बलात्कार आरोपी लामिछानेले सफाइ पाए र? निलम्बन फुकुवाको आधार के?

बलात्कार आरोपी लामिछानेले सफाइ पाए र? निलम्बन फुकुवाको आधार के?

काठमाडौं : मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गर्यो। सात सदस्यले बहिष्कार गरेको पोखरामा बसेको क्यान कार्यसमितिको बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गर्यो।

१७ वर्षीया नाबालिग किशोरी बलात्कारको आरोप लागेका सन्दीपले क्रिकेट खेल्न पाउँ भन्दै क्यानमा निवेदन दिएपछि उनीमाथि लागेको निलम्बन क्यानले फुकुवा गर्यो। तर किन र के आधारमा गर्याे भन्ने विस्तृत विवरण सार्वजनिक भएकाे छैन। यद्यपि उनीमाथिको निलम्बन फुकवालाई लिएर सार्वजनिक बहस भने सुरु हुन थालिसकेको छ।

भदौ २१ गते नाबालिग बालिकाले आफ्ना आफन्तको सहयोगमा लामिछानेविरुद्ध प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिइन्। लगत्तै प्रहरीले अनुसन्धान अघि बढायो र क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) फुटेजसहितका केही प्रमाण संकलन गर्यो र पक्राउका लागि जिल्ला अदालतबाट अनुमति माग्यो।

जिल्ला अदालत, काठमाडौंले भदौ २३ गते उनीविरुद्ध पक्राउको अनुमति दियो। अदालतले पक्राउको अनुमति दिएसँगै क्यानको कार्यसमिति बैठक बस्यो र लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गर्ने निर्णय गर्यो। उनी त्यसबेला राष्ट्रिय टोलीको कप्तान थिए।

अदालतको इजलासमा सेलिब्रिटी सिन्ड्रोमको छायाँ, नाबालिग बलात्कारमा प्रमाणमाथि पीडकको हैसियत हावी

लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिए पनि उनी भने अमेरिकामा लुकेर बसिरहे। जब प्रहरीले डिफ्युजन नोटिस जारी गर्यो, त्यसपछि मात्रै उनी बाध्य भएर असोज २० गते नेपाल फर्किए। उनलाई प्रहरीले त्रिभुवन विमानस्थलबाटै हतकडी लगाएर प्रहरी वृत्त, गौशाला पुर्यायो।

नेपाल आउनुअघि नै अनुसन्धान अगाडि बढाइसकेको प्रहरीले लामिछाने नेपाल आउनेबित्तिकै थप अनुसन्धानलाई तीव्रता दियो र बयानसमेत लियो। सोहीअनुसार उनीविरुद्ध जिल्ला अदालत, काठमाडौंमा कात्तिक १४ गते मुद्दा दायर भयो। इजलास तोकियो। बहस भयो। कात्तिक २८ गते भएको थुनछेक बहसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो।

तर, सन्दीप पक्षले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत, पाटनको ढोका ढकढक्यायो। उच्च अदालतमा पटक–पटकको पेशी तोकिए पनि सुनुवाइ भएन। पुस २८ गते पेशी तोकियो। न्यायधीशद्वय ध्रुवराव नन्द र रमेश ढकालको संयुक्त इजलासमा लामिछानेको मुद्दा पर्यो। दुवै पक्षको बहस सुनेपछि न्यायाधीशद्वयले जिल्ला अदालतको आदेशलाई उल्ट्याउँदै शर्तसहित २० लाख धरौटीमा उनलाई थुनामुक्त गर्न आदेश दिए।

यद्यपि उनीविरुद्धको मुद्दा भने अझै कायमै छ। उनी थुनामुक्त भएका हुन्, सफाइ पाएका होइनन्। मुद्दाको किनारा नलागेसम्म उनले देश छाड्न नपाउनेसहित अन्य विभिन्न पाँच शर्त राखियो। ती शर्त उल्लंघन गरे उनलाई पुनः थुनामा राख्न आदेश दिइयो। बलात्कार आरोपीलाई छाड्ने आदेश आएसँगै कतिपयले आश्चर्य व्यक्त गरे। आदेशमा कानूनभन्दा बढि भावना मिसिएको भन्दै प्रश्नसमेत उठ्यो।

क्यानले मंगलबार अबेर राति निम्लबन फुकुवा गरेसँगै क्यानमाथि समेत प्रश्न उठ्न थालेको छ। लामिछानेविरुद्ध बलात्कार आरोपमा किटानी जाहेरी परेलगत्तै निलम्बनको निर्णय गरेको क्यानले के आधारमा निलम्बन फुकुवा गर्यो?  लामिछाने अहिले पनि आरोपी नै हुन्। उनलाई बलात्कार आरोपमा अदालतले सफाइ दिएको होइन, जेलबाहिर बसेर मुद्दा लड्न अनुमति मात्र दिएको हो, त्यो पनि २० लाख रूपैयाँ धरौटी र विभिन्न शर्तसहित।

पेशी स्थगित गर्दागर्दै चौथो पेशीमा आयो सन्दीप अनुकूल आदेश तर कडा छन् सर्त

आरोपी अवस्थामै फुकुवा गर्ने हो भने लामिछानेमाथि आरोप मात्र लागेको अवस्थामा किन निलम्बन गर्यो? आरोपी अवस्थामा निलम्बन गरेको क्यानले सोही अवस्थामै निलम्बन फुकुवा गर्ने निर्णयले उसको अपरिपक्वता स्पष्ट देखिन्छ। क्यानको निर्णयमाथि प्रश्न किन नउठाउने?

बलात्कारको आरोप लागे पनि सन्दीपमाथि क्यान सफ्ट देखिन्छ। सुरूदेखि नै सन्दीपलाई कानूनी र अन्य सहयोग गर्ने बताउँदै आएको क्यानले अदातलले थुनामुक्त गर्ने आदेश दिएसँगै टीममै फर्काउन चाहेको देखियो।

केहीदिन अघि उसले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा फर्काउने विषयमा छलफल भइरहेको बताएका थिए। आईसीसीबाट राय मागिएको र आईसीसीले पनि नेपालको कानूनले दिएको अवस्थामा अघि बढ्न सुझाव दिएको उनले त्यहाँ बताएका थिए।

यद्यपि फौजदारी अभियोग लागेको राष्ट्रिय टिममा फर्काउन मिल्ने वा नमिल्ने भन्नेबारे स्पष्ट कानूनसमेत छैन।

१८ माघ, २०७९, ०९:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।