निर्वाचनमा अन्तरघात गर्नेहरूसँग जिल्ला-जिल्ला पुगेर स्पष्टीकरण लिँदै जसपा

निर्वाचनमा अन्तरघात गर्नेहरूसँग जिल्ला-जिल्ला पुगेर स्पष्टीकरण लिँदै जसपा

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचनमा अन्तरघात गर्नेहरूसँग स्पष्टीकरण सोध्ने कामलाई तीव्रता दिएको छ। 
पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य शिवलाल थापाको संयोजकत्वको छानबिन समितिले जिल्ला जिल्लामा पुगी निर्वाचनको समयमा पार्टी हितविपरीत कार्य गरेको आरोप लागेका नेता, कार्यकर्ताहरूको विवरण सङ्कलन गर्ने र बयान लिने कार्य गरिरहेको छ।

समितिको टोलीले मोरङ, सप्तरी, सिराहा, महोत्तरी र धनुषामा पुगी आरोपितहरूबारे सत्यतथ्य बुझ्ने कार्य गरिरहेको छ। टोली बुधबार सर्लाहीको मलङ्गवा पुगेको थियो।

पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्यदेखि स्थानीय तहका नेताहरूमाथि निर्वाचनमा अन्तरघातको आरोप लागेको छ। 
पार्टीको राजनीतिक समितिको बैठकले छानबिन समितिलाई आफ्नो कार्य सम्पन्न गर्न माघ मसान्तसम्मको समय सीमा दिएको छ।

१९ माघ, २०७९, ०८:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।