शुभम् पावरको आईपीओ खुला

शुभम् पावरको आईपीओ खुला

काठमाडौं: शुभम् पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सयका दरले चार लाख ८१ हजार आठ सय ८२ कित्ता आइपीओ निष्काशन गरेको हो।

आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरी बिक्री नभएका एक लाख ८० हजार पाँच सय ८० कित्तासहित कूल पाँच लाख ८० हजार पाँच सय ८० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न कम्पनीले छुट्याएको थियो। जसमध्ये ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र २९ हजार ३० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिनुका साथै ११ हजार ६ सय १० कित्ता शेयर कर्मचारीलाई छुट्याइएको थियो।

बाँकी रहेका चार लाख ८१ हजार आठ सय ८२ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ।

सर्वसाधारणले यही माघ २२ सम्म १० कित्तादेखि पाँच हजार कित्तासम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ भने केयर रेटिङ नेपालले ‘केयरएनपी बीबी प्लस आइएस’ प्रमाणपत्र प्रदान गरेको छ।

कम्पनीले सङ्खुवासभाको चैनपुर नगरपालिका–९ स्थित पिलुवा खोलामा ‘पिलुवा खोला साना जलविद्युत् आयोजना’बाट २०६८ साउन १ देखि नौ सय ९० किलोवाट क्षमताको जलविद्युत् उत्पादन गरिरहेको छ।

१८ माघ, २०७९, १४:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।