनमा भनेका थिए'

नेपाल भारत सम्बन्धलाई नागरिकको सम्बन्ध विस्तारमा प्रितमको योगदान विशिष्ट छ। यातायात सामाजिक क्षेत्र र शिक्षामा मात्र हैन उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ।

मलाई एक पटक प्रधानमन्त्री बनाउन उहाँले धेरै मिहिनेत गर्नुभयो। दिल्ली पनि जानु भयो। काठमाडौँका साथीहरूलाई नेताहरूसँग पनि छलफल गर्नुभयो।

शान्ति प्रक्रियामा आएदेखि नै म उहाँसँग नजिक रहेर काम गरेको छु। नजिक भएर चिन्ने बुझ्ने र निकट भएँ। उहाँले मेरो छोरीको क्यान्सर उपचारमा निकै ठुलो सहयोग गर्नुभएको छ।

संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री संसद्को बहुमतले बनाउने हो। प्रचण्ड प्रतिनिधि सभामा रहेका दलका बहुमत सांसदहरूको समर्थनमै प्रधानमन्त्री बनेका थिए। तर प्रधानमन्त्री बन्न भारतको प्रसङ्ग आएसँगै प्रमुख प्रतिपक्षी दल एमालेले विरोध सुरु गर्यो।

एमालेले बुधवार प्रतिनिधि सभा र राष्ट्रिय सभा चल्न दिएन। बिहीबार पनि राष्ट्रिय सभाको बैठक अवरुद्ध गर्यो।

एमालेले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले सांसदको गरिमा उलङ्घन गरेको भन्दै राजीनामा मागिरहेको छ। बुधवारै आकस्मिक रूपमा बसेको एमालेको संसदीय दलको बैठकले न्यूनतम सर्त राजीनामा भएको बताइसकेको छ।

आफ्नो अभिव्यक्तिलाई लिएर एमालेले कडा व्यवहार गरेपछि फसेका प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम भारतको दिल्ली गएको कुरा आफ्नो नभई प्रितमको कुरा भएको दाबी गरिरहेका छन्।

यति मात्रै हैन बिहीबार प्रधानमन्त्रीको तर्फबाट प्रेस नोट जारी गरेर 'अभिव्यक्ति अपव्याख्या गरेर राजनीतिक अभीष्ट पूरा गर्न खोजेको दाबी गरिएको छ।

 बिहीबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यद्वारा जारी प्रेस नोटमा नेपालका शुभेच्छुक सिंहले अनौपचारिक भेटघाटका क्रममा प्रचण्डसँग ‘तपाईँजस्तो योग्य मान्छे फेरि देशको प्रधानमन्त्री हुनुपर्छ’ भन्ने सदाशयता व्यक्त गरे पनि त्यसलाई घुमाएर अतिशयोक्तिपूर्ण राजनीतीकरण गर्न खोजिएको दाबी गरियो।

उनले जे दाबी गरे पनि उनले पहिलो दिन प्रितम सिंहले एक पटक आफूलाई प्रधानमन्त्री बनाउन पटक-पटक दिल्ली गएको प्रस्टै बोलेका थिए।

तर सरकारको प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले अहिलेको विषय प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने विषय नै नभएको तर्क गरेकी छिन्। बिहीबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै उनले भनिन् ‘एउटा कार्यक्रममा गएर बोलेको कुरालाई लिएर प्रधानमन्त्रीले राजीनामा दिनुहुँदैन। यसलाई धेरै उचालेर प्रधानमन्त्रीलाई राजीनामा दिलाउन सकिँदैन।'

एमालेले सदन मात्रै हैन सडकबाट समेत प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै बिहीबार विरोध प्रदर्शन सुरु गरेको छ।

पहिला हौसिँदै बोल्ने, पछि पछुताउने

कुन कार्यक्रममा के बोल्ने अनि के नबोल्नेमा कमजोर देखिन्छन् प्रचण्ड। त्यसैले त सार्वजनिक कार्यक्रमहरूमा उनले बोल्ने गरेका अभिव्यक्तिले उनी पटक पटक आफैँ फस्ने गरेका छन्। कुनै कुनै भनाई बोलेकै हैन भनेर झुट बोलेर माफी पनि पाएका छन्। तर केही भनाई भने अदालतसम्म पनि पुगेका छन्।

पाँच हजार मारिएकाको जिम्मा लिने बयानले पूर्यायो अदालत

२०७६ माघ १ गते टुँडिखेलमा आयोजित माघी महोत्सवमा बोलेको कुराले अहिले सर्वोच्च अदालतमा मुद्दा खेप्नु परिरहेको छ।

सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारको दोष उनलाई लाग्दै आएको छ नै। कार्यक्रममा उनले यही प्रसङ्ग झिक्दै १७ हजारमध्ये पाँच हजारको जिम्मा आफू लिन तयार रहेको बोले।

उनले कार्यक्रममा भनेका थिए :

मलाई धेरै साथीहरूले बाहिर पनि भन्नुहुन्छत्यसको तथ्याङ्क सच्याउन चाहन्छु। त्यो के भने मलाई भन्ने गरिन्छ१७ हजार मारेर आएको। साथीहरू यो सत्य होइन। यो सत्य होइनसत्य के हो भन्न दिनुस्। हिजोका सामन्त राजाहरूले १२ हजार मारेका हुन्। मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु। तर हिजोको राज्यले मारेको १२ हजारको कुरा नहुनेत्यो पनि मेरै टाउकोमा हालियो भने न्याय हुँदैन। मैले सधैँ भन्ने गरेको छुहिजोको युद्धमा भएका राम्रा नराम्रा काममा म जिम्मेवारी लिन्छु। म त्यसबाट भाग्ने हुनै सक्दैन। तर नगरेको कामको दोष पनि मलाई थुपार्नु भएन।

उनको सार्वजनिक अभिव्यक्तिमा टेकेर सर्वोच्च अदालतमा रिट पर्यो। रिट दर्ता भएर अहिले सुनुवाइको प्रक्रियामा छ।

प्रचण्डले अहिले पनि घेरा हाल्ने अनि उपलब्धि उल्ट्याउने प्रयास भइरहेको भन्दै प्रतिरक्षा गरिरहेका छन्। तर उनी कमजोर देखिएका छन्।

७ हजार लडाकुलाई ३० हजार बनाएको रहस्य

२०६४ पुस मा चितवनको शक्तीखोरमा उनले आन्तरिक बैठकमा गरेको सम्बोधनले लडाकुको नाममा माओवादीले कति नक्कली लडाकु बनाएको थियो भन्ने पोल खुलायो। क्यान्टोनमेन्टमा ६० करोड जाने अनि सहिद परिवारलाई क्षतिपूर्ति भन्दै एक लाख जाँदा डेढदेखि दुई अर्ब जाने र त्यसले विद्रोहको तयारी हुने दाबी गरेका थिए।

ट्रकमा हतियार आउने बनाउन पैसा चाहिने र क्यान्टोनमेन्टको पैसाले हतियार किन्ने भन्दै क्यान्टोन्मेनेटमा आउने पैसामध्ये २० करोड पार्टीले लिने बताएका थिए।

पछि क्यान्टोनमेन्ट व्यवस्थापनको नाममा सरकारले दिएको रकम घोटाला भएको माओवादीभित्रै आवाज उठ्यो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत पर्यो। अहिले पनि उनको विपक्षमा क्यान्टोनमेन्ट घोटालाको अनुसन्धानको माग उठिरहन्छ।

त्यही सम्बोधनमा उनले कसरी नक्कली माओवादी लडाकु बनाइयो भन्ने पनि खुलाएका थिए हाँस्दै। उनले 'सेना नघटेको बरु बढेको तथ्याङ्क नै पेस गरेका थिए। उनले क्यान्टोनेमेन्टमा सात हजारदेखि आठ हजारको बिचमा लडाकु रहेको र अनमिन प्रमाणीकरणमा त्यो तीन-चार हजारमा आउने बताएका थिए।

'भेरिफिकेसन ३५ हजार राख्दा २० हजार त आयो। साँचो कुरा त हामीलाई थाहा छ नि। सात हजारलाई २१ हजार बनाएको' उनले भनेका थिए।

२१ असार, २०८०, २१:०३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।