फिक्सिङमा नेपाल टी-२० लिगको साझेदार भारतीय कम्पनीको प्रमुखकै भूमिका शंकामा, चार नेपालीसहित १० जना आरोपी

फिक्सिङमा नेपाल टी-२० लिगको साझेदार भारतीय कम्पनीको प्रमुखकै भूमिका शंकामा, चार नेपालीसहित १० जना आरोपी

काठमाडौं : नेपालमा टी-२० लिगको भारतीय साझेदारकै संलग्नतामा स्पट फिक्सिङ र लाइभ बेटिङ भएको प्रहरी अनुसन्धानमा खुलेको छ। नेपाल क्रिकेट सङ्घले भारतको सेभेन थ्री स्पोर्ट्ससँग मिलेर नेपाल टी-२० लिगको आयोजना गरेको थियो।

बेटिङ र स्पट फिक्सिङमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगका प्रमुख जतिन अहुवालियाको भूमिका  शङ्कास्पद देखिएको ब्युरोले जानकारी दिएको छ। प्रहरीले लिगमा भएको लगानीको आर्थिकस्रोत समेत अनुसन्धानको दायरामा ल्याएको छ।

लिगको आयोजनाको आर्थिक स्रोत के हो भन्ने पक्षमा ब्युरोले अनुसन्धान गरिरहेको ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार फिक्सिङमा नेपाली र विदेशी गरेर १० जनाको संलग्नता खुलेको छ। ब्युरोले मङ्गलवार पत्रकार सम्मेलन गरेर ४ जना नेपाली र ६ जना विदेशी नागरिक संलग्न रहेको सार्वजनिक गर्यो। यसमा एक जना १ जना नेपाली खेलाडी समेत छन्।

ब्युरोका अनुसार क्रिकेट राष्ट्रिय टोलीका सदस्य मोहम्मद आदिल आलमले फिक्सरको प्रलोभनमा परेर सोही अनुसार बलिङ गरेको खुलेको छ। उनी जनकपुर रोयल्समा आबद्ध थिए। २० वर्षका आदिलले स्पट फिक्सिङ गर्दै कम्तीमा २ खेलमा एक वाइड र एक नो बल फालेको प्रहरीको दाबी छ।

पूर्वराष्ट्रिय खेलाडी महबुब आलमसमेत फिक्सिङमा संलग्न भएको प्रहरीको दाबी छ। सिआइबीका अनुसार उनले २ जना नेपाली खेलाडीलाई फिक्सिङका प्रस्ताव गरेका थिए।

प्रहरीले आलम र पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम ‘लाइभ बेटिङ’ र ‘स्पट फिक्सिङ’ गरेको आरोपमा सोमबार पक्राउ गरेको थियो । सीआईबीले महबुबलाई विराटनगर र आदिललाई राजविराजबाट पक्राउ गरेको हो ।

टिम म्यानेजरको निर्देशनमा एक विदेशी खेलाडीले एक सेसनमा निर्धारित रन मात्र बनाइ स्पट फिक्सिङ गरेको सीआईबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

सिआइबीले केही फ्रेन्चाइज टिमहरूको आर्थिक स्रोत र खेलाडीहरूलाई दिने पारिश्रमिकको स्रोतसमेत नखुलेको जनाएको छ। विभिन्न व्यवस्थापकको भूमिकामा रहेका केही व्यक्ति, खेलाडीसँग सम्पर्कमा भएका व्यक्ति र खेलमा सहभागी खेलाडीहरूसमेत स्टप फिक्सिङमा संलग्न भएको तथ्य र आधार फेला परेको सीआईबीको दाबी छ।

मुख्य प्रायोजकका रूपमा रहेको १एक्स बेट खेलकुद प्रतियोगिताको बेटिङमा संलग्न कम्पनी हो। उसले खेलकुदसँग सम्बन्धित समाचारका लागि पूर्वानुमान गर्नका लागि भरपर्दो स्रोत भन्ने दाबी गरेको भन्दै उसको भूमिकालाई समेत शंकामा राखेको छ।

प्रहरीले पक्राउ परेकाहरूको नाम सार्वजनिक गरे पनि फरारहरूको नाम भने प्रहरीले खुलाएको छैन। ब्युरोका एसएसपी दिनेश आचार्यले लेनदेनको रकम नखुलेको बताए।

'स्पट फिक्सिङमा नो बलमा पैसा दिन्छौँ मात्र भनेको खुलेको अहिलेसम्म कति रकम दिएको हो भन्ने अनुसनध्नकैक्रममा रहेको छ,' एसएसपी आचार्यले भने।

अनुसन्धानमा क्यानका पदाधिकारीहरूको भूमिका अहिलेसम्म संलग्नता नदेखिएको तर उनीहरू संलग्न छन् या छैनन् भन्ने पूर्ण अनुसन्धान गरेपछि मात्र भन्न सकिने उनले बताए। उनले स्पट फिक्सिङ र बेटिङबारे अनुसन्धानमा प्रमाणहरू फेला परिसकेको उनले बताए। विदेशी नागरिकको हकमा कानुन अनुसार कारबाहीको प्रक्रियामा ल्याउने एसएसपी आचार्यले बताए।

सबै खेलको ओभर र बलहरूको अध्ययन गरिएको। अहिलेसम्म चार वटा खेलमा स्पट फिक्सिङ भएको हुनसक्ने देखिएको उनले बताए। 

१० माघ, २०७९, १५:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।