बिरामी खोज्दै घरदैलोमा पुगे इनरुवा अस्पतालका डाक्टरहरू

बिरामी खोज्दै घरदैलोमा पुगे इनरुवा अस्पतालका डाक्टरहरू

सुनसरी : सुनसरी इनरुवाको हकमामा जिल्ला अस्पतालका डाक्टरको टोलीले स्वास्थ्य सेवाको प्रवाहलाई अभियानका रुपमा अघि बढाएको छ।

गाउँघरमै पुगेर डाक्टरको टोलीले बिरामीको पहिचान गरी उपचार तथा परामर्श सेवा उपलब्ध गराउने अभियान सुरु गरेको हो।

मेसु डाक्टर देवराज घिमिरेले थालेको ‘गाउँघरमा डाक्टर’ अभियानलाई अस्पतालका अन्य डाक्टरले समेत साथ दिएका छन्। जसले जिल्लाका विकट र दूरदराजका टोल र बस्तीमा डाक्टरी सेवाको उपलब्धतालाई सहज बनाइदिएको छ।

स्वास्थ्यमा सबैको समान पहुँचको मुल उद्देश्य राखिएको अभियानलाई हरेक हप्ताको शनिबार सञ्चालन गरिने इनरुवा अस्पतालले जनाएको छ।

डाक्टर घिमिरेका अनुसार अभियानले विशेषगरी गरिब, दलित र विपन्न समुदायका मानिसलाई स्वास्थ्य सेवाको पहुँचमा जोड्नेछ।

उनले दीर्घरोगीहरुलाई, उपचार गर्न नसक्नेलाई गाउँमै पुगेर उपचार गरेको बताए।

घरदैलोमै उपचार सम्भव हुनेलाई ठाउँको ठाउँमै उपचार सेवा दिने गरी थालिएको यस अभियान बिरामीलाई उपचारका लागि अस्पताल सम्म पुग्ने बानीको विकास गर्ने तर्फ केन्द्रित रहेको बताइएको छ।

इनरुवा अस्पतालले गाउँघरमा डाक्टर अभियानलाई सर्वसाधारण लक्षित स्वास्थ्य सचेतना र सावधानीको खाँचोका रुपमा अघि बढाएको हो।

२८ फागुन, २०७९, १०:३९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।