कोशी नवनियुक्त मुख्यमन्त्रीको तर्क- सभामुखकाे हाेइन, प्रदेशसभा सदस्य बाबुराम गौतमको समर्थन लिएको हुँ

कोशी नवनियुक्त मुख्यमन्त्रीको तर्क- सभामुखकाे हाेइन, प्रदेशसभा सदस्य बाबुराम गौतमको समर्थन लिएको हुँ

काठमाडौं : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले सरकार गठनका लागि गरिएको दाबीमा सभामुखको नभइ प्रदेशसभा सदस्य बाबुराम गौतमको समर्थन लिएको बताएका छन्।

प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री नियुक्तिपछि थापाले बाबुराम गौतम सभामुख मात्र नभएर प्रदेशसभा सदस्य पनि भएको तर्क प्रस्तुत गरे।

सभामुखलाई सरकारको समर्थन गर्न लगाएर विवादमा पार्न खोजेको आरोपसमेत उनले अस्वीकार गरे।

‘हामीले सभामुखलाई विवादमा पारेका छैनौं। उहाँ सभामुख मात्र होइन, प्रदेशसभा सदस्य पनि हो। ९३ जना प्रदेशसभा सदस्यमा बाबुराम गौतम पनि एक हो,’ उनले भने, ‘हामीले सभामुखको नाताले होइन कि प्रदेशसभा सदस्यको नाताले सर्मथन लिएका हौँ।’

थापाले आफ्नो सरकार कहिलेसम्म चल्छ भन्नेबारे ठोस उत्तर दिन सकेनन्। गठबन्धन दलले सरकार चलाउँदा आफूले चलाएजस्तै लाग्ने उनले बताए।

‘गठबन्धनको सहमतिअनुसार मन्त्रीमण्डल विस्तार हुन्छ,’ उनले भने, ‘गठबन्धन दलले चार वर्ष चलाउँछ, गठबन्धनले चलाएको नै मैले चलाएको हो।’

९३ सदस्यीय प्रदेशसभाका सत्ता गठबन्धनको पक्षमा ४६ सिट मात्र भएपछि बहुमतका लागि थापाले सभामुख गौतमको हस्ताक्षरको समेत प्रयोग गरेका थिए।

थापा माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीको समर्थनमा बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

२१ असार, २०८०, १८:४७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।