प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले जवाफ दिने कार्यसूची
काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ।
बिहीबार बिहान ११ बजे बस्ने बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि भएको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।
आजको बैठकमा प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपतिले जेठ २८ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको जवाफ दिने कार्यसूची तय भएको छ।
बुधबारको प्रतिनिधिसभा बैठककको कार्यसूचीमा प्रधानमन्त्री वालेन्द्र शाहले छलफलका लागि प्रस्ताव पेश गर्ने कार्यसूची भए पनि सभामुखले अचानक अर्थमन्त्रीलाई बोलाएपछि विपक्षी दलहरूले संसदको बैठक अवरोध गर्दै प्रधानमन्त्रीको राजीनामा मागेका थिए।
तर आज भने कार्यसूचीमै प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले जवाफ दिने कार्यसूची छ।
जवाफ दिने कार्यक्रम सकिएपछि नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसलगत्तै सभामुखले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
आजकै बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता’ (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसलाई बजेट पूर्वको छलफलको महत्त्वपूर्ण प्रक्रिया मानिन्छ।
यस्तै, बैठकको अन्तिम कार्यसूचीमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
महासचिव पद्मप्रसाद पाण्डेका अनुसार आजको बैठकमा नीति तथा कार्यक्रमलाई पारित गर्ने र बजेट निर्माणको प्रारम्भिक चरणका रूपमा रहेका प्राथमिकताहरूमाथि छलफल सुरु हुनेछ।
वैशाख ३१, २०८३ बिहीबार १०:४३:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।