'कलाकारहरूले अचाक्ली पारिश्रमिक माग्न थाले, म्युजिक भिडियो इन्ड्रस्ट्री डुब्न सक्छ'

'कलाकारहरूले अचाक्ली पारिश्रमिक माग्न थाले, म्युजिक भिडियो इन्ड्रस्ट्री डुब्न सक्छ'

काठमाडौं : नेपाली गीत संगीतको भिडियो निर्माणमा लगानीकर्ताहरू अहिले कलाकारहरुले अचाक्ली महंगो पारिश्रमिक माग्न थालेको भन्दै गुनासो गर्न थालेका छन्।

कुनै समय बढिमा पाँच लाख खर्च गर्दा भनेजस्तै म्युजिक भिडियो बन्थ्यो। अहिले त एउटा गीतको भिडियो निर्माण गर्दा ५ लाख त न्युनतम। ३५ लाखसम्म लगानी लाग्छ रे। यसको मुख्य कारण कलाकार अनि मोडलले पारिश्रमिक बढाउनु रहेको दाबी गर्छन् उनीहरु।  

गीतको अडियो भर्सन तयार भएपछि भिडियो बनाउनु अनिवार्यजस्तै छ अहिले। नत्र गीत चल्दैन । तर मोडलहरुको भाउँ नै चर्को भयो रे। अभिनय बापत एक जनालाई नै ८० हजारदेखि ३ लाखसम्म दिनुपर्दा सानो लगानीमा भिडियो बनाउँछु भनेर नसोचे पनि हुने अवस्था देखिन्छ। अहिले भिडियोका निर्देशकहरु यो पेशै डुब्ने भयो भन्दै गुनासो गर्न थालेका छन्।

कुनै बेलामा चर्चित मोडल तथा भिडियो निर्देशक शंकर बिसीले अहिलेका चलेका मोडल तथा कलाकारहरूले पारिश्रमिक अत्यधिक लिने गरेका कारण गीतको भिडियो बनाएर पनि लगानी उठ्ने अवस्था नरहेको बताउँछन्। केही समय अमेरिका बसेर फर्किएका उनको कान्छी श्रीमती र छोरी उतै अमेरिकामै छन्। 

उनले कलाकारहरूले क्षमताभन्दा बढी मागेकाले यो क्षेत्र नै धराशायी हुन पुगेको दाबी गर्छन् उनी। उनी भन्छन्, 'एउटा भिडियोमा खेल्ने कलाकारले ३ लाख पारिश्रमिक लिनु भनेको एउटा श्रष्टालाई उठ्नै नदिनु हो।' 

बलात्कार अभियोगमा एक वर्ष जेल सजाय भोगेर बाहिरिएका पल शाहले एअहिले भिडियोको रेट  ३ लाख पुर्याएछन्। पहिला उनी एक लाख लिन्थे। गम्भिर अपराधको अभियोग विचाराधिनै रहँदा उनको दर घट्नुपर्नेमा उल्टो बढेछ।

'यसले नेपाली म्युजिक क्षेत्र बचाउनेभन्दा पनि डुब्नेतिर लाग्यो,' बिसीले भने, 'एउटा भिडियोका लागि कलाकारलाई लाखौँ खर्चिनुपरेपछि निर्माण टिमले कति रिटर्न पाउँछ,त्यो पनि त हेर्नुपर्यो नि ?’ उनले भने। 

एक दशकभन्दा लामो समय म्युजिक भिडियोमा एकछत्र अभिनय गरेका बिसी एकैपटक दुई वटासम्म भिडियोमा काम गर्थे। एउटामा अभिनय गर्दा अर्कोमा निर्देशन गर्थे। 

उनले आफू अति व्यस्त हुँदा पनि महिनामा ४ देखि ५ लाख मात्रै कमाउने गरेको तर्क गरे।

भने,‘एउटा भिडियोको पाँच हजार,सात हजार कमाएर जोडेर महिनामा ४,५ लाख हुन्थ्यो। अहिलेका नयाँ मोडलजस्तो दिनकै लाख,तीन लाख लिएर कमाएको होइन।’

आफूले कहिल्यै पनि आफ्नो रेट राखेर भिडियो नगरेको बिसीको दाबी छ। आफूले भिडियो गर्दा इन्डस्ट्री पनि बचाउनुपर्छ भन्ने उद्देश्य राखेर काम गरेको उनको दाबी छ। 

‘महिनामा ३० वटा म्युजिक भिडियो निर्माण हुँदा मेरो २८ वटा हुने गरेको थियो,’ उनले भने,‘मैले मेरो रेट ५ सय र हजार बढाए होला,नत्र थिएन।’

यता हजारभन्दा बढी गीतमा मोडल गरेका महेन्द्र गौतमको भनाइ शंकर बिसीको जस्तै छ। आफूले खेलेको पछिल्लो भिडियो ‘सान्नानी जाम पोखरा’सम्म आइपुग्दा आफ्नो रेट यति नै भनेर नतोकेको उनले दाबी गरे।

उनले थोरै पैसामा भए पनि काम गरेर नेपाली म्युजिक क्षेत्र बचाउनुपर्छ भन्नेमा आफू लागेको दाबी गरे। एक हजार हाराहारी गीतको भिडियोमा अभिनय गरेको दाबी गरेका महेन्द्रका थुप्रै गीतहरू चर्चामा छन्। 

‘मैले केही समयअघि गन्दा ८ सय वटा गीतको भिडियो पुगेको रहेछ,‘उनले भने,‘अहिले त १ हजार पुग्यो होला। यतिको भिडियो गर्दा मैले कहिल्यै मेरो रेट यति हो भनेर अड्डी कसिनँ।’ 

म्युजिक भिडियोमा अभिनय गर्दै आएका कलाकारहरूले न्यूनतम १५ देखि २० हजार रुपैयाँ हाराहारीमा पारिश्रमिक लिने गरेका छन्। तर फिल्मबाट म्युजिक भिडियो खेल्ने गरेका कलाकारहरले भने चर्को पारिश्रमिक लिन्छन्। 

अहिले पलले ३ लाख,पुष्प खड्काले १ लाख,हास्यकलाकार बलेको उपनामले परिचित सागर लम्सालले १ लाख रुपैयाँ लिने गरेका छन्। 

अभिनेत्रीहरूको पनि पारिश्रमिक १ लाखभन्दा बढी रहेको निर्देशक बिसीले बताए। 

१८ असार, २०८०, १६:०६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।