बुटवलको १२औं नगरसभा सम्पन्न, विभिन्न ऐन र नीतिहरु पारित

बुटवलको १२औं नगरसभा सम्पन्न, विभिन्न ऐन र नीतिहरु पारित

बुटवलः बुटवल उपमहानगरपालिकाको नगरसभाको १२औं अधिवेशन विभिन्न ऐन संसोधन तथा नीतिहरु पारित गर्दै सकिएको छ।

पुस २१ गते सुरु भएको नगरसभाको १२औं अधिवेशनले जलस्राेत नीति, कर्मचारी दरबन्दी सम्बन्धि संगठन तथा व्यवस्थापन संरचना, स्वास्थ्य ऐन संसोधनसहित पारित गरेको हो। 

अधिवेशनले बुटवलभित्र रात्रीकालीन बजार सञ्चालन, नदीजन्य पदार्थको अवैध उत्खनन् तथा चोरीनिकासीमा नियन्त्रण, नागरिक बडापत्रलाई तीन भाषामा प्रकाशन गर्ने प्रस्ताव पारित गरेको नगर सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए। 

यस्तै, नगरसभाले यसअघि गठन भएका समिति, उपसमिति, परिषद् र आयोगहरुको नयाँ गठन प्रक्रिया अगाडि बढाउने, बुटवल भित्रका पार्कहरुलाई नगर मातहत ल्याउन कानुन बनाउने, टोल विकास संस्थाहरुलाई व्यवस्थित गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ। 

यसअघि नगरसभाको बैठकमा सम्बोधन गर्दै नगरसभाका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई अगुवा शहरका रुपमा स्थापित गर्नका लागि सबै जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारी एकजुट भएर अगाडि बढ्ने बताए।

११ माघ, २०७९, १८:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।