‘वानएक्स बेट’ प्रकरण : अरुकै नागरिकतामा ४२ वटा बैंक खाता, ३१ करोड बढीको कारोबार

‘वानएक्स बेट’ प्रकरण : अरुकै नागरिकतामा ४२ वटा बैंक खाता, ३१ करोड बढीको कारोबार

काठमाडौं : नेपालमा गैर कानुनी मानिएको ‘वानएक्स बेट’मार्फत अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका एजेन्ट दिनेश खड्काले मञ्जुरीबिना अन्य केही व्यक्तिको नागरिकता प्रयोग गरेको पाइएको छ। 

‘वानएक्स बेट’मार्फतमार्फत उनले ३१ करोडभन्दा बढी रकम कारोबार गरेको अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ। 

गत जेठ ३० गते पक्राउ परेका खड्काले केही व्यक्तिको नागरिकता प्रयोग गरी उनीहरुको मन्जुरीबिना नै ४२ वटा खाता खोलेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उनले विद्युतीय माध्यम दुरुपयोग गरी अनाधिकृत रुपमा खातामा रु ३१ करोड ३२ लाख ६४ हजार दुई सय ५२ जम्मा गर्नुका साथै सो रकम अन्य खातामा पठाएको खुल्न आएको छ।

उनका अनुसार निज अभियुक्त विरुद्ध  दुई पीडितले  बैङ्किङ कसुर गरेको किटानी जाहेरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएकोमा आवश्यक कारबाहीको लागि टेकुस्थित जिल्ला प्रहरी परिसर पठाइएको छ। 

क्यान नेतृत्व अनुसन्धान बाहिरै

वानएक्सबेट मार्फत खेल मिलेमतो गराउनेदेखि जुवा खेलाउनेसम्मका गैर कानुनी गतिविधिमा सञ्जालै बनाएर गिरोहका सदस्य सक्रिय रहेको सूचनाका आधारमा पछिल्लो समय प्रहरीले निगरानी र पक्राउकोक्रम सुरु गरेको छ।

प्रहरीले केही एजेन्टहरूलाई पक्राउ गरे पनि नेपालमा गिरोह बनाएर धन्दा चलाउने मुख्य ब्यक्ती भने फेला पार्न सकेको छैन।

प्रहरीले वानएक्सवेटको कोड प्रयोग गरेर विज्ञापन गरेको आरोपमा केही कलाकार र यूट्युवरलाई समेत पक्राउ गरिसकेको छ। हिरासतमा राखेर उनीहरू विरुद्ध अनुसन्धान भइरहेको छ।

नेपाल क्रिकेट एसोसिएसनले आयोजना गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा वानएक्सब्याट मुख्य प्रायोजक हुने गरेको छ। यो त्यही वानएक्सबेटको भगिनी संस्था हो। वानएक्सवेटको साइट खोल्दा ब्याटकै साइट खुल्छ। तर प्रहरीले त्यसतर्फ भने ध्यान दिएको देखिँदैन। 

सिम किन्दै वालेटमा खाता खोल्दै
रकम संकलन र भुक्तानी गरेको आधारमा कमिसन रकम निर्धारण हुने भएकाले बढी रकम संकलन र भुक्तानीको लोभमा उनीहरूले विभिन्न व्यक्तिको नाममा डिजिटल वालेटको खाता खोली कारोबार गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको देखिन्छ।

प्रहरीले यस अगाडि १९ वर्षीय नयन राज भण्डारी, २८ वर्षीय वरुण कुमार सिंह, ३२ वर्षीय वासुदेव पाण्डे, २६ वर्षीया शिवानी तामाङ तथा २३ वर्षीय दिलिप सिंह कठायत र भुपाल राज न्यौपानेलाई पक्राउ गरेको थियो। अनुसन्धानमा ​​​​​​​दिलिप सिंहले बेटिङको लागि वालेट खोल्न ८३ , भूपालराजले १३८, नयनराजले १२३ र बरुण कुमारले २ वटा गरि जम्मा ३४६ सिमकार्ड प्रयोग गरिरहेको खुलेको थियो।​​​​​​

२१ असार, २०८०, १४:३३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।