प्रधानमन्त्रीले संसद् ‘बंक’ गरेको भन्दै कांग्रेसको आपत्ति, उपस्थित नभए अवरुद्ध गर्ने चेतावनी

प्रधानमन्त्रीले संसद् ‘बंक’ गरेको भन्दै कांग्रेसको आपत्ति, उपस्थित नभए अवरुद्ध गर्ने चेतावनी

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह संसद्‌मा अनुपस्थित भएको भन्दै कडा आलोचना गरेको छ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद निश्कल राईले प्रधानमन्त्रीले संसद्‌लाई बेवास्ता गरेर लोकतान्त्रिक मूल्यमान्यताको उपहास गरेको आरोप लगाए।

शून्य समयमा बोल्दै सांसद राईले संसद्‌लाई ‘गुरुकुल’ र ‘विश्वविद्यालय’सँग तुलना गर्दै प्रधानमन्त्रीले यसको गरिमा नबुझेको टिप्पणी गरे।

‘सदन चिया चौतारी होइन, जहाँ मन लागे बस्ने र मन लागे जाने गरिन्छ,’ उनले भने, ‘सत्तापक्षले नै संसद्‌लाई विश्वविद्यालय भन्दै आएको छ, तर आज प्रधानमन्त्रीले नै यो विश्वविद्यालय ‘बंक’ गर्न थाल्नुभएको छ।’

सांसद राईले सरकारको नीति तथा कार्यक्रमजस्तो देशको महत्वपूर्ण ‘रोडम्याप’ माथि छलफल भइरहँदा प्रधानमन्त्री सदनमा उपस्थित नहुनु र प्रश्नहरूबाट भाग्नु लोकतन्त्रका लागि शुभसंकेत नभएको बताए।

कांग्रेसको सचेतकसमेत रहेका राईले सभामुख डोलप्रसाद अर्याललाई संसद्को अभिभावकका रूपमा भूमिका खेल्न आग्रह गरे।

‘तपाईं संसद्को संरक्षक हो, प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन तपाईं गम्भीर बन्नुपर्छ’, उनले भने।

सांसद राईले प्रधानमन्त्री संसद्‌मा उपस्थित नभएसम्म विपक्षीको विरोध जारी रहने स्पष्ट पारे। प्रधानमन्त्रीको अनुपस्थितिलाई संसदीय व्यवस्थाप्रतिको ‘उदासीनता’ भन्दै उनले सत्तापक्षका सदस्यहरूले यसलाई सामान्य बनाउन खोज्नु झन् दुःखद भएको उल्लेख गरे।

नीति तथा कार्यक्रममाथिको छलफल र जवाफ दिने क्रममा कार्यकारी प्रमुखको अभावले संसदीय जवाफदेहितामाथि प्रश्न उठेको कांग्रेसको ठहर छ।

वैशाख ३१, २०८३ बिहीबार ११:५६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।