मौसस विभागले भन्यो- आगामी तीन दिन मेघगर्जन, चट्याङ्ग र हावाहुरसहित वर्षा

मौसस विभागले भन्यो- आगामी तीन दिन मेघगर्जन, चट्याङ्ग र हावाहुरसहित वर्षा

काठमाडौं : स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले आगामी आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने भएको छ।

आगामी तीन दिनसम्म अपराह्नपछि देशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

मानन्धरका अनुसार अहिले भने देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाले जारी गरेको मौसम विवरणअनुसार शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आइतबार देशको पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

महाशाखाले देशको पहाडी भूभागका केही स्थानहरू तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग र हावाहुरी सहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना भएकाले आवश्यक तयारी गरी सतर्कता अपनाउनसमेत आग्रह गरेको छ।

३ चैत, २०७९, १८:२०:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।