बुटवल मालपाेतले बदर गर्‍याे ७ कठ्ठा जग्गाको दर्ता प्रमाणपत्र

बुटवल मालपाेतले बदर गर्‍याे ७ कठ्ठा जग्गाको दर्ता प्रमाणपत्र

बुटवल : अन्ततः मालपोत कार्यालय बुटवलले बुटवल-११ बुद्धनगरको साविक ९ ग को कित्ता नं. १९९ को ७ कठ्ठा जग्गाको दर्ता प्रमाणपत्र बदर गरेको छ।

कृष्णप्रसाद भुसाल लगायतले नक्कली लालपुर्जा तयार गरी कार्यालयकाे अभिलेखमासमेत इन्ट्री गरिसकेको लालपुर्जा मालपोत कार्यालयले बदर गरेको हो।

बुटवलको वडा नं ११ मा रहेको कित्ता नं १९९ को ७ कठ्ठा तथा कित्ता नं १८७ को ४ कठ्ठा ५ धुर गरी ११ कठ्ठा ५ धुर आकडा जग्गा ९ व्यक्तिका नाममा दर्ता भएको थियो। तर सम्बन्धित व्यक्तिले लालपुर्जा भने पाएका थिएनन्।

भूमाफियाहरूले लालपुर्जा तयार गरी बेचबिखन गरिरहेकोबारे समाचार प्रकाशन भएपछि मालपोत कार्यालयले कित्ता नं. १९९ को ७ कठ्ठा जग्गाको दर्ता प्रमाणपत्र बदर गरेको हो।

मालपोत कार्यालय बुटवलका प्रमुख मालपोत अधिकृत उपेन्द्रराज पौडेलले बुटवल उपमहानगरपालिकाको वडा नं ११ को कार्यालयलाई पत्र लेख्दै, संकास्पद तरिकाले तयार गरिएका श्रेष्ता तथा कार्यालय र कर्मचारीहरूलाई झुक्याएर पारित गरेको लिखत खारेज गरी दर्ता बाँकी कित्ताकै रूपमा कायम गरिएको उल्लेख गरेको बताएका छन्।

कार्यालयको यो पत्रसँगै तत्कालिन सुकुम्वासी समस्या समाधान आयोगबाट लालपुर्जा बनाइ तीर्थमाया थापा हुँदै कृष्णप्रसाद भुसाल जैसीले नक्कली लालपुर्जा तयार गरी सेमलारकी लक्ष्मी न्यौपानेलाई बेचबिखन गरेको दर्ता समेत खारेजीमा परेको छ।

११ माघ, २०७९, १३:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।