विश्वकपमा अर्जेन्टिनाका लागि सबैभन्दा चुनौतीपूर्ण खेल कुन थियो ? मेस्सीले गरे खुलासा

विश्वकपमा अर्जेन्टिनाका लागि सबैभन्दा चुनौतीपूर्ण खेल कुन थियो ? मेस्सीले गरे खुलासा

एजेन्सी: विश्वकप फुटबलको उपाधि जितेको करिब डेढ महिनापछि अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले एक अर्जेन्टिनी एफएम 'अर्बना प्ले'सँगको अन्तर्वाताका क्रममा केही खुलासा गरेका छन्। उनले आफूहरूका लागि विश्वकपकै सबैभन्दा बढी चुनौतीपूर्ण खेलको बारेमा पनि बताए।

धेरैलाई लाग्न सक्छ ३६ वर्षको विश्वकप उपाधिको खडेरी तोड्नुपर्ने दबाब, मेस्सीको उपाधि यात्रा पूर्ण बनाउन विश्वकप जित्नुपर्ने दबाब लगायतका कारणले फ्रान्ससँगको खेल चुनौतीपूर्ण थियो भनेर। अथवा नेदरल्याण्ड्सविरुद्धको खेल। जहाँ मेस्सीको क्रुद्ध अवतारदेखि विश्वकप इतिहासकै सर्वाधिक पहेँलो कार्ड देखिएको थियो।

तर, मेस्सीले यसविपरीत भनेका छन्, 'मेक्सिकोविरुद्धको खेल सबैभन्दा चुनौतीपूर्ण थियो।'

यसका केही कारण छन्।

उपाधि दावेदार मानिएको अर्जेन्टिना जब पहिलो खेलमै सबैभन्दा कमजोर मानिएको साउदी अरेबियासँग हार्यो त्यसबेला मेस्सीले आफ्नो टीममा भरोसा राख्न समर्थकहरूलाई आग्रह गरेका थिए। उनले त्यसपछि आफूहरूले खेल्ने हरेक खेल अब फाइनल बराबर हुने पनि बताएका थिए। र, मेक्सिकोविरुद्धको खेलमा पराजित भएको भए अर्जेन्टिनाको सपना तत्कालै समाप्त पनि हुन्थ्यो। बराबरी गरेको खण्डमा पनि अन्य टोलीको नतिजामा भर पर्नुपर्थ्यो।

यसैबाट अनुमान लगाउन सकिन्छ मेस्सी मेक्सिकोविरुद्धको खेलमा कति दबाबमा थिए भनेर। त्यसमाथि त्यस खेलमा पहिलो हाफ गोलरहित बराबरी भएको थियो भने अर्जेन्टिनाले सोचेअनुरूप खेल्न सकिरहेको थिएन। तर जब मेस्सीले गोल गरे, त्यसले खेलको दिशा नै परिवर्तन भयो।

'मेक्सिकोविरुद्धको खेल विश्वकपमा सबैभन्दा चुनौतीपूर्ण थियो र यही खेल हामीले सबैभन्दा खराब खेलेका थियौँ। हामीले जित्नैपर्थ्यो। अरू विकल्प थिएन। तर म विश्वस्त थिएँ, हामीले जित्छौँ भन्नेमा। हामीसँग भएको समूह (खेलाडी र प्रशिक्षकको टोली) नभएको भए यो सम्भव हुँदैन थियो', मेस्सीले भने।

१७ माघ, २०७९, १२:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।