पुरुषलाई उपराष्ट्रपति बनाउन १० दल जालझेलमा लागेको ओलीको आरोप

पुरुषलाई उपराष्ट्रपति बनाउन १० दल जालझेलमा लागेको ओलीको आरोप

ललितपुर : उपराष्ट्रपतिमा पार्टीबाट अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनले जालझेल गर्न खोजेको आरोप लगाए।

संविधान अनुसार राष्ट्रपति जुन लिङ्ग वा समुदायको निर्वाचित हुन्छन् उपराष्ट्रपतिको हकमा फरक लिङ्ग वा समुदायको हुनुपर्ने प्रावधान छ।

तर शनिवार अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको बैठकमा बोल्दै उनले राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि गठबन्धनले फरक समुदायको भनेर पुरुष नै उम्मेदवारी दिएर जालझेल गरेको टिप्पणी गरे।

उनले स्थानीय तहसँगै संसद्मा सभामुख र उपसभामुख अनि राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष फरक लिङ्गको हुनुपर्ने प्रावधान जस्तै राष्ट्रपति र उपराष्ट्रपति पनि फरक लिङ्गको हुनुपर्ने तर्क गरेका थिए।

उनले दश दलीय गठबन्धन महिला विरोधी भएको दाबी समेत गरे। संविधानले नै राष्ट्रपति र उपराष्ट्रपति फरक समुदाय वा लिङ्ग भनेको भन्दै उनले उपराष्ट्रपतिमा महिला नै हुनुपर्नेमा जोड दिए।

उनले उपराष्ट्रपति पुरुष बनाउन दश दलीय गठबन्धनले जालझेल गरिरहेको र अर्को समुदायको भनेर पुरुषलाई बनाउन खोजेको बताए।

उनले एमाले उम्मेदवार शाक्यसँग एक्लै लड्न नसकेर दश दलीय गठबन्धन बनाएको टिप्पणी समेत गरे। जबकि यो गठबन्धन राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकै लागि बनेको थियो।

राष्ट्रपति निर्वाचनताका नौ दल एकातिर थिए। उपराष्ट्रपति निर्वाचनमा प्रभु साहको दल समेत जोडिएको थियो।

२७ फागुन, २०७९, २०:०४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।