माओवादीको नामै नलिइ ओलीको आरोप– ‘बन्दुकमा खिया लागेको भन्दै आयोगलाई धम्क्याए’

माओवादीको नामै नलिइ ओलीको आरोप– ‘बन्दुकमा खिया लागेको भन्दै आयोगलाई धम्क्याए’

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ माओवादी केन्द्रले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिइरहेको आरोप लगाएका छन्।

माओवादी केन्द्रको नामै नलिई अध्यक्ष ओलीले मानव अधिकार आयोगलाई नै घेराबन्दी गर्ने, तर्साउने, धम्क्याउने काम गरिरहेको बताए।

मंगलबारबाट काठमाडौंमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले मानव अधिकारको रक्षाका लागि लड्न पार्टीनिकट मानव अधिकार एलाइन्सलाई निर्देशन दिए।

अध्यक्ष ओलीले मानव अधिकारको पक्षमा उभिन सक्ने र रक्षा गर्नसक्ने काममा इमान्दार र समर्पित भएर लाग्न पनि सो एलाइन्सलाई सचेत गराए।

‘मानव अधिकार आयोगलाई घेराबन्दी गर्छन्। तर्साउँछन्, धम्क्याउछन्। हाम्रा खुकुरीमा खिया लागेको छैन भन्छन्। हाम्रा बन्दुकमा खिया लागेको छैन भन्छन्,’ उनले भने, ‘हाम्रो बन्दुकको कार्तुस अझै पनि ओसिएको छैन भन्छन्। हाम्रा पाखुरा लाठी चलाउन नसक्ने भएका छैनन् भन्न सक्छन्। खुट्टा याद राख्नुस् भन्न सक्छन्। यो हुँदैन भन्न सकिँदैन।’

अध्यक्ष ओलीले नेपालीहरू कहिल्यै पनि मृत्यदण्डको पक्षमा जान नहुने बताए। मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएकाले आफू मृत्यदण्डको पक्षमा नरहेको अध्यक्ष ओलीको तर्क थियो। उनले बुद्ध जन्मेको देशका बासिन्दाहरू कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्यदण्डको पक्षमा जान नहुने समेत बताए।

‘मृत्यदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन। त्यसकारण हामी स्थायी रूपमा, हामी नेपालीहरू, बुद्ध जन्मेका देशका बासिन्दाहरू, यहाँका नागरिकहरु कहिल्यै पनि मृत्यदण्डको पक्षमा कुनै आवेश, उत्तेजनामा पनि जानु हुँदैन भन्ने मेरो एकदम दृढ मत हो। कहिल्यै मृत्युदण्डको पक्षमा जानु हुँदैन।’

अध्यक्ष ओलीले नेपालमा मानव अधिकार उलंघनकर्ताहरुले नै बढि मानव अधिकारको कुरा गर्ने गरेको भन्दै त्यसबाट सचेत रहनुपर्ने जरुरी रहेको पनि बताए। 

३० फागुन, २०७९, १७:१३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।