बढुवामा विभेद भयो भन्दै  वीपी क्यान्सर अस्पताल स्वास्थ्यकर्मी संघ विरोधमा

बढुवामा विभेद भयो भन्दै  वीपी क्यान्सर अस्पताल स्वास्थ्यकर्मी संघ विरोधमा

चितवन :  वीपी मैमोरियल क्यान्सर अस्पतालको कर्मचारी बढुवामा विभेद गरेको भन्दै नेपाल स्वास्थ्यकर्मी सङ्घले आपत्ति जनाएको छ। राजनीतिक आस्था र व्यक्तिगत इगोका कारण बढुवाको नतिजामा पूर्वाग्रह राखिएको सङ्घको दाबी छ।

सङ्घले वरिष्ठता र परीक्षाको अङ्कको आधारमा नतिजा ननिकाली एकलौटी ढङ्गले अन्य व्यक्तिलाई बढुवा गरेको भन्दै तत्काल मूल्याङ्कन समितिलाई कारबाही गर्न माग समेत गरेको छ।

सिनियर र सिनियारिटी अङ्क माथि हुँदाहुँदै न्यूनतम अङ्क दिएर इमानदार स्वास्थ्यकर्मीमाथि अपराध गरिएको आरोप लगाउँदै विज्ञप्तिमा सत्य तथ्य छानबिन र मूल्याङ्कन सहित १० बुँदे माग सहित ध्यानाकर्षण समेत गराइएको छ।

विज्ञप्तिमा अस्पतालको नियमावली अनुसार सुपरिवेक्षकको अङ्क निकटतम् सुपरभाइजर र पुनरावलोकनकर्ताको अङ्क सम्बन्धित विभागीय प्रमुखले हाल्ने गरी नियमावली परिवर्तन गर्न सञ्चालक समितिसँग माग गरिएको छ।

योग्य कर्मचारीको हकमा अस्पतालको ओएण्डएमको व्यवस्था ,पदपूर्ति सम्बन्धीको सम्पूर्ण जिम्मेवारी कार्यकारी निर्देशकले लिनुपर्ने र उचित छानबिन गर्नुपर्ने माग राखिएको छ।

सङ्घले १० वर्ष करारमा रहेका कर्मचारीलाई प्रक्रिया पुर्याई स्वतः स्थायी गर्नुपर्ने, मासिक तथा दैनिक ज्यालादारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने लगायतका माग राखेको छ।

अस्पतालको कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष तुरुन्त जम्मा गर्नुपर्ने, ब्यक्ती विशेषलाई लक्षित गरी सामाजिक सञ्जालमा गालीगलौज गर्नेप्रति कारबाही गर्नुपर्ने माग समेत राखेको छ।

१२ चैत, २०७९, २१:१८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।