टी-२० लिगमा फिक्सिङ : फिक्सरले भने अनुसार बल फ्याकेको मूल्य ६ लाख
![टी-२० लिगमा फिक्सिङ : फिक्सरले भने अनुसार बल फ्याकेको मूल्य ६ लाख](https://www.ukeraa.com/images/news/16745602501674560250.jpg )
काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा नेपाल टी-२० लिगमा एक स्पट फिक्सिङ कार्यान्वयन गरे बापत ६ लाखमा डिल भएको प्रमाण फेला पारेको छ।
लिगका खेलहरुमाथि शङ्का बढेपछि ब्युरोले गरेको अनुसन्धानमा स्पट फिक्सिङबारे अडियो प्रमाण फेला परेको हो। क्रिकेटर मेहबुब आलमले लिगका खेलाडीहरूलाई प्रलोभनमा पारेर एक पटकको ६ लाख आउने प्रस्ताव गरेको अडियो नै सिआइबीले फेला पारेको छ।
अनुसन्धान स्रोतका अनुसार आलमले लिगको २ टिमका २ खेलाडीलाई स्पट फिक्सिङको प्रस्ताव गर्दै आफूहरूले भने अनुसार गरे ६ खेलको ३६ लाखसम्म आउने प्रस्ताव राखेका थिए।
दुई खेलाडीमध्ये एक हुन् मोहम्मद आदिल आलम। आदिल नेपाल टी–२० लिगको फ्रेन्चाइज टिम जनकपुर रोयल्समा आबद्ध थिए। ब्युरोको अनुसन्धानमा उनले आलमले भने अनुसार २ बलमा स्पट फिक्सिङ गरेको देखिएको छ।
उनले पुस १२ गते काठमाडौं नाइट्स र १४ गते फार वेस्ट युनाइटेडविरुद्धको खेलमा आलमले भने अनुसारको बलिङ गरेका थिए। सो अनुसार न्यूनतम पनि उनले १२ लाख पाएको प्रहरीको निष्कर्ष छ। तर अहिले प्रहरीले नगद कारोबार भएको प्रमाण भने फेला पारेको छैन।
प्रहरीले मेहबुबले स्पट फिक्सिङका लागि प्रस्ताव राखेको दोस्रो खेलाडी र टिम भने खुलाएको छैन। तर यस अगाडि नै काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक खेलाडीलाई ‘फिक्सिङ’का लागि प्रस्ताव आएको सार्वजनिक गरिसकेका छन्।
उनले पत्रकारहरूमाझ आफ्नो टिमको एक खेलाडीलाई फिक्सरबाट स्पट फिक्सिङको प्रस्ताव आएको र त्यसबारे सम्बन्धित निकायमा जानकारी गराएको बताएका थिए।
ब्युरोले मङ्गलवार टी-२० लिगमा बेटिङ र स्पट फिक्सिङको अनुसन्धानको प्रारम्भिक अनुसन्धान विवरण सार्वजनिक गर्दै २ जना क्रिकेटर पक्राउ गरेको र यसमा अन्य ८ जना खुलेको जानकारी दिएको थियो। खुलेकामध्ये २ जना नेपाली र अन्य ६ जना विदेशी छन्।
यो पनि
माघ १०, २०७९ मंगलबार १७:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।