नेपाल स्टार्टअप इनोभेसन ह्याकाथन २०२६’ सम्पन्न, ‘टिम नोभा’ विजयी
काठमाडौं : देशका प्रतिभाशाली युवाहरूलाई नवप्रवर्तनमा प्रोत्साहन गर्ने उद्देश्यले आयोजित ‘नेपाल स्टार्टअप इनोभेसन ह्याकाथन २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ।
ग्लोजकल प्रा. लि. द्वारा आयोजित तीन दिने यस घनिभूत कार्यक्रममा युवाहरूले राष्ट्रिय चुनौतीहरूको स्थानीय समाधानका लागि विभिन्न प्रविधि र नमूनाहरू (प्रोटोटाइप) प्रस्तुत गरेका थिए।
देशभरका २१८ आवेदनहरूमध्येबाट छानिएका १७ उत्कृष्ट टोलीहरूबीच भएको प्रतिस्पर्धामा ‘टिम नोभा’ प्रथम भएको छ।
उनीहरूले अनलाइन शिक्षामा हुने न्यून संलग्नता र प्रमाणपत्रको विश्वसनीयता सम्बन्धी समस्या समाधान गर्न ‘Leapnode’ नामक प्लेटफर्म विकास गरेका छन्।
विजेता टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कारका साथै उद्योगीहरूसँग सहकार्यको अवसर प्राप्त गरेको छ। विजयी टोलीमा प्रशान्त दाश, राहुल सिंह, समीन थापा, शैल मल्ल र राम कृष्ण भण्डारी रहेका छन्।
सहभागीहरूले लगातार ७२ घण्टासम्म विज्ञहरूको मेन्टरसिपमा रहेर आफ्ना सोचहरूलाई मूर्त रूप दिएका थिए।
कार्यक्रममा काठमाडौं उपत्यकासहित धनगढी, बुटवल, वीरगन्ज र विराटनगर जस्ता सहरका विद्यार्थीहरूको सहभागिता थियो। जसमा ५७ प्रतिशत कलेज र ४३ प्रतिशत विद्यालय तहका विद्यार्थी थिए।
ह्याकाथन विशेष गरी कृषि, स्वास्थ्य, जलवायु परिवर्तन, डिजिटल समावेशीकरण र पर्यटन लगायतका ७ वटा मुख्य स्तम्भमा केन्द्रित थियो।
यस कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहकार्य तथा एसियाली विकास बैंक र एम्बार्क कलेजको साझेदारी रहेको थियो।
आयोजकका अनुसार यो ह्याकाथन युवा उद्यमीहरूलाई प्रविधिमार्फत देशको विकासमा जोड्ने एउटा महत्वपूर्ण मञ्च सावित भएको छ।
वैशाख ३१, २०८३ बिहीबार १०:१४:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।