झाँसीकी रानीझैँ बहादुर राजेन्द्रलक्ष्मीलाई साहसीको सट्टा इतिहासकारले उताउली बनाए

झाँसीकी रानीझैँ बहादुर राजेन्द्रलक्ष्मीलाई साहसीको सट्टा इतिहासकारले उताउली बनाए

भारतको झाँसीकी रानीबारे पढेर उत्साहित हुने नेपालीहरूका माझ राजेन्द्रलक्ष्मी शाह भने खलनायकको रूपमा चित्रित छिन्। इतिहासकारहरूले अन्य रानीहरूभन्दा राजेन्द्रलक्ष्मीलाई केही स्थान दिएका छन्। उनीबारे पाठ्यपुस्तकमा ४ लाइन भए पनि पढ्न पाइन्छ। तर व्याख्या भने पृथ्वीनारायण शाहको ‘ राज्य एकीकरण’मा बाधा दिने महिलाको रूपमा।

उनलाई बाधकको रूपमा उल्लेख गर्दागर्दै पनि इतिहासका पानामा सुरक्षित उनका बहादुरीको गाथाले उनी नेपालकी झाँसीकी रानीभन्दा कम हैनन् भन्ने पुष्टि गर्छ।

तै पनि एकाथरी इतिहासकारहरूले बहादुर शाहलाई राज्य सञ्चालनको अधिकार नदिएर एकीकरण अभियानमा बाधा दिएको, पारिवारिक कलहमा अल्झाएको अनि श्रीमान्को मृत्युपछि पुरुषको सिको गर्दै सैनिक पोसाक लगाएर घोडा चढेर डुल्ने अनि प्रेमी बनाउने गरेको भन्दै उनको योगदानलाई छायामा पार्ने प्रयास गरियो। प्रयास अझै जारी छ।

राजेन्द्रलक्ष्मीको शासन गर्ने स्वभाव पो थियो की? बहादुर शाहमा जस्तै राष्ट्रभक्ति भावना पो थियो की? अझ देशको सिमाना फैलाउने रहर पो थियो की? भन्ने पाटोतिर कमै इतिहासकार प्रवेश गरेका छन्।

तर इतिहासका जानकारहरूले पृथ्वीनारायण शाहको मृत्युपछि फगत छोराको सत्ता जोगाउनकै लागि बहादुर शाहलाई पाखा लगाएर सत्ता आफ्नो हातमा लिने महिलाको रूपमा मात्र उनको व्याख्या गर्ने प्रयास गरेका छन्।

इतिहासकार दिनेश राज पन्त राजेन्द्रलक्ष्मीको चातुर्यताकै कारण नेपालको सीमा फैलिन सकेको बताउँछन्। बहादुर शाहसँगको प्रेम र घृणाको सम्बन्धले असर नपरेको हैन। तै पनि असम्भव भनिएका राज्य गाभ्न सफल भएकी थिइन् उनी।

 ‘भाउजू-देवरमा कहिले मेलमिलाप त कहिले झगडा भयो। एकले अर्कालाई थुन्ने काम पनि भए। त्यसले नेपालको एकीकरणको गति तीव्र हुन नसेकेको सत्य हो,' उनी भन्छन्' तर पनि कहिले मिलेर र कहिले अ-आफ्नै नेतृत्वमा दुवैले नेपालको एकीकरणको अभियान अगाडि बढाउँदै गए।’

आखिर के योगदान थियो त उनको? उनी बिरांगना हुन् कि अवरोधक?

नेपालमा शाहकालीन शासन व्यवस्था २४० वर्ष टिक्यो। ज्ञानेन्द्र शाहको पालामा आएर राजतन्त्र नै समाप्त भयो। यो बिचमा टुक्रामा विभाजित नेपाललाई आजको एकीकृत आकारमा ल्याउन शाहवंशको महत्त्वपूर्ण योगदान भने देखिन्छ नै।

१८२५ देखि २०६३ सालसम्म टिकेको शाहकालीन व्यवस्थामा १ सय ३ वर्ष राणाकाल भएका कारण धेरै वर्ष सक्रिय भूमिकामा भने रहन पाएनन्। 

राज्य विस्तारपछि नेपालका प्रथम राजा पृथ्वीनारायण शाह हुन् भने रानी नरेन्द्रलक्ष्मी। गोरखा राज्य विस्तार गर्दा एकीकृत नेपालको राजा हुने चाहना, बुद्धि, बल, विवेक र केही कमजोरीका साथ पृथ्वीनारायणले राज्य विस्तार गरेको देखिन्छ।

पृथ्वीनारायणले गरेको राज्य विस्तारलाई एकीकरण भनेर पढिएको हो सानोमा। तर एकीकरण भन्दा पनि उनले गोरखा राज्य विस्तार गरेका हुन् भन्ने पाटोमा बलियो पक्ष भेटिन्छन्। एकीकरण र विस्तारको बहस थाती राखेर अब महिला पात्रहरूमा केन्द्रित बनौँ।

OOO

पृथ्वीनारायणले राज्य विस्तार गर्दा लमजुङ, तनहुँ कास्की, नुवाकोट (पल्लो), सतहुँ, गरुहुँ राज्यहरू नेपालअन्तर्गत पार्न  सफल भएनन्।

यी राज्यहरूलाई  पृथ्वीनारायणकी बुहारी महारानी तत्कालीन नेपाल राज्यकी संरक्षक राजेन्द्रलक्ष्मीले आफ्नो राज्यमा एकीकृत गरेकी थिइन्।

अन्य रानीको योगदानको तुलनामा उनीबारे केही न केही चर्चा भेटिन्छ इतिहासको पानामा। तर विस्तृत छैन।

राजेन्द्रलक्ष्मीका पति प्रतापसिंह शाहको स्त्रीहरूसँगको सम्बन्धबारे समेत इतिहास लेख्ने इतिहासकारले राजेन्द्रलक्ष्मीको पराक्रमबारे उल्लेख नगरी केवल खलनायक देखाउने गरी मात्र किन व्याख्या गरे ?

कुनै समय राज्यको नेतृत्व लिएकी उनीबारे विद्यालयको पाठ्यक्रममा पढ्न त पाइन्छ तर संक्षेप। नाटककार प्रचण्ड मल्लले राजेन्द्रलक्ष्मीबारे नाटक लेखेका छन्। तै पनि उनीबारे इतिवृत्त भेटिँदैन।

‘जति दस्ताबेज भेटेँ त्यही समावेश गरेर नाटक लेखेँ,’ नाटककार मल्लले केही समयअघिको कुराकानीमा भनेका थिए, ‘दुखको कुरा उनको वीरता भन्दा पनि उनलाई खलनायक बनाएर प्रस्तुत गर्ने चलन हाम्रोमा बस्यो। तर उनी महान् नारी हुन्।’

इतिहासकार प्राज्ञ दिनेशराज पन्त नेपाल एकीकरणमा महत्पूर्ण योगदान दिएकी राजेन्द्रलक्ष्मीको हुनुपर्ने जति चर्चा नभएको स्वीकार्छन्।

‘राजेन्द्रलक्ष्मी कता जन्मिइन, कसकी छोरी थिइन् तथा उनको आनीबानीबारे कुनै तथ्यगत प्रमाण बाहिर आउन सकेको छैन,’ पन्त भन्छन्,‘ एकीकरण अभियानमा सक्रियतापूर्वक लागेकी वीरांगना राजेन्द्रलक्ष्मीबारे पर्याप्त खोजी र अनुसन्धानको आवश्यकता छ।’

इतिहासशिरेमणी बाबुराम आचार्यले लेखेका ‘श्री ५ प्रताप शाह’ भन्ने पुस्तकमा राजेन्द्रलक्ष्मी नदब्ने र ‘सामान्य’ नारी नभएको मात्र उल्लेख गरेका छन्। राजेन्द्रलक्ष्मीबारे आचार्यको सोचाई सकारात्मक भन्दा नकारात्मक बढी देखिन्छ।

कस्की छोरी हुन् राजेन्द्रलक्ष्मी?

राजाको सबै पक्ष खोतल्ने इतिहासकारहरूले राजेन्द्रलक्ष्मी कस्की छोरी हुन् भन्नेसम्म पहिल्याउन सकेका छैनन्। यसमा एकमत पनि छैन।

पृथ्वी नारायण शाहको जन्म विसं १७७९ पुस २७ गते बुबा नरभुपाल शाह अनि आमा कौशल्यवतीबाट ७ महिनामा भएको इतिहासमा उल्लेख छ। पृथ्वीनारायणलाई कौशल्यवतीले हैन उनकी जेठी आमा चन्द्रप्रभावतीले हुर्काएकी थिइन्।

चन्द्रप्रभावती राजा नरभुपाल शाहकी दोस्री श्रीमती थिइन्। नरभुपाल आखिरीतिर राज्य सञ्चालनमा असमर्थ भएपछि चन्द्रप्रभावतिले ‘चौतारा’ पद लिएर राज्यको प्रशासन व्यवस्था सञ्चालन गरिन्।

राजा नरभुपाल शाह आफ्नो जीवनको अन्तिम समयतिर मानसिकरुपले अत्यन्त असन्तुलित भएपछि महारानी चन्द्रप्रभावती स्वयंले ‘चौतारा’ पद लिएर राज्यको सम्पूर्ण प्रशासन व्यवस्थालाई आफैले सञ्चालन गर्न थालेकी हुन्। त्यसको प्रमाण स्वरूप उनले राज्य चलाउँदा प्रयोग गरेको लालमोहर सुरक्षित छ।

पृथ्वीनारायणको दोस्रो विवाह नरेन्द्रलक्ष्मीसँग भयो।  भारतबाट झिकाएकी नरेन्द्रकुमारीपछि नरेन्द्रलक्ष्मीसँग उनको विवाह गराइयो। १८०८ पुस १४ गते प्रतापसिंह शाहको (बाबुराम आचार्यको पुस्तक अनुसार १८०८, दिनेश राज पन्तका अनुसार १८०६) जन्म भयो।

पृथ्वीनारायणकी अर्की श्रीमती इन्द्रकुमारीको गर्भबाट राजकुमारीको जन्म भयो। उनको नाम विलासकुमारी राखियो।

प्रतापसिंह शाह नुवाकोट दरबारमा हुर्किए। उनको बहिनी पनि त्यही हुर्किइन्। प्रताप शाहको ११ वर्षको उमेरमानै व्रतबन्ध गराइयो।

अक्षरारम्भ ५ वर्षको उमेरमा गराइयो। विद्याभ्यासको साथसाथै शास्त्र अभ्यास पनि नियमित भयो।

आचार्यका अनुसार नरेन्द्रलक्ष्मीले माइतबाट एक जना डोलालाई झिकाएकी थिइन्। उनी जम्मा ८-१० वर्षकी थिइन्। १८२२ फागुनमा उनै कन्यालाई प्रतापसिंहसँग विवाह गराइयो। उनको नाम थियो राजेन्द्रलक्ष्मी।

कतिपयले उनलाई पाल्पाकी राजा मुकुन्द सेनकी छोरी भनेका छन्। तर त्यसको पुष्टि हुन नसकेको बाबुराम आचार्यको पुस्तकमा उल्लेख छ। प्राज्ञ दिनेश राज पन्तका अनुसार पनि उनी कस्की छोरी हुन् भन्नेमा अहिलेसम्म प्राप्त अभिलेखले बताउन सकेको छैन।

राजा पृथ्वीनारायण शाहको  चाहना बमोजिम पण्डित जयमगंल पौडेल तथा उनकी बाह्रमणि गौरीका छोरा वज्रनाथ पौडेलले प्रतापसिंह शाहलाई र यिनको ब्राह्मणीले युवराज्ञी राजेन्द्रलक्ष्मीलाई एकै दिन नुवाकोटमा रहेको राजभवनमा दीक्षा मन्त्र सुनाएका थिए।

यसबाट राजेन्द्रलक्ष्मीको हुर्काइ पनि राजदरबारमा नै भएको पुष्टि हुन्छ। दरबारमा हुर्कन पाएकाले उनले सानैबाट आफ्ना ससुराको पराक्रम अनि सासूको नेपाल एकीकरणमा दिलोज्यान दिएर लागेको देख्न पाइन्।

पृथ्वीनारायणले काठमाडौँको विजयपश्चात् चौबीसे राज्यतर्फ ध्यान दिन १८२६ को अन्त्यतिर नवराजधानी काठमाडौँमा युवराज प्रतापसिंह शाह र राज्यलक्ष्मीलाई आफ्नो प्रतिनिधिको रूपमा राखेर वसन्तपुर दरबार छाडेर २४ से राज्य एकीकरण गर्न हिँडे।

५ वर्ष पछि राजा पृथ्वीनारायण शाह र नरेन्द्रलक्ष्मी राजधानी फर्किए। वसन्तपुर आउँदा युवाराज प्रताप शाहमा लडाई झगडाजस्ता राजसी कामहरूमा चासो नभएको देखे।

प्रताप सिंहको गुरु बज्रनाथ पण्डित तथा अङ्गरक्षक सरुपसिंह कार्की यिनका प्रमुख सल्लाहकार थिए। बस्तरपुरमा आफ्ना श्रीमान् प्रतापसिंह शाहसँग रहेकी राजेन्द्रलक्ष्मी दबिएर बसेकी थिइन्।

त्यति बेला प्रतापसिंह वाम मार्गीतान्त्रीक साधनामा सक्रिय थिए। यस्तो उपासना गर्दा नवयौवना युवतीहरूको आवश्यकता पर्ने भएकाले दरबारमा नवयुवतीहरूको ल्याइन्थ्यो।

ललितपुर राज्यकी भूतपूर्व मन्त्री वीरनरसिंह खवासकी छोरी प्रतापसिंहको उपपत्नीको रूपमा वसन्तपुरमा आइसकेकी थिइन्। यो देखेर पृथ्वीनारायण शाह खिन्न भएका थिए। 

राजेन्द्रलक्ष्मीले विदुर शाही नामक नवयुवराजको जन्म दिइसकेकी थिइन्। युवराज प्रतापसिंहकी कान्छी श्रीमती मैजु रानी अनि उनको गुरु र अगंरक्षकको आडमा राजनीतिमा सक्रिय थिइन्।

राजेन्द्रलक्ष्मीले भने आफ्नै पतिबाट समेत उपेक्षा भोगी रहेकी थिइन्। राजभवनमा उनको कुनै प्रभाव थिएन। मैजु रानीकै प्रभाव थियो।

चौबीसे राज्यहरूलाई एउटै बनाउने चाहना पुरा नहुँदै विसं १८३१ माघ १ गते पृथ्वीनारायण शाहको निधन भयो। ६ जना केटीहरूको साथमा नरेन्द्रलक्ष्मी सती गइन्।

२३ वर्षको उमेरमा प्रतापसिंह शाह राजा भए। भारदारको दबाबमा चितवन लगायतका केही राज्य भने गाभियो उनको पालामा।

त्यति बेला तनहुँ राज्य अन्तर्गत पहाडमा तनहुँ र भित्री मधेसमा चितवन र तराईमा रामनगर पर्थ्यो। गोरखालीहरूको बारम्बारको आक्रमणमा राज्य जान्छ भनेर तनहुँका राजा हर्ककुमार दत्त सेनले रिसले तनहुँको तराई रामनगरलाई इस्ट इन्डिया कम्पनीअन्तर्गत पारे। 

रामनगर आफ्नो राज्यमा मिलिइसकेकाले अङ्ग्रेजहरू बढेर चितवनमा आउने डर भयो। भारदारहरूको जोडले चितवनलाई प्रताप सिंह शाहले एकीकृत गरे।

तर आफ्नो शासनकालभरि एकीकरणमा अन्य उल्लेख्य काम गरेको इतिहासमा भेटिँदैन।

प्रताप सिंहको मृत्युपछि उदाइन् राजेन्द्रलक्ष्मी

प्रतापसिंह शाह छँदा रानी राजेन्द्रलक्ष्मीको शासनमा कुनै भूमिका थिएन। उनी श्रीमान्बाटै उपेक्षित थिइन्।

‘एकीकरणमा राजाको कुनै चासो नहुनु, अरू नै रानीसँग रमाएका राजा प्रतापसिंह शाहले राजेन्द्रलक्ष्मीलाई उति भाउ दिए जस्तो मैले अध्ययन गरेका सामाग्रीमा भेटिन्नन्’प्राज्ञ पन्तले भने, ‘पछि खोज तथा अनुसन्धान भए भेट्न सकिन्छ। तर आजको मितिसम्म प्रतापसिंह शाहले राजेन्द्रलक्ष्मीलाई उति रुचाएको देखिन्न।’

वि.सं.१८३४ मा राजा प्रतापसिंह शाहको  मृत्यु भयो। रण बहादुर शाह अढाई वर्षको मात्र थिए। राजा प्रतापसिंह शाह बाचुन्जेल उपेक्षा भोगेकी रानी राजेन्द्रलक्ष्मीलाई अकस्मात् श्रीमान् बित्दा राज्य समाल्न गाह्रो भइरहेको थियो।

राजगुरु पण्डित व्रजनाथ पौडेल एक मात्र हर्ताकर्ता थिए। उनी सती धर्मको महत्त्व देखाएर राजेन्द्रलक्ष्मीलाई सती पठाएर बालक राजाको संरक्षकको हैसियतले स्वयं शासन चलाउने दाउमा थिए।

तर अन्य भाइभारदारहरुले बालक राजाकी आमा सती गइरहन आवश्यक छैन भनेर उनलाई जोगाए। पण्डित पौडेलले जवर्जस्ती सती पठाउन सकेनन्। 

रणबहादुर शाह सानै भएकाले भावी राजाकी संरक्षीकाको हैसियतमा शासनसत्ता चलाउने अधिकार महारानी राजेन्द्रलक्ष्मीले पाइन्। उनी नेपालको कार्यकारी प्रमुख भइन्।

बालक रणबहादुर नै विधिपूर्वक नेपालको सिंहासनमा राखिए। उनै पण्डित वज्रनाथ पौडेलले रणबहादुरलाई राजमुकुट परिह्याइदिएका थिए। तर शासनको अधिकार भने राजेन्द्रलक्ष्मीमा आयो।

प्रतापसिंहका भाइ बहादुर शाह देश निकालामा परेर बाहिर थिए। उनले  आफू बित्नु भन्दा अघि नै बहादुर शाहलाई बोलाएका थिए। तर उनी दाजुको मृत्युपछि मात्र आए।

बहादुर शाहले शासन सत्ता आफ्नो हातमा लिने सम्भावना थियो। त्यसैले राजेन्द्रलक्ष्मीले धर्मपत्रमा हस्ताक्षर गराएर मात्र उनलाई राजधानी आउन अनुमति दिइन्।

रानी राजेन्द्रलक्ष्मीले शासन चलाउँदाको सुरुवाती दिनमा बहादुर शाहसँग मिलेरै राज्य चलाएको पाइन्छ। देवर भाउजूको सल्लाहमा अविञ्छीत कामहरू गरेको आरोपमा वज्रनाथ पौडेललाई चारपाटे मुडेर अनि जात पनि पतित तुल्याएर सिन्धुलीको बाटोबाट मुगलान पठाइयो।

प्रतापसिंहको निधन पछि सबैभन्दा क्रोध शैवतान्त्रीक नेवारहरू प्रति गरियो। आफ्ना श्रीमान् तान्त्रिक साधना तथा पञ्च मकारको उपासनाबाट मरेका हुन् भन्ने राजेन्द्रलक्ष्मीलाई लागेको थियो। उनले धेरै आचाजुहरुलाई इन्द्रायणीको पिठमा लगेर काटिन्। तर यिनीहरूको दोष थिएन।

प्रतापसिंह शाह बित्दा मैजु रानी गर्भवती थिइन्। राजकुमार शेरबहादुर शाहीलाई जन्म दिएपछि उनले मैजुरानी सती जान बाध्य बनाइन्।

शासन सत्ता टिकाइराख्न शासक जसको हत्या गर्न पनि पछि नपर्ने नेपालकै राजनीति इतिहासमा हेरे प्रस्ट हुन्छ। राजेन्द्रलक्ष्मीले पनि साम, दाम, दण्ड, भेद सबै प्रयोग गरिन्। सुत्केरी सौतालाई श्रीमान् मरेको धेरै समयपछि पनि सती पठाउनुले पनि यो देखाउँछ नै।

घोडाचढीको सौखिन राजेन्द्रलक्ष्मी

सुरुवाती दिनमा देवर बहादुर शाहसँग मिलेर राज्यको प्रमुख प्रशासक भइन् उनी। सेना र परराष्ट्रको जिम्मा बहादुर शाहले पाएका थिए।

त्यति बेला पनि नेपाली समाज पुरुषतान्त्रीक नै थियो। तर रानीले आफू सक्रिय रहन हर सम्भव प्रयास गरिन्। त्यो बेला पनि उनी सैनिक पोसाक लगाएर घोडा चढेर हिँड्थिन्।

‘नेपाली इतिहासकै शक्तिशाली महिला राजेन्द्रलक्ष्मी थिइन्,’ पन्त भन्छन्, ‘आफ्नो केटी सुसारे सहित घोडा चढेर राज्य चलाउनु त्यो बेला ठुलो कुरा हो।’

नाटककार प्रचण्ड मल्ल पनि घोडा चढेर शासन चलाउनु त्यो बेलाको समयमा अनौठो भएको बताएका थिए।

‘त्यो बेलाको समयमा घोडा चढेर बजार डुल्नु सानो कुरा हैन,’उनले भनेका थिए, ‘यो कुरालाई नाटकमा देखाएको थिएँ।’

बाबुराम आचार्यले भने घोडा चढेर हालीमुहाली गरेको विषयलाई अलग रूपमा चित्रित गरेका छन्। उनले त्यसलाई ऐस आरामसँग दाँजेका छन् न कि बहादुरी।

‘यसै बेला राजेन्द्रलक्ष्मी पनि ऐस आराममा भुलिन्। स्वयं घोडामा सवार हुने, केटी सुसारेहरूलाई घोडामा सवार गराइन्। समाजले नपचाउने उत्ताउला कामहरू यिनीबाट हुन थाले’, उनले लेखेका थिए।

राजेन्द्रलक्ष्मीले सहजै कार्यकारी पद पाएकी हैनन्। न त उनलाई कसैले दयामायाले नै दिएका हुन्। श्रीमान्को अकस्मात् मृत्युपछि बडा गुरुको सती पठाउने षड्यन्त्र चिर्दै, देवर बहादुर शाहलाई सत्ता लिन असफल बनाउँदै अनि सौतालाई सती पठाएर मात्र उनी शक्तिशाली भएकी थिइन्।

तै पनि महिलाले शासन चलाएको त्यो बेलाको समाजले पचाएको थिएन। त्यसैले त इतिहासकार आचार्यले उनीबाट उत्ताउला काम हुन थाले भनेर लेखे। तर त्यसको कारण सर्वजित् रानासँगको उनको प्रेम प्रसङ्ग कारण थियो।

सर्वजित् रानासँगको प्रेम सम्बन्धलाई कारण देखाएर बहादुर शाहले उनलाई चरम दुख दिँदै नजरबन्दमा राखेका थिए। रानासँग राजेन्द्रलक्ष्मीको प्रेम सम्बन्धबारे प्राप्त अभिलेखबाट स्पष्ट नखुल्ने बताउँछन् इतिहासकार पन्त।

उनी विधवा थिइन्। श्रीमान्को निधन भइसकेको थियो। एकल महिला राजेन्द्रलक्ष्मीको कसैसँग प्रेम सम्बन्ध नै भए पनि नौलो त पक्कै हैन नि। राजाका कयौँ भित्रिया हुने विधवाको प्रेमी पनि हुन नहुने?

उनी सैनिक पोसाक लगाएर, घोडचढी गरेर आफ्ना सुसारेहरूलाई पनि आफूजस्तै बनाएर हिँड्थिन् भन्ने पनि पाइन्छ। उनको यो शैलीलाई कतिपयले मन नपराएको हुन सक्छ। त्यसलाई लगेर प्रेम सम्बन्धसँग जोडेको पनि हुनसक्छ।

सर्वजीत राना र रानीको प्रेमप्रसंगको चर्चा चलेपछि पृथ्वीनारायण शाहका विश्वस्त भारदार काजी श्रीहर्षलाई यो कुरा सैह्य भएन। यसै कारण चार जना कमाराहरूलाई भूतपूर्व दलजीत शाहको हात कटाउन लगाइदिए।

महारानी राजेन्द्रलक्ष्मीलाई चाँदीको नेल ठोकेर कडाका साथ नजरबन्दमा राखिएको थियो अनि राजकुमार बहादुर शाह पुन सत्तामा फर्किए।

बहादुर शाह गोरखा गएको बेला राजेन्द्रलक्ष्मीले माइला ससुरा महोद्दाममकीर्ति शाहलाई प्रवासबाट गुप्तरुपले स्वदेशमा झिकाइन्।

बहादुर शाह गोरखा जाँदा यिनकै माइला छोरा बलभद्र शाहलाई आफ्नो अनुपस्थितिमा राज्यको अभिभारा सुम्पिएका थिए। उनी राजेन्द्रलक्ष्मीलाई न्याय दिलाउनुपर्छ भन्ने पक्षमा थिए। राजमातालाई नजरबन्दमा राखिनु अन्याय भयो भन्ने ठानेका उनले विसं १८३६ असारमा १० मा नजरबन्दबाट मुक्त गराए। बहादुर शाह पुन पलायन भए।

अनि व्यभिचारको पोल लगाउने चार केटाहरू काटिए। नचाहिँदो कुरा बोलेको भन्दै श्रीहर्षको मुख डामियो। भूतपूर्व चौतारा दलजित शाहलाई देश निकाला गरियो।

मतभिन्नता बढेपछि सर्वजीत रानाको सहयोगमा उनले बहादुर शाहलाई बन्दी बनाइन्। राजनीतिक शक्ति एक्लै लिइन्। तर केही महिनापछि नै बहादुर शाह मुक्त भए। तर दुबैबिच शक्तिसघंर्ष भने चलिरह्यो।

वि.सं.१८३४ देखि १९४२ सम्मको राजेन्द्रलक्ष्मी युग

इतिहासकार बाबुराम आचार्यले बहादुर शाहलाई नेतृत्व गर्न दिएको भए एकीकरणको काम द्रुत गतिमा हुने आफ्नो पुस्तकमा उल्लेख गरेका छन्।

‘देवर भाउजूको सिद्धान्तमा नै मत भिन्नता रहेको थियो। बहादुर शाह पिताको बाटो पछ्याउँदै पश्चिममा काली गण्डकी नदीसम्मको चौबीसे राज्यहरूलाई गाभ्ने हतारो गरेका थिए। राजेन्द्रलक्ष्मी भने लडाई झगडा गर्ने पक्षमा थिइनन्। आफ्नो छोरा ठुलो हुन्छ अनि लडाइ गर्छ भन्ने उनको धारणा रहेको थियो’ उनले लेखेका छन्।

तर इतिहासकार पन्त राजेन्द्रलक्ष्मीको मृत्यु हुनुभन्दा अघि नेपालको सिमाना पश्चिममा काली गण्डकीसम्म पुगेको र यसमा उनको ठुलो योगदान रहेको बताउँछन्।

हुन पनि प्रतापसिंह शाहको निधन पछि राजेन्द्रलक्ष्मीको निधन हुनु पूर्वसम्म  उनी र देवर बहादुर शाहको आन्तरिक झगडाका कारण नेपाल राज्य विस्तारको कामको रफ्तार केही सुस्त देखिन्छ। तर उनको नायवीकालमा लमजुङ, तनहुँ, कास्की  लगायतका राज्य नेपाल राज्यमा गाभिनु कम उपलब्धि पक्कै हैन।

पृथ्वीनारायणको शेषपछि राजेन्द्रलक्ष्मी र बहादुर शाहले पश्चिमतिर बढ्ने योजना बनाएका थिए। तर उल्लेख्य सफलता आएन।

विसं १८३९ मा भएको लमजुङ विजय भने उल्लेख्य रह्यो। तर अरू चौबिसी र बाइसी राज्यहरू मिली प्रत्याक्रमणमा लमजुङ उकास्लान् कि भन्ने डर भने थियो। त्यस्तो हुन नपाओस् भनेर कास्कीका राजा सिद्धिनारायण शाहलाई डर त्रास देखाइ धर्मपुत्र लेखाएर त्यो सम्भावनाको अन्त्य गरियो।

लमजुङ सामारीक दृष्टिले गोरखाभन्दा बलियो राजा कहलिएको थियो। हुन पनि अनेक पटक लमजुङले गोरखालाई आच्छु आच्छु पारेको थियो।

तर १८३९ सालमा लमजुङले हारेपछि भने कास्कीका राजा पनि गले। पृथ्वीनारायण बितेको ३ दिनपछि कास्कीका राजाले पृथ्वीनारायणका माहिला भाइलाई उक्साएथेँ। र गोरखाको राज्य गर्न भनेका थिए।

कास्कीका राजा काठमाडौँ गएर विभिन्न सर्तहरू मान्न तत्पर भएका थिए। लमजुङ राज्य एकीकृत भएपछि कास्कीसँग पनि सम्झौता भयो। १८४२ साउनमा क्षयरोगका कारण राजेन्द्रलक्ष्मीको निधन भयो।

इतिहासकार दिनेशराज पन्त राजेन्द्रलक्ष्मीले शासन चलाएको ८ वर्षलाई राजेन्द्रलक्ष्मीको युग भने पनि फरक नपर्ने बताउँछन्।

‘राजेन्द्रलक्ष्मीले आफ्नो कार्यकाल भरि आफ्नो सक्दो काम गरेको इतिहासबाट प्रस्टिन्छ,’उनी भन्छन्,‘८ वर्षको समयलाई राजेन्द्रलक्ष्मी युग भने पनि हुन्छ। नेपालको एकीकरणमा पृथ्वीनारायण शाहपछि राजेन्द्रलक्ष्मीको महत्त्वपूर्ण योगदान छ।’

तर धेरै इतिहासकारहरूले उनलाई साहसी रानीको रूपमा हैन खलनायकको रूपमा प्रस्तुत गरे। उनको वीरता स्वीकार गर्न सकेनन्।

समय बदलियो। शाह वंश नै असत्य भइसक्यो। अहिले पनि नेपाली समाजमा राज्यलक्ष्मीहरू नभएका हैनन्। तर उनीहरूलाई अहिले पनि जवर्जस्ती खलनायकै बनाउने प्रयास जारी छ।

सन्दर्भ सूची 
१.  आचार्य, बाबुराम। वि.सं.२०६० अश्विन ५ गते। श्री ५ प्रतापसिंह शाह। काठमाडौं। अन्तर्राष्ट्रिय छापाखाना प्राली, सम्पादक तथा प्रशासक प्राध्यापक श्रीकृष्ण आचार्य।
२.  पन्त, दिनेशराज। २०७६। नेपाल एकीकरणमा राजेन्द्र लक्ष्मीको योगदान। नागरिक परिवार, चैत्र २६।
३.  पन्त, नयराज।  २०१६ मंसिर। इतिहास संशोधनको प्रमाण प्रमेय (पहिलो भाग)।काठमाडौं : जगदम्बा प्रकाशन।
४.  प्रकाशन मिति २०३७ ग्रन्थकार धनबज्र बज्राचार्य, टेकबहादुर श्रेष्ठ पहिलो भाग शाहकलका इतिहास प्रकाशक नेपाल र एसीयाली अनुसन्धान केन्द्र त्रिभुवन विश्वविद्यालय कीर्तिपुर।
५. आचार्य, बाबुराम। नेपाल, तिब्बत र चीन। २०७४। फाइनप्रिन्ट।
६.  नेपाल, ज्ञानमणि। नेपाल निरुत्त। वि.सं. २०४० काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान।
७.  पन्त, दिनेश। २०७६। लिच्छविकालमा राज्यवतीले जोगाएको नेपाल, नागरिक परिवार, ३० फागुन।
९. पुस्तकः लेभी, सिल्भाँ। सन् २००७। नेपाल अधिराज्यका इतिहास। काठमाडौं : हिमाल किताब।
१०. मानान्धर, त्रिरत्न। नेपालको इतिहासमा जंगबहादुर। २०७७ काठमाडौं : मञ्जरी पब्लिकेशन।

फागुन २८, २०७९ आइतबार १६:४३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।