धौलागिरि अस्पतालमा पहिलो पटक मेरुदण्डको शल्यक्रिया

बागलुङ : बागलुङको धौलागिरि अस्पतालमा पहिलो पटक मेरुदण्डको शल्यक्रिया गरिएको छ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रविरञ्जन प्रधानका अनुसार मेरुदण्डको हड्डी भाँचिएका बागलुङकै एक ५२ वर्षीय पुरुषको बुधबार शल्यक्रिया गरिएको हो।
धौलागिरि अस्पतालका डाक्टरहरू विनीत ढकाल, समीर लामिछाने, प्रमेश थापा, राजन शर्मा, अमित ढुङ्गाना लगायतको टोलीले मेरुदण्डको शल्यक्रिया गरेको हो।
‘यसअघि कम्मरको हड्डी भाँचिएको पनि शल्यक्रिया गरिएको थियो। ‘रिफर सेन्टर’का रूपमा चिनिएको अस्पतालले पछिल्लो समय विशेषज्ञ सेवालाई थप गर्दै गएको छ,’ प्रधानले बताए।
यसअघि मेरुदण्डको शल्यक्रियाका लागि बिरामी पोखरा, भरतपुर, काठमाडौं लगायतका ठाउँमा जाने गरेका थिए। महँगो उपचारका रूपमा मानिँदै आएको मेरुदण्डको शल्यक्रिया बागलुङकै सरकारी अस्पतालमा भएपछि अब अरुलाई पनि सहज हुने भएको छ।
पछिल्लो समय विशेषज्ञ चिकित्सक थप भएसँगै अस्पतालले ओपीडी बाहेकका अन्य विशेष प्रकारका सेवासमेत दिन थालेको छ। अहिले यस अस्पतालमा दैनिक चार सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन्।
११ जेठ, २०८०, ०८:५०:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।