विकासका आयोजना सम्पन्न नभएसम्म आयोजना प्रमुखको सरुवा नहुने, आयोजनाको प्रगति थाहा पाउन 'डिजिटल ट्र्याकिङ' गरिने

विकासका आयोजना सम्पन्न नभएसम्म आयोजना प्रमुखको सरुवा नहुने, आयोजनाको प्रगति थाहा पाउन 'डिजिटल ट्र्याकिङ' गरिने

काठमाडौं : सरकारले विकास आयोजनाहरूलाई समयमै सम्पन्न गर्न आयोजना प्रमुखको सरुवामा रोक लगाउने गरी नयाँ नीति ल्याएको छ। 

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत सरकारले आयोजनाको नेतृत्वमा देखिने अस्थिरता अन्त्य गर्दै प्रशासनिक र प्रक्रियागत अवरोध हटाउने घोषणा गरेको हो।

नयाँ व्यवस्थाअनुसार अब सबै आयोजना प्रमुखहरूसँग अनिवार्य रूपमा ‘कार्यसम्पादन सम्झौता’ गरिने भएको छ। सम्झौतामा तोकिएको लक्ष्य र समयसीमाभित्र आयोजना सम्पन्न गर्ने स्पष्ट प्रतिबद्धता हुनेछ। आयोजनाको काम कुन चरणमा छ र कहाँ रोकिएको छ भन्नेबारे तत्काल जानकारी पाउन 'डिजिटल ट्र्याकिङ' सुरु गरिनेछ। जसले आयोजनाको वास्तविक अवस्थाबारे तत्काल जानकारी प्रदान गर्नेछ। यसले आयोजनाको स्वामित्व र उत्तरदायित्व सुनिश्चित गर्ने सरकारको लक्ष्य छ।

वर्षौँदेखि आयोजना प्रमुखहरूको पटक-पटकको सरुवाका कारण विकास निर्माण सुस्त हुने गरेको गुनासोलाई सम्बोधन गर्न यो कडा नीति ल्याइएको हो। यसले आयोजनाको कार्यतालिका प्रभावित हुन नदिने र समयमै सम्पन्न गर्ने वातावरण निर्माण गर्ने सरकारको विश्वास छ।

त्यस्तै, आयोजना निर्माणमा सधैँको समस्या मानिने जग्गा प्राप्ति र वन क्षेत्रको प्रक्रियागत ढिलाइलाई कानुनी रूपमै हल गर्न सरकारले विशेष पहल गर्ने घोषणा गरेको छ।

वैशाख २८, २०८३ सोमबार १६:४९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।