आठ वर्षमा पाँच पटक म्याद थप्दा पनि बनेन स्वास्थ्य चौकी भवन

आठ वर्षमा पाँच पटक म्याद थप्दा पनि बनेन स्वास्थ्य चौकी भवन

खोटाङ : खोटाङको साकेला गाउँपालिका–५ बिर्तास्थित स्वास्थ्य चौकी भवन ६ पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन। निर्माण थालेको आठ वर्ष बितिसक्दा पनि भवन अधुरै रहेको हो।

वि. सं. २०७४ कात्तिक २० भित्र सक्ने गरी यूएस–नाना जेभीले २०७२ कात्तिक २० गते भवन निर्माणको सम्झौता गरेको थियो। यसबीचमा निर्माणका लागि ६ पटक म्याद थपिएको छ।

रु दुई करोड १६ लाखको लागतमा भवन निर्माणको सम्झौता गरिएको थियो। भवन निर्माण गर्न २०७५ वैशाख, २०७५ माघ, २०७७ असार, २०७७ पुस, २०७८ चैत र  २०७९ पुसमा म्याद थपिएको वडाध्यक्ष जीवन न्यौपानेले बताए।

पछिल्लो पटक म्याद नथपिएपछि भवन निर्माणको टुङ्गो नभएको र हालसम्मको काम पनि गुणस्तरिय नभएको उनको आरोप छ।

निर्माणाधीन अवस्थामै रहेको स्वास्थ्य चौकी भवनको सिलिङबाट पानी चुहिने गरेको छ। गुणस्तरहीन कामका बारेमा निर्माण कम्पनीलाई जानकारी गराइएको छ। भवनको भित्री भागको धेरै काम बाँकी रहेको उनले बताए।

निर्माण कम्पनीको लापरबाहीले निर्माणाधीन स्वास्थ्य चौकी भवनको काम बेलामा नसक्दा उपचार सेवा प्रवाहमा समस्या भएको छ।

स्वास्थ्य चौकीबाट दिइने सेवा पुरानो गाविस भवनमा र बर्थिङ सेन्टरको सेवा स्थानीय महिला सशक्तीकरण समूहको भवनबाट सञ्चालित छ। 

ठेक्का लिने निर्माण कम्पनीले सुजन भट्टलाई पेटी ठेक्का दिएको र भट्टले पनि स्थानीय सन्तोष राईलाई काम लगाएको तथा उनीहरूबीच लेनदेनको विषय नमिलेकाले यो समस्या आएको स्थानीयको भनाइ छ।

१८ जेठ, २०८०, ०९:३१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।