जब गुडिरहेको बसमा ह्वारह्वार्ती आगो बल्न थाल्यो...

जब गुडिरहेको बसमा ह्वारह्वार्ती आगो बल्न थाल्यो...

काठमाडौं : ग १ ख ४८४६ नम्बरको बस नीलकण्ठ नगरपालिका–१ पात्लेबाट काठमाडौंतर्फ जानका लागि गुडिरहेको थियो।

३३ यात्रु बोकेर काठमाडौंतर्फ आइरहेको बस धुनिबेसी–९ गणेशस्थान आइपुग्दा केही पोलिएको जस्तो गन्हायो। बाहिर तिर होला भनेर चालक र यात्रुले खासै वास्ता गरेनन्।

तर, केही बेर बस हिडिसक्दा पनि त्यो गन्ध हराएन। बरु झन्–झ्न बढ्दै मात्रै गएन, इन्जिन भएको ठाउँबाट धुँवा नै निस्कन थाल्यो। त्यसपछि हल्लाखल्ला मच्चियो। अनि साइड लगाएर बसमा भएका सबै यात्रुलाई बाहिर निकालियो।

धुँवा निस्कनेबित्तिकै सबैलाई बाहिर निकालिएकाले मानवीय क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। बसमा लागेको आगोले सिट सबै जलेका छन् भने अगाडिको र झ्यालका सिसा नष्ट भएका छन्।

बसमा लागेको आगो राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए। प्रहरीले विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ।

वैशाख ३०, २०८० शनिबार १५:०२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।