किसानको अपमान गर्दै सञ्जालदेखि संसदसम्म जोक बन्यो उच्च नश्लको मुर्रा राँगो

किसानको अपमान गर्दै सञ्जालदेखि संसदसम्म जोक बन्यो उच्च नश्लको मुर्रा राँगो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट १५ वटा मुर्रा जातको राँगो लिएर आएपछि सामाजिक सञ्जालमा जोकै बन्यो। अब मुर्रा जातको भैँसीको म:म खान पाइने भयो भनेर उडाए सञ्जालका प्रयोगकर्ताहरूले।

कार्टुनिस्टहरूले कार्टुन बनाउने विषय पाए। मुर्रामाथि चढेर गेरुवस्त्र लगाएका प्रचण्डको कार्टुन बनाउने प्रतिष्पर्धा नै भयो। प्रतिपक्षी दलका नेताहरूले पनि प्रधानमन्त्रीलाई उडाउने विषय यही मुर्रालाई बनाए।

कृषि मन्त्रालयले नेपालको भैँसीको नश्ल सुधार गर्न भारतसँग मुर्रा जातको राँगो मगाएको र त्यसले एक लाख बढी भैँसीको नश्ल सुधार हुने विज्ञप्ति नै जारी गर्यो। तर, मुर्रा विषय ओझेल परेन।

सोमबार संसदमा प्रधानमन्त्री प्रचण्ड भारतबाट भैँसी चढेर आएको भन्दै व्यङ्ग्य गरे सांसदहरूले। सत्तापक्षका सांसदहरूले प्रधानमन्त्रीले भैँसी चढेको भनेर व्यङ्ग्य गरेकोमा आपत्ति जनाउँदै संसदको रेकर्डबाटै हटाउन माग गरे। सभामुखले हटाउन रुलिङ गरे।

संसदमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा मुर्रा प्रजातिको राँगो कसरी सम्झौताको विषय बन्यो भनेर प्रष्टिकरण दिँदै आफ्नो भ्रमणको अजेण्डा नभई सात वर्ष अगाडि नै मागिएको र आफ्नो भ्रमणको बेलामा आएको भन्दै आफ्नो बचाउ गर्ने प्रयास गरे।

उनले ‘भ भैँसीको कुरा छ’ भनेर संसदमा बोल्न शुरु गर्दा सत्तापक्षका देखि विपक्षसम्मका सबै सांसदहरू जोडले हाँसे। सांसद मात्रै हैन भैँसीबारे कुरा गर्दा प्रचण्ड आफैँ पनि हाँसिरहेका थिए।

‘भैँसी, यो भैँसीको कुरा अहिले भएको कुरा हैन। सात वर्ष अगाडि नै समझदारी भएको रहेछ। आएको मात्र अहिले हो,’ उनले भने, ‘मान्छेले मलाई भैँसी चढाएर हिँडाएका छन्।’

समझदारी भएको राँगा थियो। उनले सदनमा पटक-पटक भैँसी भनेपछि कसैले राँगा हो भनेपछि सच्याउँदै प्रचण्डले भने ‘राँगा, राँगा नै हो। मुर्रा हो मुर्रा।’

उनले यसो भन्दा पनि संसदको हल हाँसोले नै भरियो।

कृषिक्रान्तिको चर्का कुरा गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री प्रचण्डले भारतबाट भैंसी चढेर आएको भनेपछि संसद्मा खैलाबैला भयो।

प्रधानमन्त्रीलाई प्रश्न गर्ने क्रममा उनले ‘प्रधानमन्त्री भारतबाट आउँदा प्लेन चढेर भर्खरै उद्घाटन गरेको पोखरा विमानस्थलमा ओर्लिनु हुन्छ होला भनेको त भैंसी चढेर आउनु भयो’ भन्दै व्यङ्ग्य गरेका थिए। 

खनालले व्यङ्ग्य गरेपछि माओवादीका सांसदहरूले ‘भैँसी चढेर आएको’ भन्ने कुरा संसद्को रेकर्डबाट हटाउन माग गरे। यसपछि प्रतिपक्ष दल एमाले र रास्वपाका नेताहरूले प्रधानमन्त्री स्वयंले नै संसदमा भैँसी चढेर आएको भन्ने कुरा गरेकोले हटाउने भए त्यो पनि हटाउन माग गरे।

अनि सभामुख देवराज घिमिरेले संसद्मा बोलिएको ‘भैँसी चढेर आएको’ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिए। उनले संसद्मा जसले भनेको भए पनि ‘भैँसी चढेर आएको’ भन्ने कुरा हटाउन रुलिङ गरे।

मुर्रा जातको राँगा जोकै बनाउनुपर्ने विषय हो त ?
नेपालमा मुर्रा जातको भैँसी पालन नयाँ हैन। यसअघि स्थानीय निकायहरूले भारतबाट यही प्रजातिको भैँसी किनेर किसानहरूलाई बाँड्ने गरेको फेला पर्योब। यस अगाडि दैलेखको आठविस नगरपालिकाले टेण्डरमार्फत ८१ वटा मुर्जा प्रजातिको भैँसी किनेर किसानलाई बाँडेको थियो।

नेपालमा मुर्रा जातको भैँसीको उच्च माग देखिन्छ। दुध किसानहरूको पहिलो रोजाइमा पर्ने यो प्रजातिको भैँसी नेपालमा हराउँदै गएकाले नश्ल सुधार गर्न कृषि मन्त्रालयले भारतबाट राँगा मागेको थियो।

मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार सन् २०१८ मा नेपालमा भएको नेपाल भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको बैठकमा भारतबाट मुर्रा जातको ३० वटा राँगो नेपाल सरकारलाई उपलब्ध गराउन भारत सरकारसँग माग भएको उल्लेख छ।

उच्च प्रजनन् क्षमता भएका बिउ राँगोका लागि नेपाल सरकारले औपचारिक रूपमा मुर्रा प्रजातिको राँगो मागेको र भारत सरकारले १५ वटा मुर्रा राँगो बस्तुगत सहयोग अनुसार नि:शुल्क उपलब्ध गराएको विज्ञप्तिमा भनियो।

मन्त्रालयका अनुसार भारतले दिने राँगा पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन् कार्यालयहरूमा व्यवस्थापन गरेर उच्च गुणस्तरको विर्य उत्पादन गरेर कृषकलाई कृतिम गर्भाधारण गराउन उपलब्ध गराउने उल्लेख थियो।

१५ वटा राँगाबाट तीन वर्षमा वार्षिक एक लाख ५० हजार डोज बिर्य उत्पादन भएर एक लाख भैँसीमा कृतिम गर्भाधारण गराई नश्ल सुधार गर्ने उल्लेख थियो। 

मन्त्रालयले प्रष्टै किसानको हितका लागि नेपालमा रहेका भैँसीको नश्ल सुधार गर्न राँगोको माग गरेको भने पनि सांसददेखि सञ्जालसम्म कृषकहरूको हितका भएको कामलाई जोकमा उडाउने क्रम रोकिएन।

मुर्रा प्रजाति नै किन ?
भारतको हरियाणा उत्पत्तिस्थल मानिएको मुर्रा जातको भैँसीले धेरै दूध दिने भएकाले किसानहरूमाझ यसको उच्च माग देखियो। निख्खर कालो शरीर, लामो घाँटी अनि राम्रो विकसित फाचा हुने यो प्रजातिको भैँसीले प्रतिबेत औसत १ हजार ५ सय देखि २ हजार ५ सय लिटरसम्म दूध दिन्छ।

नेपालको हावापानीमा सहजै भिज्न सक्ने प्रजातिको भएको र दूध व्यवसायका लागि उत्तम मानिने यो प्रजातिको भैँसीको मूल्य न्यूनतम ८० हजारदेखि अधिकतम २ लाखसम्म पर्ने देखियो। राँगोको मूल्य थप उच्च देखियो।

२२ जेठ, २०८०, १७:२५:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।