२० लाख रुपैयाँ धरौटी र ५ वटा सर्तसहित थुनामुक्त भए सन्दीप लामिछाने

२० लाख रुपैयाँ धरौटी र ५ वटा सर्तसहित थुनामुक्त भए सन्दीप लामिछाने
तस्बिरः नेपाली लेजेण्डस् फेसबुक

काठमाडौंः नाबालिग बलात्कारको अभियोगमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त भएका छन्। केन्द्रीय कारागार, सुन्धारामा रहेका लामिछानेलाई आज (शुक्रबार) कारागारबाट निकालिएकाे हाे।

उनलाई केन्द्रीय कारागारबाट जिल्ला अदालत लगिएको छ। लामिछानेलाई बलात्कारको अभियोगमा काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएकाे थियाे।

याे आदेश विरुद्ध सन्दीपको कानुन व्यवसायी २०७९ मङ्सिर २९ मा उच्च अदालत पाटनमा पुगेका थिए।

पुस २८ गतेकाे फैसलामा  २० लाख रुपैयाँ धरौटीमा ५ वटा सर्तसहित उनलाई थुनामुक्त गर्न अदालतले आदेश दिएकाे थियाे। आदेशमा ताेकेकाे सर्त उलङ्घन भए पुनः कारागार चलान हुने उल्लेख छ।

न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएका हुन्।

नेपाल छाड्न नपाउने, कुनै पनि प्रकारले पीडित र उनीसँग सम्बन्धित व्यक्तिसँग भेट्ने, डर त्रास गराउने लगायतका काम नगर्ने, सामाजिक सञ्जाल वा अन्य माध्यममा मुद्दाबारे धारणा नराख्ने, काठमाडौँ बाहिर जाँदा प्रहरीलाई जानकारी दिनुपर्ने अनि सन्दीपको मोबाइलको निगरानी प्रहरी प्रधान कार्यालयले राख्ने सर्तमा उनलाई धरौटीमा छाड्न फैसला गरिएकाे हो।

फैसलामा यी कुनै पनि सर्त उलङ्घन गरेमा उनलाई कारागार चलान गर्ने समेत उल्लेख छ। धरौटीमा छाड्ने कारणहरूमा सन्दीपको मानसिक स्वास्थ्य ठिक नभएको अनि उनलाई पुर्पक्षका लागि कारागारमा राख्नुपर्ने कारण खुलाउन नसकेको उल्लेख गरिएको छ।

२९ पुस, २०७९, १४:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।