सांसद कोइरी भागेर भारत पुगेका रवि लामिछानेको दाबी, आवश्यक परे तस्वीर सार्वजनिक गर्ने

सांसद कोइरी भागेर भारत पुगेका रवि लामिछानेको दाबी, आवश्यक परे तस्वीर सार्वजनिक गर्ने

उपनिर्वाचनमा विजयी भएर आज मात्र सांसदको शपथ लिएका रास्वपा सभापति रवि लामिछाने शुक्रबारको संसदमा सम्बोधन गरेका छन्। 

आफू गृहमन्त्री भएका बेला हत्या अभियोगमा पक्राउ गर्न नसकेका उनले आज संसदमा फरार सांसद कोइरीको अवस्थाबारे भने जानकारी गराए।  

महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लक्ष्मी महतो कोइरी संसदमा लगातार अनुपस्थित भएपछि हिजो बसेको प्रतिनिधिसभा बैठकमा उनको अनुपस्थितिबारे खोजी भएको थियो।

संसदमा आफूबारे प्रश्न उठ्न थालेपछि सांसद कोइरीले आफू बिरामी भएर उपचारमा रहेकाले आउन नसकेका संसदलाई जानकारी गराएका थिए। 

संसदीय नियम अनुसार कुनै सांसद नियमित १० पटक बैठकमा अनुपस्थित भएका उसको पद खारेज हुने प्रावधान छ। कोइरी १० पटकभन्दा बढी संसद बैठकमा अनुपस्थित भइसकेका छन्। 

उनको अनुपस्थितिबारे रास्पा तथा कांग्रेसका सांसदहरूले सदनमा प्रश्न उठाएका थिए। 

संसद सचिवालय कोइरी जोगाउन सक्रिय देखिएपछि मिडियामा आलोचना बढ्यो। संसदमा यो विषय उठ्न थालेपछि संसद सचिवालयले कोइरीले बिरामी भएको पत्र पठाएको दाबी गरेको थियो। 

तर एकाएक रास्वपा सभापति लामिछानेले आज संसदमा कोइरी बिरामी नभएको र भारतमा लुकेर बसेको बताए। 'मैले गृहमन्त्री भएका बेला यो विषयलाई लिएर अत्यन्तै आलोचना खेपेको छु, म गृहमन्त्री भएका बेला उहाँ बिरामी परेको होइन, उहाँ फरार हुनुभएको हो।' 

कोइरीलाई फरार अभियुक्तका रूपमा आफूहरूले खोजी गरेको उनले संसदमा खुलाए। 'उहाँ भाग्नुभएको अभियुक्त हो।' लामिछानेले आफ्नो मोबाइल हेर्दै कोइरीको खोजी गरिरहँदा उनको सालोले आफूलाई भारतको रहेको जानकारी गराएको सदनमा बताए। 

आफूलाई कोइरीका ती नातेदारसहितले त्यतिखेरको तस्वीर पठाएका उनले दाबी गरे। तर उनले सूचनाको गोपिनियताका आधारमा उनको नाम भन्न भने नसक्ने बताए। 

कोइरी भागेको गएको ठाउँ र त्यहाँका प्रहरीले उनलाई नियन्त्रणमा लिएको तस्वीरसहित पठाएको दाबी पनि गरे। सम्बन्धित निकायलाई उनले उक्त तस्वीर उपलब्ध गराउन सक्नेसमेत बताए। 

नयाँ पुस्ता सदनमा आएका भन्दै राजनीतिका नाममा लाजनीति यो संसदमा नचल्ने उनको भनाइ थियो।  

वैशाख १५, २०८० शुक्रबार १९:५०:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।