‘प्रतापसिंह शाहको यौनकाण्डको बखान गर्ने समाज राजेन्द्रलक्ष्मीको बहादुरी उल्लेख गर्न डराउँछ’

‘प्रतापसिंह शाहको यौनकाण्डको बखान गर्ने समाज राजेन्द्रलक्ष्मीको बहादुरी उल्लेख गर्न डराउँछ’

विद्यालय तह पढ्दा राजेन्द्रलक्ष्मीबारे केही पढाइ हुन्थ्यो। उनको योगदानबारे भन्दा पनि उनले गर्दा बहादुर शाहले चाहे जति देशको सिमाना बढाउन नसकेको भनेर व्याख्या थियो। यद्यपि उनले लमजुङ अनि तनहुँ जिल्लालाई भने एकीकरण गरिन् भनेर पढाइन्थ्यो।

तत्कालीन प्रधानमन्त्री जगंबहादुर एकदमै यौनपिपासु।बम्बईबाट राम्रा-राम्रा महिलाहरू मगाउने मात्रै हैन, बेलायत गएको बेला २ लाख ५०  हजार पाउण्ड तिरेर बेलायतको नामी नगरबधुसँग एक रात बिताएका रहेछन्।

त्यतिबेला लाग्थ्यो राजेन्द्रलक्ष्मीलाई किन जान्ने हुन परेको होला? खुरुक्क बहादुर शाहलाई छोडिदिएको भए त भइहाल्थ्यो नि! छोराको नायबी भएर किन बस्नुपरेको? बहादुर शाह भइदिएको भए यो देशको सिमाना कहाँसम्म पुग्थ्यो होला? भारत भन्दा ठूलै पो हुन्थ्यौँ कि? यति सोच्दा पनि मनमा लाग्थ्यो भारतमा झाँसीकी रानीले लडाइँ लड्न सक्ने हाम्रो देशमा चाहिँ कुनै रानीले लडाइँको नेतृत्व गर्न किन नसकेको होला?

नेपाली महिलाको पनि यस्तै इतिहास भइदिए कति गजब हुन्थ्यो भन्ने त लाग्थ्यो नै। अनि कहिलेकाही राजेन्द्रलक्ष्मीलाई झाँसीकै रानीसँग तुलना पनि गर्थेँ म। उनीबारे मात्र लेखिएको पुस्तक हातमा परेको थिएन। पाठ्यपुस्तकमा जति थियो त्यती नै पढियो।

त्यतिबेला नालापानीमा महिलाहरू पनि लडेका रे भन्दा महिलाले पनि त यो देश जोगाएका रहेछन् नि भन्ने लाग्थ्यो। मनमा केही सन्तोष हुन्थ्यो।

पछि इतिहासका पानामा महिला पात्र खोज्दै जाँदा रानीहरूबारे पनि लेखिएको भेटियो।  केही थान इतिहासका पुस्तकहरू पढ्दा लाग्यो,  महिलाबारे लेख्न त लेखियो तर उनीहरूको बहादुरी अनि चार्तुयतालाई पुरै नजरअन्दाज गरियो।

यौन पिपासु शासकको कुरा जोडतोडका साथ लेखियो तर शासन गरेका महिलाको योगदानलाई त्यति धेरै प्राथमिकता दिएर लेखिएन। शाहकालमा केही रानीहरू सत्ताको हर्ताकर्ता भए। तर, राणाकालमा भने महिलाहरू शासकबाटै बेचिन्थे।

ज्ञानमणि नेपालको पुस्तक ‘नेपाल निरुत्त’ पढ्दै जाँदा थाहा भयो तत्कालीन प्रधानमन्त्री जगंबहादुर राणाको पालामा नैनशोभा नामकी एक महिला तिब्बतमा बेचिएकी रहेछिन्। त्यो पनि सरकारी रोहबरमा नै।

जगंबहदुर एकदमै यौनपिपासु। उनले भारतको बम्बईबाट राम्रा-राम्रा महिलाहरू मगाउने, पटना गएको बेलामा नगरबधुसँग रात बिताउने रहेछन्।  बेलायत गएको बेला २ लाख ५०  हजार पाउण्ड तिरेर बेलायतको नामी नगरबधुसँग एक रात बिताएका कुरा नेपालले उल्लेख गरेका छन्।

नेपालका प्रान्तपतिले उनलाई राम्रा केटी पठाउनुपर्दथ्यो। नपठाए दण्ड जरिवाना गरिन्थ्यो। जगंबहादुरको पालामा जितमानसिंह वकील ल्हासामा थिए। नेपाल सरकारको स्वीकृतिमा नैनशोभालाई बिक्री गर्न ल्हासा पुर्याइएको थियो। ल्हासामा केटी बेच्न लाज हुने हुँदा खम्पा डुकुपा व्यापारीहरूलाई बेच्थे।

लमजुङ, कास्की र तनहुँ लगायतका दर्जनभन्दा बढि राज्य गोरखा राज्यमा विलय गराएकी राजेन्द्रलक्ष्मी कसकी छोरी हुन?, उनको आनीबानी स्वभाव राजनीतिक चातुर्यताबारे किन खुल्दैन?

१९२४ मा जगंबहादुरले थापाथलीकी नैनशोभालाई भोटमा लगेर बेच्नु भनि आदेश दिएका थिए। उनको साथमा दुई सिपाही पठाइएको थियो।

नैनशोभालाई कुतीमा पुर्याएपछि त्यहाँको ढेवा झुम्पुनले विनाअनुमति जान नदिने बताए। त्यतिबेला महिलालाई तिब्बतमा लैजान बन्देज थियो। यो खबर ल्हासा ४ काजीकोमा पुग्यो।

उनीहरूले को?, किन अनि के सबै सोधेर पत्र लेखे। काठमाडौंबाट चिफ रणोद्दीप सिंहले त्यो केटी चाँडै बेच्नु, बेचेपछि त्यो केटी यतिमा बिक्री भई भनि खबर लेख्नु, नबिकुन्जेल साथैमा राख्नु, कतै भागी नासी जान नपाओस् भनि  ल्हासास्थित जितमानसिंह कार्कीलाई चिठी लेखे।

त्यस पत्रमा थापाथलीको केटी हो भनि साँचो कुरा नभनी वकिलको कमारी हो भनि झुट कुरा लेखेर पठाइयो। वकिलले पनि ढाँटेर कुतीका काजीलाई पत्र लेखेका थिए। उनी बेचिइन् कि बेचिइनन् पुस्तकमा छैन। तर, उनलाई बेच्नको लागि तिब्बत पुर्याएको भने प्रष्ट छ।

यो पढेपछि लाग्यो मान्छे नै बेच्ने नेपाली शाषकले महिलालाई कुन दर्जाको व्यवहार गर्दारहेछन् प्रष्ट भइहाल्यो। राणाकाल भन्दाअघि जति पनि महिला राजनीतिमा सक्रिय रहे राणाकालमा त्यति पनि नहुनुले राणाकालमा महिलाको हैसियत ‘वस्तु’, ‘माल’ बाहेक माथि थिएन भन्ने प्रष्ट हुन्छ।

राणाभन्दा अघि भने, केही रानीले छोरा सानै भएको हुँदा या छोरा नभएको हुँदा देशको शासन हातमा लिएको पुराना दस्तावेजहरू पढ्दा खुल्छ। त्यतिबेला शासन हातमा लिएका रानीहरूको शासन गर्ने गुणबारे भने धेरै उल्लेख गरिएको पाइँदैन।

राजा रणबहादुर शाहले विसं १८५५ मा डेढ वर्षका छोरा गीवार्णयुद्धविक्रम शाहलाई गद्दीमा राखेका थिए। आफू स्वामी हुने घोषणा गरेका राजाले जेठी रानी राजराजेश्वरीलाई विशेष अधिकारसहित राजाको नायवी भएर शासन सञ्चालनको अधिकार सुम्पेका थिए।

महिलाको कुरा सुन्ने-नकाट्ने बित्तिक्कै राज्यशक्ति शासकको हातबाट गुम्छ भन्ने नजिर किन बसालियो?

उनी आफैँ पुन: सत्तामा फर्किएपछि राजराजेश्वरीलाई सिन्धुपाल्चोकको हेलम्बु निवार्सनमा पठाउँछन्। पतिव्रता नायवी काल सफलतापूर्वक निर्वाह गरेकी राजराजेश्वरीलाई कारबाही गरी हेलम्बु पुर्याइएपनि राजा रणबहादुर शाहको निधनपछि काठमाडौं ल्याएर सती जान बाध्य पारिन्छ।

यो घटनाले राजाको ‘निगाहा’ले उनीहरूलाई केही समय शासन चलाउन ‘दिएपनि’ सामाजिक कुसंस्कार भने महिलाहरू माथि थोपरिन्थ्यो भन्ने पुष्टि गर्छ। आफ्नो ज्ञानले शासन चलाउन भन्दा पनि अरुले अर्हाएको जसरी गर्ने कठपुतली बनाइन्थ्यो।

मानदेवको इतिहास लेखिँदै गर्दा उनकी आमा राज्यवती जसले त्यतिबेला राज्यको सैनिक चलाउने जिम्मा लिएकी थिइन्। उनको गुण उल्लेख गरिएको दस्ताबेज त छ तर उनको चातुर्यताको उल्लेख छैन।

पृथ्वीनारायण शाहकी बुहारी प्रतापसिंह शाहकी श्रीमती मात्र नभएर पृथ्वीनारायण शाहले राज्य विस्तार गर्दा गाभ्नसमेत गाह्रो मानिएको राज्य लमजुङ, कास्की र तनहुँ लगायतका दर्जनभन्दा बढि राज्य गोरखा राज्यमा विलय गराएकी राजेन्द्रलक्ष्मी कसकी छोरी हुन?, उनको आनीबानी स्वभाव राजनीतिक चातुर्यताबारे किन खुल्दैन?

पृथ्वीनारायण शाहकी जेठिआमा चन्द्रप्रभावती, जसले राज्य सञ्चालन गरेकी थिइन्। उनीबारे पनि उनी पृथ्वीनारायण शाहकी जेठी आमा थिइन् र केही वर्ष गोरखा राज्य चलाएकी थिइन्। त्यो भन्दाअघि उनी के कस्तो अवस्थामा थिइन्। कुनै ऐतिहासिक दस्तावेजमा खुल्दैन।

महिलाको कामलाई नेतृत्वको दृष्टिकोणले हैन सहयोगीको रूपमा हेरियो। असल परिणाम आए पुरुषले जस पाए। पुरुषको खराबीमा महिलालाई दोष लगाइयो।

१९०३ मा सुरू भएको राणा शासन सुरू हुनुमा तत्कालीन राजा राजेन्द्र विक्रम शाहकी कान्छी श्रीमती राज्यलक्ष्मीदेवीबाट हस्तक्षेप गरेको बताइन्छ।

राजाले रानीले भनेको ‘सबै कुरा मान्ने’ गर्दथे। जसकारण जगंबहादुरले कोत पर्व गर्न सजिलो भयो भनि अझै पनि भनिन्छ। महिलाको कुरा सुन्ने-नकाट्ने बित्तिक्कै राज्यशक्ति शासकको हातबाट गुम्छ भन्ने नजिर किन बसालियो?

राजेन्द्रविक्रमको शासन गर्ने शैली नभएको, योग्यता नभएको भन्ने मसिनो आवाज समेत इतिहासमा पाइन्न। इतिहासमा पुरुषको यौनपिपासु स्वभावलाई सहजै ढाकछेप गर्ने र महिलाको चातुर्यलाई पुरै अस्वीकार किन गरियो? आजको पुस्ताले इतिहासको व्याख्या गर्नेलाई सोध्ने प्रश्न यही हो।

आजको मितिसम्म महिलाको कामलाई नेतृत्वको दृष्टिकोणले हैन केवल सहयोगीको रूपमा हेरियो। असल परिणाम आए पुरुषले जस पाए। पुरुषको खराबीमा महिलालाई दोष लगाइयो।
आम नागरिकको घर बन्नुमा पनि बा अनि आमाको उतिकै भूमिका हुन्छ। तर बाको बंशावली लेखिन्छ, आमाको लेखिन्न, किन?

सरकारले पनि बंशवाली बनाउँछ। हामीले बोक्ने नागरिकता सरकारी बंशावली नै त हो। तर त्यसमा पनि बाको नाम र बाको पनि बाको नाम लेखिन्छ। नागरिकतामा आमाको नाम त लेखिँदैन भने हजुरआमाको लेख्ने त कुरै भएन।

हाम्रा बा कस्का सन्तान हुन्? यिनको बंश कहाँबाट आएको हो भन्ने प्रष्ट छ। तर, उनीसँगै आएकी हजुरआमा कहाँ बाट आएकी हुन्, त्यहाँभन्दा अघिकी बुढी हजुरआमा को हो भन्ने खुल्न गाह्रो हुन्छ। आखिर किन यस्तो छ?

पुरुषहरूको यौन चाहानालाई मुक्तकण्ठले प्रशंसा गर्ने हाम्रो समाज महिलाको उही चाहनालाई उत्ताउलो देख्छ।

हामी धेरैलाई आमा, हजुरआमा र हजुरआमाकी आमाबारे धेरथोर थाहा छ। त्यहाँ भन्दामाथि हामी जान सक्दैनौँ। प्रयास गर्दा पनि केही भेटिन्न। बा को बारे धेरै थाहा छ। किनभने बाको बंशावली छ। उनको पुस्ताबारे खोज्ने हो भने कहाँबाट आएको, कुन धर्म मानेका, कति पढेका सबै भेट्टाउँदा आमाको केही भेटिँदैन किन?

किनकी घर होस् या राज्य दुवैको नजरमा महिलाहरू सहयोगी मात्र हुन्। उनीहरू नेतृत्वकर्ता हैनन्। उनीहरू पुरुष समान बराबर हुनै सक्दैनन्। जब बराबर हुनै सक्दैनन् त उनकीहरूको बंशावली किन लेखिनुपर्यो? सहयोगी अझ दासीको पनि कुनै इतिहास हुन्छ र?

पुरुषहरूको यौन चाहानालाई मुक्तकण्ठले प्रशंसा गर्ने हाम्रो समाज महिलाको उही चाहनालाई उत्ताउलो देख्छ। पुरुषको पढाइलाई विद्धता ठान्ने समाज महिलाको पढाइलाई अझै पनि विद्धता स्वीकार्न हच्कन्छ।

यस्तोमा आमाको इतिहास खोज्नु, मेरो देशको एकचोटी पनि कार्यकारी नेतृत्व गर्न नपाएका महिलाको इतिहास खोज्नुको सार के होला र!

प्रस्ट छ, प्रताप सिंह शाहको यौनकाण्डबारे चर्चा गर्ने नेपाली समाज राजेन्द्रलक्ष्मीको बहादुरीको प्रशंसा गर्न डराउँछ यो पाराको समाजमा महिलाको भूमिका खोज्नुको के अर्थ!
क्रमश:

सन्दर्भ सूची
१.  आचार्य, बाबुराम। २०६० अश्विन ५ गते। श्री ५ प्रतापसिंह शाह। काठमाडौं। अन्तर्राष्ट्रिय छापाखाना प्रालि, सम्पादक तथा प्रशासक प्राध्यापक श्रीकृष्ण आचार्य।
२.  पन्त, दिनेशराज। २०७६। नेपाल ऐकीकरणमा  राजेन्द्र लक्ष्मीको योगदान। नागरिक परिवार, चैत्र २६
३.  पन्त, नयराज। २०१६ मंसिर। इतिहास संशोधनको प्रमाण प्रमेय (पहिलो भाग)। काठमाडौं: जगदम्बा प्रकाशन ।
४.  प्रकाशन मिति २०३७। ग्रन्थकार धनबज्र बज्राचार्य, टेक बहादुर श्रेष्ठ पहिलो भाग शाहकलका इतिहास  प्रकाशक नेपाल र एसीयाली अनुसन्धान केन्द्र त्रिभुवन विश्वविद्यालय कीर्तिपुर। 
५.  आचार्य, बाबुराम। नेपाल, तिब्बत र चीन ।२०७४ । फाइनप्रिन्ट 
६.  नेपाल, ज्ञानमणी। नेपाल निरुत्त। विसं २०४० काठमाडौं: नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
७.  पन्त, दिनेश। २०७६। लिच्छविकालमा राज्यवतीले जोगाएको नेपाल, नागरिक परिवार,३० फागुन   
९. पुस्तकः लेभी, सिल्भाँ। सन् २००७। नेपाल अधिराज्यका इतिहास । काठमाडौं: हिमाल किताब 
१०. मानन्धर, त्रिरत्न। नेपालको इतिहासमा जंगबहादुर। २०७७। काठमाण्डौं: मञ्जरी पब्लिकेशन

२४ फागुन, २०७९, १२:४७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।