क्यानका अध्यक्षदेखि टी-२० लिगका ६ टिमकै मालिक अनुसन्धानमा, लगानीको स्रोत खोज्दै सिआइबी

क्यानका अध्यक्षदेखि टी-२० लिगका ६ टिमकै मालिक अनुसन्धानमा, लगानीको स्रोत खोज्दै सिआइबी
टि-२० लिगका टिम मालिकहरुसहित क्यान अध्यक्ष चतुरबहादुर चन्द। तस्बिर : सेतोपाटीडटकम

काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल टी-२० लिगको आयोजक र सहभागी सबै टिमको आर्थिक स्रोतबारे अनुसन्धान गर्ने भएको छ। नेपालमा सम्पन्न भएको लिगमा स्पट फिक्सिङ र बेट भएको सार्वजनिक गर्दै मङ्गलवार ब्युरोले यसमा संलग्न सबै टिम र आयोजकको आर्थिक स्रोतबारे अनुसन्धान हुने जानकारी दिएको हो।

अनुसन्धानको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार क्रिकेट एसोसिएसन अफ नेपालसँग सहकार्य गरेको भारतीय कम्पनी सेभेन थ्री स्पोट्सका कार्यकारी निर्देशक जतिन अह्लुवालिया लगायत प्रतियोगितामा सहभागी सबै टिमको प्रमुख र लिगमा लगानी भएको रकमको स्रोतबारे अनुसन्धान हुनेछ।

'हाम्रो अनुसन्धानमा लिगमा बेटिङ र स्पट फिक्सिङ भएको प्रमाणसँगै १० जनाको संलग्नता देखाइसकेको छ। अन्तर्राष्ट्रिय रूपमै जुवा खेलाइएको देखिएको छ,' एसएसपी आचार्यले भने' लिगमा आयोजकदेखि टिमहरूले समेत ठुलै लगानी गरेको देखिएकाले त्यसको स्रोत के हो भन्ने छानबिन हुन्छ।'

मङ्गलवार ब्युरोले पत्रकार सम्मेलन गरेर फिक्सिङमा नेपाली र विदेशी गरेर १० जनाको संलग्नता खुलेको र त्यसमा ४ जना नेपाली र ६ जना विदेशी नागरिक संलग्न रहेको सार्वजनिक गरिसकेको छ।

त्यसमा क्रिकेट राष्ट्रिय टोलीका सदस्य मोहम्मद आदिल आलमले फिक्सरको प्रलोभनमा परेर सोही अनुसार बलिङ गरेको बताएको छ। उनी जनकपुर रोयल्समा आबद्ध थिए। २० वर्षका आदिलले स्पट फिक्सिङ गर्दै कम्तीमा २ खेलमा एक वाइड र एक नो बल फालेको प्रहरीको दाबी छ।

अर्का पूर्वराष्ट्रिय खेलाडी महबुब आलमले स्पट फिक्सिङका लागि खेलाडीलाई प्रस्ताव गरेको ब्युरोले जानकारी दिएको छ। काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक खेलाडीलाई ‘फिक्सिङ’का लागि प्रस्ताव आएको सार्वजनिक गरेका थिए।

ब्युरोले अहिले २ जनालाई मात्र पक्राउ गरेको छ। अन्यको खोजी भइरहेको एसएसपी आचार्यले बताएका थिए।

को-को परे छानबिनको दायरामा

लिगमा सहभागी ६ टिममध्ये तीन नेपाली र तीन भारतीय मालिक छन्। एसएसपी आचार्यका अनुसार मुख्य आयोजकसँगै लिगमा सहभागी ६ वटा टिमकै मालिकहरूको लगानीको स्रोतबारे छानबिन भइरहेको छ।

हरेक टिमले कोच लगायतभन्दै विदेशी खेलाडीहरूलाई अनुबन्ध गरेको र खेलाडीहरूलाई समेत आकर्षक रकम दिने सम्झौता गरिएको देखिएकाले सबै टिमको आर्थिक स्रोतबारे अनुसन्धान हुने एसएसपी आचार्यले बताए।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार लिगमा सहभागी लुम्बिनी टिमको मालिक सञ्जय शर्मा हुन्। उनी अमेरिकी निवासी हुन्।

विराटनगर टिमको लगानीकर्ता भारतका राकेश गुप्ता हुन् भने र जनकपुर टिमका मालिक भारतीय नागरिक गोविन्द खण्डेवाला हुन्। मल्लका अनुसार पोखरा एभेन्जर्सका लगानीकर्ता पोस्टराज ज्ञवाली हुन्। फार वेस्टका रुपिन्दर बग्गा हुन्। उनी बेलायती नागरिक हुन्।

पहिला घोषणा गरिएको चार टिममा कान्तिपुर क्यापिटल्स पनि थियो। तर पछि यो टिम लिगमा सहभागी भएन। कान्तिपुर बाहिरिएपछि काठमाडौं नाइट्सको नाममा ‘नेपाल स्पोट्स भेन्चर सहभागी भएको थियो। यसका मालिक नवीन कँडेल हुन्।

यस्तो थियो पुरस्कार रकम

लिगले विजेताहरूको पुरस्कार रकम घोषणा गरेको थियो। पहिलो हुनेलाई ५५ लाख रुपैयाँ, उपविजेतालाई ३० लाख रुपैयाँ, तेस्रोलाई १० लाख र चौथोलाई ५ लाख रुपैयाँ दिने क्यानले जानकारी दिएको थियो।

प्लेयर अफ दि सिरिजलाई ५ लाख, उत्कृष्ट बलर र ब्याटरलाई २ लाख ५० हजार रुपैयाँ, प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई ४० हजार र इमर्जिङ प्लेयरलाई १ लाख ८० हजार रुपैयाँ दिने क्यानका अध्यक्ष चतुर बहादुर चन्दले नै सार्वजनिक गरेका थिए।

भारतीय कम्पनी नेपालमा समेत दर्ता

लिगको मुख्य आयोजक भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स अनि अन्य टिमका विदेशी लगानीकर्ताहरूले नेपालमा समेत कम्पनी दर्ता गरेका थिए। कम्पनी रजिस्टारको कार्यालयका अनुसार सेभेन थ्री स्पोर्ट्सको दर्ता नम्बर ३०४१०१ हो। कम्पनीमा जतिन अह्लुवालियासहित सपना अह्लुवालिया र सन्दीप सिंह वागा सञ्चालक हुन्। 

विराटनगर सुपरकिंग्सका डायमन्ड डिजिक्याप स्पोर्ट्स प्रालिको रूपमा दर्ता भएको थियो। यसको दर्ता नम्बर ३०४१०५ हो। यो कम्पनीमा विराटनगरका राकेश कुमार गुप्ता, ममता खण्डेवाल, दीपक खण्डेवाल, शिखा धमानी, पूजा यादव र चन्दर शेखर शर्मा संलग्न छन्।

जनकपुर रोयल्सको मालिकले गोल्ड स्पोर्टस प्रालि दर्ता गरेका थिए। यसको दर्ता नम्बर ३०४१०३ हो। यसको सञ्चालकमा गोविन्द खण्डेवाल र सुनिल सोनीको नाम छ।

क्यानका पदाधिकारीमाथि पनि छानबिनमा

प्रारम्भदेखि नै लिग विवादमा आइरहने पनि क्यानका अध्यक्ष चतुर बहादुर चन्द जसरी पनि भारतीय साझेदार ल्याएर लिग गर्ने पक्षमा थिए। लिगबारे कानुनीसँगै यसको पारदर्शिता र लगानीबारे बारम्बार प्रश्न उठे पनि चन्दले एकतर्फी रूपमा लिग गराउन समर्थन गरेका थिए।

उनी लिगका लागी क्यानमा बहुमत जुटाउनदेखि लिएर जतिन अह्लुवालियासँग समेत निकट थिए। खेलाडीहरूले स्पट फिक्सिङका लागि अफर आएको सार्वजनिक गर्दा समेत क्यान पदाधिकारी लिगबारे गम्भीर देखिएका थिएनन्। उनीहरूले उल्टो ढाकछोप गर्ने प्रयास गरेका थिए।

जब प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सुरु गर्यो त्यसपछि मात्र उनीहरू नरम भएका थिए। अहिले उनीहरू अनुसन्धानमा आफूहरूको समेत सहयोग रहेको दाबी गर्न थालेका छन्।

'क्यानका केही पदाधिकारीहरूको भूमिका शङ्कास्पद देखिन्छ। तर अनुसन्धानको दायरामा ल्याउने गरी प्रमाण फेला परिसकेको छैन। तर उनीहरूको अनुसन्धानबारे समेत छानबिन भइरहेको छ,' अनुसन्धानमा संलग्न स्रोतले भन्यो' लिग असल नियतले आयोजना भएको थिएन भन्नेमा कुनै शङ्का रहेन। तर कसको के भूमिका हो त्यसका लागि प्रमाण त चाहिन्छ नै। प्रमाणको खोजीमा छौँ।'

१० माघ, २०७९, १६:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।