रासिद खानको रेकर्ड तोड्न सन्दीप एक विकेट पछाडि, आज बन्न सक्छ विश्व कीर्तिमान

काठमाडौं : नेपाली क्रिकेट टिमका पूर्व कप्तान तथा स्टार स्पिनर सन्दीप लामिछाने एकदिवसीय (ओडीआई) क्रिकेटमा रासिद खानको विश्व कीर्तिमान तोड्न मात्र एक विकेट पछाडि छन्।
उनले आजको ओमनसँगको खेलमा एक विकेट मात्र लिएमा एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १०० विकेट लिने खेलाडीको रेकर्ड राख्ने छन्।
एसीसी प्रिमियर कपको समूह चरणको दोस्रो खेलमा नेपाल आज ओमनसँग भिड्दै छ। नेपालको यो ५० औं एकदिवसीय खेल पनि हो।
हालसम्म ४१ ओडीआई खेल खेलेर ९९ विकेट लिएका सन्दीपको भने आज ४२ औं एकदिवसीय खेल हो।
आज एक विकेट मात्र लिन सकेको खण्डमा उनले ४२ खेलमा नै १०० एकदिवसीय विकेट पुरा गर्दै अफगानी स्टार स्पिनर रासिद खानको रेकर्ड तोड्ने छन्।
हालसम्म ओडीआई क्रिकेटमा सर्वाधिक छिटो १०० विकेट लिने कीर्तिमान अफगानिस्तानका रासिद खानको नाममा छ। उनले सन् २०१८ मा ४४ खेल खेलेर १०० विकेट पूरा गर्दै यो रेकर्ड बनाएका थिए।
गत महिना टीयू मैदानमै भएको आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा यूएईविरुद्ध एक विकेट लिएसँगै सन्दीप यो रेकर्डको नजिक पुगेका थिए।
‘मैले शून्यबाट खेल्न सुरु गरेको थिएँ। त्यो कोसेढुंगा पार गर्न आफ्नो तर्फबाट सक्ने प्रयास म गर्नेछु। यो म र मेरो परिवारका साथै देशकै लागि गौरवको कुरा हो,’ कीर्तिमानको नजिक पुगेपछि उनले भनेका थिए।
सन्दीपले ओडआईमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो खेलाडीको कीर्तिमान पनि बनाएका थिए।
२२ खेलमा ५० ओडीआई विकेट पूरा गरेका उनी श्रीलंकाका अजन्था मेन्डिसभन्दा पछि परेका थिए। मेन्डिसले १९ खेलमा ५० विकेट पूरा गरेका थिए।
नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी सन्दीपले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ओडीआईमा डेब्यू गरेका थिए।
८ बैशाख, २०८०, ०८:४३:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।