मन्त्री बस्नेतद्वारा हेटौंडा अस्पताल र पथलैयाको मेडिकल स्टोरको आकस्मिक निरीक्षण

मन्त्री बस्नेतद्वारा हेटौंडा अस्पताल र पथलैयाको मेडिकल स्टोरको आकस्मिक निरीक्षण

हेटौंडा : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार हेटौंडा अस्पताल र बाराको पथलैयामा रहेको मेडिकल स्टोरको आकस्मिक निरीक्षण गरेका छन्।

उनले अस्पतालको आकस्मिक कक्ष, ओपीडी कक्ष, फार्मेशी लगायत विभिन्न कक्षको अनुगमन गर्नुको साथै भर्ना भएका बिरामीहरूको अवस्था बारे जानकारी लिएका हुन्। 

मन्त्री बस्नेतले हेटौंडा अस्पतालको स्तरोन्नतिका लागि आवश्यक भौतिक संरचना तथा स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिँदै अस्पताल प्रशासनले राखेका समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे। 

अनुगमनपश्चात सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले देशैभरका अस्पतालहरूमा स्वास्थ्यकर्मीहरूको अभाव रहेको भन्दै  हेटौंडा अस्पतालको अभाव परिपूर्ति गर्न थप स्वास्थ्यकर्मी पठाइने बताए। 

आर्थिक रूपमा विपन्न परिवारका लागि १० प्रतिशत बेढ निःशुल्क रूपमा प्रयोग गर्ने वातावरण तयार गर्न उनले निर्देशन दिए। अहिलै पनि स्वास्थ्यकर्मीहरू सरकारी अस्पतालमा काम थोरै गर्ने र निजी क्लिनिकहरूमा धेरै समय आवद्ध हुने गरेको भन्दै मन्त्री बस्नेतले अब त्यो परम्परा तोड्ने बताए। 

सोही क्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश राजधानीको एकमात्र सरकारी अस्पताल भएकाले हेटौंडा अस्पतालमा विरामीको चाप निकै रहेको र विरामीको चाप अनुसार अस्पतालले सेवा सुविधा प्रवाह गर्न नसकिरहेको सन्दर्भमा त्यो समस्या समाधान गर्नेतर्फ प्रदेश सरकारले पहल गर्ने बताए।

त्यसैगरि मन्त्री बस्नेतले पथलैयास्थित औषधि स्टोरको पनि निरिक्षण गरेर त्यहाँ रहेको औषधि र भण्डारणका बिषयमा जानकारी लिएका छन्। सो अवसरमा बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्कालगायत औषधि स्टोरका अधिकारीले मन्त्री बस्नेतलाई औषधि भण्डारणका विषयमा जानकारी गराएका थिए।

२५ जेठ, २०८०, १८:३६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।